मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख २२ शुक्रबार ०६:५१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठेकेदारको लापरबाहीले दुनै–ल्यासिक्याप सडक अलपत्र

Read Time : < 1 मिनेट
२०८० बैशाख २२ शुक्रबार ०६:५१:००

ठेकेदारको लापरबाहीले उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने दुनै–ल्यासिक्याप सडक अलपत्र परेको छ । भेरी करिडोरअन्तर्गत पर्ने सो सडक निर्माणको ठेक्का पाएको सूर्य श्रेया शान्तिदेवी जेभी काठमाडौंले लापरबाही गर्दा सडक अलपत्र परेको हो । १७ चैत ०७८ मा १३ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सूर्य श्रेयाले १६ पुस ०८२ भित्र २५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । प्रत्येक वर्ष सात किलोमिटर सडक खन्नुपर्नेमा अहिलेसम्म दुई किलोमिटर सडक पनि खनिएको छैन ।

सो सडक नबन्दा दुनैसम्म सडक सञ्जाल जोडिए पनि त्यसभन्दा माथिको यात्रा ठप्प भएको काइके गाउँपालिकाका अध्यक्ष अंगद रानाले बताए । उनका अनुसार २९ मंसिर ०७९ देखि बाटो पूर्ण रूपमा बन्द छ । काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो भएकाले निर्माण कार्य अलपत्र पर्दा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको उनले बताए । सडक निर्माण अलपत्र पर्दा स्थानीयले सास्ती पाएको भन्दै पालिका अध्यक्ष रानाले ठेकेदार कम्पनीलाई पटकपटक पत्र लेखेर निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् । तर, ठेकेदार कम्पनीले अटेरी गर्दै आएको छ । ठेकेदारले अटेरी गरेपछि पालिकाले आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गर्दै आएको छ । तै पनि सडक निर्माण अघि बढेको छैन । 

‘ठेकेदार कम्पनीले सडक निर्माणका लागि भन्दै तीनवटा डोजर खडा गरेको छ । एक वर्ष भयो, चलाएको छैन, केही काम भएको छैन,’ काइके गाउँपालिकाका अध्यक्ष अंगद रानाले नयाँ पत्रिकासँग भने, ‘पालिकाको तर्फबाट पटकपटक पत्राचार भएको छ । कतैबाट सुनुवाई भएको छैन ।’ सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले पनि सडक निर्माणको काम अलपत्र रहेको बताए । उनका अनुसार एक वर्षमा सात किलोमिटर सडक खन्नुपर्नेमा दुई किलोमिटर मात्र खनिएको छ ।