मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख १४ बिहीबार १२:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा बढे एचआइभी संक्रमित 

Read Time : > 1 मिनेट
२०८० बैशाख १४ बिहीबार १२:०८:००

बागलुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल कुल एक सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । अघिल्लो वर्षको असार मसान्तसम्म कुल एक सय ६९ संक्रमित रहेकामा यस आर्थिक वर्षको फागुन मसान्तसम्म १२ जना संक्रमित बढेकाे धौलागिरि अस्पताल एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । संक्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ८९ जना रहेका छन् भने सबैभन्दा कम बरेङ गाउँपालिकमा एकजना रहेका छन् । 

एआरटी सेन्टरको तथ्यांकअनुसार काठेखोला गाउँपालिकामा २२ जना संक्रमित रहेका छन् भने ताराखोला गाउँपालिकामा सातजना संक्रमित रहेका छन् । त्यस्तै, निसीखोलामा ६ जना, तमानखोलामा तीनजना, बडिगाडमा १० जना, ढोरपाटन नगरपालिकामा पाँचजना, गलकोट नगरपालिकामा १९ जना र जैमिनी नगरपालिकामा १६ जना रहेको एआरटी प्रमुख आचार्यले जानकारी दिए ।

जिल्लाभित्र बसोवास गर्ने र अन्य जिल्ला ठेगाना भएका तीनजना संक्रमित रहेका छन् ।  संक्रमितमध्ये पुरुषभन्दा महिला नै बढी रहेका छन् । जिल्लामा कुल ७९ जना पुरुष संक्रमित रहेका छन् भने ९६ जना महिला संक्रमित रहेका छन् । यहाँ रहेको एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने धौलागिरि पजिटिभ समूहमार्फत २१ जना बालबालिकाले सेवा लिएका छन्।  जसमा बागलुङका ६ जना रहेका छन् भने अन्य छिमेकी जिल्लाका बालकालिका रहेको धौलागिरी पजिटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । 

संस्थाले सञ्चालन गरेको कावा कार्यक्रमअन्तर्गत संक्रमित बालबालिकाका लागि मासिक एक हजार रुपैयाँ सहयोग गर्दै आएको छ । संक्रमित बालबालिकाको पोषण र अन्य सुविधाका लागि संस्थाले राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल साझेदारीमा सेभ द चिल्ड्रेन र ग्लोबल फन्डको सहयोगमा कावा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

धौलागिरि अस्पतालमा एआरटी सेवा लिन आउने संक्रमितका लागि खान–बस्नको समेत व्यवस्था गर्न पजिटिभ समूहले हेरचाह केन्द्र सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष खत्रीले बताए । ‘हामीले कावा कार्यक्रमसँगै हेरचाह केन्द्र पनि सँगै सञ्चालन गरेका छौँ, बालबालिकाको खातामा मासिक रूपमा एक हजारका दरले राखिदिन्छौँ । अन्यका लागि हेरचाह केन्द्रमा खाना–बस्नको व्यवस्था गरेका छौँ । उहाँहरू अस्पतालमा आउँदा यहाँ बस्नुहुन्छ । संस्थाका कर्मचारीसँग समन्वय गरेर सेवा लिएर फर्कनुहुन्छ ।’ जिल्लामा संक्रमित सबैले नियमित एआरटी लिएका छन् ।

संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अहिले पनि थुप्रै एचआइभी संक्रमितले खुलेर जीवन जिउन नपाएको उनको भनाइ छ । समाजमा संक्रमितका लागि अझै पनि लाञ्छना तथा भेदभाव रहेको खत्री बताउँछन् । ‘म आफैँ पनि नेपाल प्रहरीको जागिरे थिएँ । त्यहाँ पनि विभेद हुने डरले जागिरबाट अवकाश लिएँ,’ खत्री भन्छन्, ‘म त बल्लतल्ल हिम्मत जुटाएर सार्वजनिक भएँ, तर मजस्ता कैयौँ एचआइभी संक्रमित अहिले पनि समाजको डरले खुल्न सकेका छैनन् ।’ संक्रमितलाई समाजले हेर्ने नजर गलत हुँदा एचआइभी संक्रमितले रोग लुकाएर राख्ने गरेको र त्यसले भित्रभित्रै भयानक रूप लिने गरेको उनको बुझाइ छ ।

एचाइभी एड्सको न्यूनीकरणका निम्ति स्वास्थ्य कार्यालय, धौलागिरि अस्पताल, एआरटी सेन्टर, धौलागिरि पजिटिभ समूह र एड्स हेल्थ केयर फाउन्डेसन तथा स्थानीय तहले नियमित क्रियाकलाप गर्दै आएका छन् । संघीयता लागस् भएसँगै सबै अधिकार स्थानीय तहमा गएपश्चात् एचआइभी एड्स न्यूनीकरणका काम कम हुन लागेको पीडितहरूको गुनासो रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अहिलेसम्म चारवटा स्थानीय तहले मात्र केही कार्यक्रमका लागि सहयोग गरेको खत्रीले बताए ।