१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग : अञ्जन विष्टको ह्याट्रिक

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५o:oo

स्ट्राइकर अञ्जन विष्ट सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । चर्च ब्वाइज क्लबका खेलाडी अञ्जनले शनिबार च्यासल मैदानमा न्युरोड टिम (एनआरटी)विरुद्ध ह्याट्रिक गरेका हुन् । चालू लिगमा आबद्ध नेपाली खेलाडीमध्ये ह्याट्रिक गर्ने उनी एक्ला हुन् । यसअघि लिगमा दुई ह्याट्रिक भएका थिए । दुईवटै ह्याट्रिक विदेशी खेलाडीले गरेका थिए । यसअघि मच्छिन्द्र फुटबल क्लबका नाइजेरियन आफिज ओलावाले र खुमलटार युथका क्यामरुनी खेलाडी स्टेफन समिर बिनोङले ह्याट्रिक गरेका थिए । 

अञ्जनको ह्याट्रिकको सहयोगमै चर्च ब्वाइजले एनआरटीलाई ४–१ ले पराजित गर्‍यो । मैदानमा पूरा समय बिताएका अञ्जनले खेलको ८५औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यसअघि उनले खेलको ५२औँ र ६१औँ मिनेटमा गोल गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा अट्याकर अञ्जन चोटमुक्त हुँदै एनआरटीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । एक महिना मैदानबाहिर रहेका अञ्जनले दोस्रो खेलमै ह्याट्रिक लगाउन सफल भए । अघिल्लो खेलमा फ्रेन्ड्सविरुद्ध जित निकाल्दा अञ्जनले एक गोल गरेका थिए ।

चार खेलमा चार गोल
लिगमा अञ्जनले चार खेल खेल्दै चार गोल गरेका छन् । अञ्जनले संकटा, पूर्वक्लब मनाङ मस्र्याङ्दी, फ्रेन्ड्स र एनआरटीविरुद्ध मात्र खेलेका छन् । एनआरटीविरुद्ध तीन गोल गर्दा फ्रेन्ड्सविरुद्ध एक गोल गरे । मनाङ र संकटाविरुद्ध गोलविहीन भए । चोटमुक्त हुँदै मैदान फर्केलगत्तै ह्याट्रिक लगाउँदा अञ्जन खुसी देखिएका छन् । अञ्जनले आफू पूर्ण रूपमा तयार भएको जनाउँदै चर्च ब्वाइजलाई डेब्युमै लिग उपाधि जिताउन भूमिका खेल्ने बताए । ‘एक महिनाको रिकभरीपछि मैदान फर्किएको छु, अहिले अवस्था सामान्य छ,’ यसै सिजन चर्च ब्वाइजमा अनुबन्ध भएका अञ्जनले भने । 

‘बी’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पहिलोपटक शीर्ष डिभिजन लिग खेलिरहेको छ । ‘यस जितसँगै टोली शीर्ष स्थानमा उक्लिएको छ । अबको लक्ष्य उपाधि नै हो,’ अञ्जनले नयाँ पत्रिकासँग भने । अन्तर्राष्ट्रिय खेलमा अञ्जन कीर्तिमाननजिक छन् । अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्ने योजनामा छन् । अञ्जनले राष्ट्रका लागि ११ गोल गरेका छन् । 

चर्च ब्वाइज शीर्ष स्थानमा 
बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको चर्च ब्वाइज १५औँ चरणमा शीर्ष स्थानमा फर्किएको छ । जितसँगै चर्चले दोस्रो स्थानको जावलाखेलसँग प्रस्ट तीन अंकको अग्रता बनाएको छ । चर्च ब्वाइज दोस्रोपटक शीर्ष स्थानमा उक्लिएको हो । यसअघि चर्च ब्वाइज दोस्रो, तेस्रो र चौथो चरणमा शीर्ष स्थानमा रहेको थियो । सातौँ जित निकालेको चर्च ब्वाइजको २७ अंक छ । समान खेलबाट २४ अंक जोडेका जावलाखेल र थ्री स्टार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । च्यासल मैदानमा चर्च ब्वाइजलाई जिताउन अञ्जनबाहेक सुशील शाहले एक गोल गरेका थिए । 

एनआरटीका दिपेश आलेमगरले एक गोल फर्काएका थिए । कमल श्रेष्ठको पासमा ४०औँ मिनेटमा सुशीलले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । कमलको कर्नरमा अञ्जनले ५२औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरे । सुशीलको थ्र्रो पासमा अञ्जनले चर्च ब्वाइजको अग्रता ३–० को बनाएका हुन् । अञ्जनले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

एनआरटीका रक्षक अजय चौधरीले भारतीय खेलाडी गगनदीप सिंहको प्रहार हातले रोकेपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । इन्जुरी समयमा दिपेशले एक गोल फर्काएका थिए । मनाङ र सातदोबाटो तथा फ्रेन्ड्स र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

ad
ad