१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Sunday, 11 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o बैशाख १८ सोमबार ११:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय र प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : रमेश लेखक 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार ११:२३:oo

कांग्रेस नेता एवं संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संघीय र प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।  

सोमबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका मुख्य सचेतक लेखकले संघीय र प्रदेश सरकारले चाँडै पूर्णता पाउने बताएका हुन्।  

पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधान गरिने बताउँदै सचेतक लेखकले सत्तागठबन्धन दलका शीर्ष नेताबीच सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको बताए।

‘स्थायित्वका लागि प्रधानमन्त्रीज्यूले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारका सहभागी गराउन पहल गर्नुभएको छ,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित दलले समेत सोच्नुपर्छ।’ लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी  संविधानको पक्षधर भएकाले उपनिर्वाचन परिमाणबाट प्रस्ट भएको बताए। 

‘रवि वर्तमान संविधानको पक्षधर भएको उपनिर्वाचनले देखाइदियो,’ लेखकले भने, ‘जनताले मत दिनुले पनि जनता संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्रकै पक्षधर देखिएका छन्।’ राजावादी र रविबीच थुप्रै फरक भएको बताउँदै लेखकले राजावादी समूहले सक्रियता देखाउँदैमा केही नहुने बताए। 

अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गरेर मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराउन कांग्रेसले भूमिका निर्वाह गरिरहेको बताए। पूर्वभौतिकमन्त्रीसमेत रहेका लेखकले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको दिगो विकास र समृद्धिका लागि राजनीतिक विचारभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताए। 

लेखकले चुनावका वेला कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तारअन्तर्गत सुक्खा बन्दरगाहलाई महाकाली करिडोरसँगै जोड्ने प्रदेशकै विकास गर्नुपर्ने एजेन्डा कार्यान्वयनमा आएको बताए। 

‘सुक्खा बन्दरगाह भारतले बनाइदिने सम्झौता भयो,’ उनले भने, ‘अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो विषय उठान हुन्छ।’  

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह, ब्रह्मदेवमा महाकाली करिडोरको ट्रयाक खोल्ने कामसँगै उत्तरमा चीन र दक्षिणमा भारतसँग नाका विस्तारमा सहजता हुने उनको भनाइ छ। ‘अहिले कञ्चनपुर खण्डमा ट्रयाक खोल्ने काम भएको छ,’ उनले भने, ‘सडकमा पर्ने रूखदेखि अन्य संरचना हटाउने काम भइरहेको छ।’ 

आफैँले स्थलगत अनुगमन गरेर समयमै काम अघि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको लेखकले बताए। लेखकले मझगाउँ विमानस्थलको कामसमेत अघि बढाउने गरी पहल भइरहेको  बताए।