१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अर्थसचिव अर्जुन पोखरेल
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजेटको मुखमै अर्थसचिव सरुवा

बजेट पेस गर्न २५ दिन बाँकी रहँदा रायको सरुवा, पोखरेल अर्थमा ल्याइए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o३:oo

संसद्मा बजेट पेस गर्न २५ दिन मात्रै बाँकी रहँदा बुधबार सरकारले अर्थसचिवसहित ६ जना सचिव सरुवा गरेको छ । गत २१ पुसमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तोयम रायलाई अर्थसचिवमा ल्याएका थिए । तर, चार महिनामै उनलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्ले रायलाई उपराष्ट्रपति कार्यालय सरुवा गरी प्रधानमन्त्री कार्यालयबाट अर्जुन पोखरेललाई अर्थमा ल्याइएको हो । 

 बजेटको चटारोमा किन फेरियो सचिव ?
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय स्रोत अनुमान समितिमा अर्थ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । बजेटका लागि स्रोत र खर्चको सीमा (सिलिङ) निर्धारण गर्ने यो निकायमाथि अर्थ मन्त्रालयबाटै सिलिङ बढाउनुपर्ने दबाब आइरहेको आयोगका सदस्य रामकुमार फुँयालले बताए । उनले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीको तहबाट मौखिक रूपमै बजेटको सिलिङ बढाउनुपर्ने दबाब छ । तर, अहिलेसम्म निर्णय भइसकेको छैन ।’

अर्थसचिवले अर्थ मन्त्रालयको तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने भएकाले आफूअनुकूल निर्णय गराउन पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले रायको सरुवा गरेको मन्त्रालयका एक अधिकारीले बताए । उनले भने, ‘सिलिङ बढाउन अर्थ मन्त्रालयबाटै दबाब भइरहेको छ । यो समितिले स्रोत अनुमान र खर्चको सीमा (बजेटको सिलिङ) निर्धारणसम्बन्धी प्रतिवेदन तयार पारी अर्थ मन्त्रालयलाई पठाउँछ । समितिमै आफूअनुकूलको सचिव हुँदा यसले सिलिङ संशोधनमा सघाउ पुग्ने भएकाले उनको सरुवा भएको हो ।’

पूर्वसचिव मुकुन्द पौडेलले बजेट निर्माण गर्ने टिमको सुपरभाइजरका रूपमा नेतृत्व गर्ने जिम्मेवारीमा रहेका सचिवलाई बजेट लेखनको अन्तिम घडीमा सरुवा गर्नु शंकास्पद भएको बताए । बजेट लेखनको काम आधाभन्दा बढी रूपमा अघि बढिसकेको अवस्थामा अर्थसचिवको सरुवाले बजेटमा विचलन ल्याउने जोखिम रहेको उनको भनाइ छ । ‘राजनीतिक नेतृत्वले क्षणिक स्वार्थपूर्तिका लागि यस्तो सरुवा गर्छन् । बजेटमा अनेक चलखेल गर्नुपर्ने भएकाले आफ्नोअनुकूलका व्यक्तिलाई सरुवा गरी ल्याउन चाहन्छन्,’ उनले भने, ‘बजेट निर्माणमा सचिवको भूमिका भनेको बजेट निर्माण गर्ने टिमलाई मार्गदर्शन गर्ने हो । अन्तर्राष्ट्रिय अभ्यास र नयाँ विषयवस्तुलाई बजेटमा ढाल्नेसम्मको खुबी अर्थसचिवमा हुनुपर्छ । त्यस्तै, राजनीतिक आकांक्षा र स्रोतको तालमेल मिलाउने दायित्वसमेत अर्थसचिवकै हो । सामान्यतया, अर्थसचिवले अर्थशास्त्र पढेको र बुझेको हुनुपर्छ ।’ 

 एक वर्षमा तीनजना अर्थसचिव
२२ माघ ०७६ मा राजन खनाल सेवानिवृत्त भएपछि शिशिरकुमार ढुंगानालाई राजस्वसचिवबाट अर्थसचिव बनाइएको थियो । उनले झन्डै दुई वर्ष अर्थ मन्त्रालयमा सचिवको जिम्मेवारी पूरा गरे । ०७८ असार २९ मा अर्थमन्त्रीमा जनार्दन शर्मा आए । 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रिय पात्र बनेर लामो समय राजस्वसचिव र अर्थसचिवका रूपमा अर्थ मन्त्रालयको प्रशासकीय नेतृत्व गरिरहेका ढुंगानालाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइयो । एक वर्षअघि मात्रै बढुवा भएर महालेखा नियन्त्रकको रूपमा काम गरिरहेका मधुकुमार मरासिनी शर्माको रोजाइमा परे । तर, मरासिनीसँगको उनको अभिरुचि एक वर्ष मात्रै टिक्यो । 

बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री शर्माविरुद्ध उत्रिएपछि उनी आफैँ सरुवा मागी अर्थसचिवबाट बाहिरिए । त्यसपछि मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई ल्याइयो । जसलाई शर्मा आफैँले राजस्वसचिवमा ल्याएका थिए ।अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै विष्णुप्रसाद पौडेलले चार महिनाअघि मात्रै तोयम रायलाई अर्थसचिवमा ल्याएका थिए । तर, मन्त्री फेरिएलगत्तै रायको पनि सरुवा भएको छ । 
 

ad
ad