१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २५ मंगलबार o६:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हाजिर भएको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:३१:oo

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएकोमा आइतबार बिहान ११ बजे पदभार ग्रहण र हाजिर गरेका थिए । तर, एक घन्टामै दिउँसो १२ बजे सामान्य प्रशासन मन्त्रालयले यादवलाई मुख्यमन्त्री कार्यालयमै यथावत् राख्न पत्र पठाएपछि उनी फर्किएका हुन् । 

मेयर विनोदकुमार साहले प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्न नपाउँदै सरुवा भएपछि अचम्ममा परेको बताए । ‘नगरपालिकामा एक महिनादेखि प्रशासकीय छैनन्, बल्ल पठाएको थियो, तर फेरि सरुवा गरिदियो,’ उनले भने । हरिपुर्वामा यसअघि पनि प्रशासकीय अधिकृतको एक सातामै सरुवा भएको थियो । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेको गत १५ चैतमा सरुवा भएपछि २२ चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव धु्रवराज आचार्यलाई प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो । तर, सामान्य प्रशासन मन्त्रालयले एक साता पनि नबित्दै २९ चैतमै पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै फिर्ता गरेको थियो । त्यसको १५ दिनपछि यादवलाई पठाइए पनि उनलाई फेरि फर्काइएको छ । 

आचार्यभन्दा अघिका प्रशासकीय अधिकृत न्यौपाने ९ भदौमा आएका थिए । १२ माघमा वडाध्यक्षहरूले विभिन्न विवाद निकालेर दुव्र्यवहारसमेत गरेका थिए । जनता समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष रामस्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको विषय लिएर प्रशासकीय प्रमुखमाथि दुव्र्यवहार गरेपछि उनी सरुवा मागेर हिँडेका थिए । १५ चैतमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सरुवा लिएर धनुषाको मिथिला नगरपालिका गएका हुन् ।
न्यौपानेभन्दा पहिलाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल पनि ६ महिनामै सरुवा भएर धनुषाको जलेश्वर गएका थिए ।

नगरपालिकामा एक महिनादेखि तालाबन्दी
हरिपुर्वामा एक महिनादेखि तालाबन्दी छ । नौबुँदे माग अघि सारेर सर्वदलीय संघर्ष समितिले गत चैतमा तालाबन्दी गरेको हो । एमाले, कांग्रेस, माओवादी, जसपा, लोसपा तथा जनमत पार्टीसमेतले संघर्ष समिति बनाएर आन्दोलन गर्दै १५ चैतबाट कार्यालयमा तालाबन्दी गरेको नगरपालिकाका मेयर साहले बताए । संघर्ष समितिले ५ चैतदेखि नै कार्यालय घेराउ, नाराबाजी, लाठी प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम गरेका थिए । महिनाभन्दा बढी समयदेखि नगरपालिकामा लागेको ताला अझै खुलेको छैन । कार्यालयमा लागेको तालाबन्दीका कारण नगरको दैनिक कामकाजदेखि विकासका योजनासमेत अलपत्र बनेको छ । 

नगरपालिकाले प्रशासकीय भवन आफ्नै जमिनमा निर्माण गर्नुपर्ने, प्रहरी चौकीको नाममा खरिद गरिएको जमिनमै प्रहरी चौकी भवन निर्माण गरिनुपर्ने, नगरपालिकाले ऐतिहासिक नारायणदास मठको जमिन फिर्ता गर्नुपर्ने, पूर्व–पश्चिम राजमार्गस्थित बाँके चोकदेखि संग्रामपुर सडकखण्डको अधुरो कालोपत्रेलाई यथाशीघ्र पूरा गर्नुपर्नेलगायत नौबुँदे माग राखेर तालाबन्दी गरिएको संघर्ष समितिका अध्यक्ष एमाले नेता बिकाउ यादवले जानकारी दिए । 

मलाई असफल बनाउने योजना हो : मेयर साह
नगरका निर्वाचित प्रतिनिधि नै आफ्नो कार्यकाल असफल बनाउने योजनामा लागेका साहको आरोप छ । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि र प्रदेश सरकारका प्रतिनिधिसमेतले नगरपालिकामा कर्मचारी बस्ने वातावरण बन्न नदिएको उनको भनाइ छ । आफू निर्वाचित भएदेखि नै प्रमुख प्रशासकीय अधिकृत ल्याउन पटक–पटक मन्त्रालय धाउनुपरेको उनले बताए । ‘निर्वाचित भएदेखि दर्जनपटक प्रशासकीय प्रमुख पठाइदिनुस् भन्दै मन्त्रालय धाएको छु,’ उनले भने, ‘कैयौँपटक ‘हुन्छ फलानोलाई पठाइदिन्छु’ भनेर पठाएपछि उतैबाट अन्तै सरुवा गरिदिए । मन्त्रालय जाँदा ‘उपसचिव छैनन्, भएपछि पठाइदिउँला वा खोजेर लैजानुस्’समेत भने । अनेक गरेर मिलाएका कर्मचारीलाई मेरै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद मन्त्रीले शक्ति लगाएर सरुवा गरिदिएको खबर आएको छ ।’ 

प्रशासकीय प्रमुख नदिने भए नगर आफैँ चलाउन भनिदिएको उनले बताए । नगरको विकास र जनताको सेवामा महिला तथा बालबालिकामन्त्री महेन्द्र राय यादव लागेको उनको आरोप छ । ‘कुरा किन चपाउनु, महिना दिन लगाएर मैले यसपटकका लागि ल्याएको प्रशासकीय प्रमुख हाम्रै क्षेत्रबाट निर्वाचित भएर महिला तथा बालबालिकामन्त्री बन्नुभएका यादवले प्रधानमन्त्रीसम्मको शक्ति लगाएर तिन दिनमै सरुवा गरिदिनुभएको कुरा आइसकेको छ,’ मेयर साहले भने, ‘अब म के गरौँ ।’

ad
ad