
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्।
एमालेका लीला गिरी संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। गिरी पदमुक्त भएपछि चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
एमाले नेतृत्वको सरकार ११ वैशाखमा ढलेपछि प्रदेश प्रमुख शेरचनले मंगलबार तीनदिनको समय दिएर संविधानको धारा १६८ (२)अनुसार नयाँ सरकार बनाउन आह्वान गरेका थिए।सोहीबमोजिम कांग्रेस प्रदेश संसदीय दलका नेता चौधरीले ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
शपथपछि मुख्यमन्त्री चौधरीले आजै गठबन्धनमा सामेल केही दलहरूको प्रतिनिधित्व रहने गरी चार सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। चौधरी लुम्बिनीका पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्। यसअघि एमाले नेता शंकर पोखरेल दुईपटक मुख्यमन्त्री नियुक्त भएका थिए। त्यस्तै, माओवादी केन्द्रका कुलप्रसाद केसी र एमालेका लीला गिरी मुख्यमन्त्री भएका थिए।
आलोपालो नेतृत्वमा सहमति
प्रदेश सरकारको नेतृत्व गर्ने सवालमा कांग्रेससँग सहमति भएको माओवादी केन्द्रले बताएको छ। आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार पहिलो चरणमा चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चारजनाले शपथ ग्रहण गर्ने भएका छन्। आज मुख्यमन्त्री कांग्रेसका चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्के (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डे मन्त्री बनेका छन्।