१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपाल समूह विजेता

एसिसी प्रिमियर कप समूह ‘ए’मा अपराजित रहने क्रममा नेपालले बिहीबार कतारलाई ६८ रनले पराजित गर्‍यो, नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेता कुवेतसँग शनिबार प्रतिस्पर्धा गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo

सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनमा नेपाल एसिसी प्रिमियर कप २०२३ अन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार कतारविरुद्ध ६८ रनको जितमा सन्दीपले बलिङतर्फ पाँच विकेट र ब्याटिङमा अविजित ४२ रनको योगदान दिएका थिए ।

समूह ‘ए’ मा शीर्ष स्थान रहँदा नेपालले ४ खेलमा सात अंक बनायो । ओमान ६ अंकसहित उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको थियो । साउदी अरेबियाविरुद्ध तेस्रो खेल वर्षाका कारण रद्द भएपछि नेपालले अंक बाँडेको थियो । समूह ‘ए’ बाट कतार, साउदी अरेबिया र मलेसिया समूह चरणबाटै बाहिरिए ।

नेपालको प्रतिद्वन्द्वी कुवेत
नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता कुवेतको सामना गर्ने छ । मूलपानी र त्रिवि खेल मैदानमा भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने पहिलो सेमिफाइनलमा कुवेत र नेपालबीच कीर्तिपुरमा प्रतिस्पर्धा हुनेछ । यसैदिन संयुक्त अरब इमिरेट्स (युएई) र ओमानविरुद्ध मूलपानी मैदानमा खेल्ने छ । मूलपानीमा अप्रत्याशित रुपमा हङकङलाई ३० रनले हराएको कुवेत समूह ‘बी’ को उपविजेता बनेको हो । यस समूहमा युएई विजेता बन्यो । समान ६ अंक रहे पनि नेट रनरेटमा कुवेतलाई पछि पार्दै युएई शीर्ष स्थानमा रहेको हो । समूह बीबाट हङकङ, बहराइन र सिंगापुर बाहिरिए । 

सन्दीपको धारिलो बलिङ 
नेपालले प्रस्तुत गरेको एक सय ५८ रन पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटियो । सन्दीप र सोमपाल कामीले धारिलो बलिङ गरेपछि कतार सस्तैमा समेटियो । कतारका जहिर इब्राहिम र खुरम सहजादले समान १५ रन जोडेका थिए । अमिर फारुकले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

९.१ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन राख्दै १४ रन मात्र खर्चिए । उनले पाँच विकेट हात पारे । सोमपालले तीन विकेट लिए । सोमपालले सात ओभरमा एक मेडनसहित २४ रन खर्चिएका थिए । यस्तै, ललितनारायण राजवंशीले दुई विकेट हात पारे ।

चलेन नेपालको ब्याटिङ
टस हारेपछि ब्याटिङमा आएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो । नेपालका सुरुवाती र मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा १०औँ नम्बरमा क्रिजमा आएका सन्दीपले सर्वाधिक रन जोडेका थिए । सन्दीपले ५८ बलमा ६ चौकासहित अविजित ४२ रन बनाए ।

सन्दीपले ओमानविरुद्ध विश्वकीर्तिमान राख्दै एक सय विकेट पूरा गरेका थिए । सन्दीपले ललित राजवंशीसँग ४६ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भयो । १७ बल खेलेका ललितले एक रन जोडेका थिए । यसबाहेक, कप्तान रोहितकुमार पौडेलले २७, ओपनर आसिफ शेखले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १२ रन बनाउँदा सोमपाल र आरिफ शेखले समान ११ रन जोडेका हुन् । बलिङतर्फ कतारका अमिर फारुकले चार विकेट लिए । ९.३ ओभर बलिङ गरेका फारुकले ४२ रन खर्चिएका थिए । यस्तै, ओवाइस अहमेद तीन र जयान मुनाविराले दुई विकेट लिए ।

कुवेतले हङकङलाई हरायो 
कुवेतले बलियो मानिएको हङकङलाई ३० रनले पराजित गरेको छ । मूलपानी मैदानमा दुई सय ७३ रनको लक्ष्य पाएको हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटिएको थियो । हङकङका कप्तान निजाकत खानले सर्वाधिक ६० रन बनाए । उनले ९७ बलमा एक चौका र दुई छक्का हिर्काएका थिए । अजिज खानले ४९, यासिन मुर्तजाले ४३, जिसन अलीले २४, अंशुमन रथले १३ र हरून अर्सदले १२ रनको योगदान गरे । चौथो विकेटका लागि निजाकत र अजिजले ९१ रनको साझेदारी गरेका थिए । कुवेतका शाहरूख क्युदसले ३ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७२ रन बनाएको थियो । कुवेतका शिराज खानले सर्वाधिक ६७ रन बनाएका थिए । यस्तै, उस्मान पटेलले ५०, ओपनर आदनान इड्रिसले ४५, कप्तान मोहम्मद अस्लामले ३२, सैयद मोनिबले ३१ र बिलालले अविजित १७ रनको योगदान गरे । छैटौँ विकेटका लागि शिराज र उस्मानले ८४ रनको साझेदारी गरेका थिए । हङकङका एहसान खानले सर्वाधिक तीन विकेट लिएका थिए । 

ललितले साथ दिँदा धेरै रन बन्यो 
सन्दीप लामिछाने, लेग स्पिनर, नेपाल

कतारविरुद्ध दबाब थिएन । कतारविरुद्ध सामान्य प्रक्रियागत नै क्रिजमा थियौँ । धेरैभन्दा धेरै रन जोड्नु थियो । एक–एक रन महत्वपूर्ण थियो, त्यसरी नै खेल्दै गयौँ । अर्धशतकको बारेमा सोचेको थिइनँ । सक्दो रन बनाउने मात्रै ध्यान थियो । क्रिजमा ललितले साथ दिँदा धेरै रन बन्न सफल भयो । अन्तिममा मात्रै ब्याटिङ अवसर पाउने हुँदा प्रमाणित गर्ने समय सम्झेर खेल्यौँ । 

हामीमाथि दबाब थिएन 
ललित राजवंशी, खेलाडी, नेपाल

कतारविरुद्ध दबाब लिएनौँ । बलिङमा राम्रो भयो । हामीले नेटमा यस्तो अभ्यास गरिरहेकाले सहज भयो । सन्दीपलाई रन बनाउन साथ दिन्छु, आउट हुँदिनँ भनेको थिएँ । सोहीअनुसार रन पनि बनेको थियो । बलिङतर्फ पावर प्लेमा विकेट झार्न नसके रन धेरै नदिने रणनीति थियो । त्यसमा हामी सफल भयौँ । 

सन्दीपले राम्रो प्रदर्शन गरे 
मोहम्मद रिजवान, कप्तान, कतार

हामीले सुरुवात राम्रो गरेका थियौँ । विकेट धेरै राम्रो थियो । बलरमैत्री रह्यो । सन्दीपले आफूलाई प्रमाणित ग¥यो । नेपालका शीर्ष ६ ब्याट्सम्यान चलेका थिएनन् । तर, सन्दीप बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गर्न सफल रहे । सन्दीपकै कारण हामीले राम्रो गर्न सकेनौँ । नेपालसँग फेरि खेल्न मन छ । 

ad
ad