
अर्ना जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाली सेनाको श्री मेयर गण बागलुङ र वीर गोर्खाली युवा क्लब पुगेका छन् । बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा गणले कालीपुल युनाइटेड क्लब बेनीलाई १–० ले हराएको थियो । चिल्ड्रेन लाइफमाथि वीर गोर्खालीले ३–२ को कठिन जित निकालेको हो । गणको जितमा विषम राईले एक गोल गरेका थिए ।
दोस्रो सेमिफाइनल खेलको २४औँ मिनेटमा विवश छन्त्यालले चिल्ड्रेन लाइफलाई १–० को अग्रता दिलाए । खेलको ४२औँ मिनेटमा नाइजेरियन खेलाडी जोन ग्लोरीले चिल्ड्रेन लाइफलाई २–० को स्थितिमा राखे । पहिलो हाफमा वीर गोर्खालीले बराबरी गोल फर्काउन प्रयास गरेको थियो । तर, वीर गोर्खालीका खेलाडीले पहिलो हाफमा राम्रो फिनिसिङ गर्न सकेनन् ।
मध्यान्तरपछि वीर गोर्खालीका खेलाडीबीच राम्रो तालमेल भयो । खेलको ७२औँ मिनेटमा छन्त्यालले २–१ को स्थितिमा ल्याए । खेलको ७४औँ मिनेटमा सुदिन थापाले खेललाई २–२ को बराबरीमा पुर्याए । सेमिफाइनल खेल बराबरीमा पुगेपछि रोमाञ्चक बन्यो । खेलको ७६औँ मिनेटमा मिलन छन्त्यालले नै एक गोल गरेपछि वीर गोर्खालीले फाइनल स्थान पक्का गर्यो ।
वीर गोर्खालीले तीन अफ्रिकी र चिल्ड्रेन लाइफले दुई विदेशी खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गराएका थिए । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक सौरभ खत्रीले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षकलगायत पाँच अलग–अलग विधामा उत्कृष्ट हुने पुरस्कृत हुनेछन् । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।