मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख १३ बुधबार ०६:१६:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा मतदानको ‘ट्रेन्ड’ : ठूला दलको न अघिल्लो मत जोगियो, न गठबन्धनको भोट ट्रान्सफर भयो

Read Time : > 4 मिनेट
२०८० बैशाख १३ बुधबार ०६:१६:००

उपनिर्वाचनमा ठूला दल परम्परागत मत लिन मात्र होइन, आफ्नै कार्यकर्ताका मत जोगाउनबाट पनि चुकेका छन् । उपनिर्वाचन भएका क्षेत्रमा ४ मंसिरको निर्वाचनभन्दा मतदानको ‘ट्रेन्ड’ बिल्कुलै फरक देखिएको छ । मतदाता र उम्मेदवारको संख्या हेरफेर हुँँदा रास्वपालाई फाइदा भएको छ । 

चितवन २, तनहुँ १ र बारा २ मा बदलिएको ‘ट्रेन्ड’ले गठबन्धन र एमालेका पारम्परिक मतदाताले रास्वपाको निर्वाचन चिह्न घन्टीमा मतदान गरेको देखाउँछ । ४ मंसिरको तुलनामा उपनिर्वाचनमा कांग्रेस र एमालेले धेरै मत गुमाएका छन् । गठबन्धनका भोट आधारभूत रूपमा ट्रान्सफर भएका छैनन् । 

बदलिएको मतदानकोे ‘ट्रेन्ड’ बुझ्न ४ मंसिर र उपनिर्वाचनको सम्पूर्ण अंकगणित हेर्नुपर्छ । ४ मंसिरको निर्वाचनमा चितवन २ मा कांग्रेसले मात्रै समानुपातिकतर्फ १२ हजार एक सय ३२ मत पाएको थियो । तर, उपनिर्वाचनमा पाँचदलीय गठबन्धनबाट चुनाव लडेका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत मात्रै पाए । जब कि अहिलेका गठबन्धनमा रहेका दलहरूले ४ मंसिरमा पाएको समानुपातिक मत जोड्ने हो भने २१ हजार दुई सय ७७ मत पुग्छ । ४ मंसिरमा प्रत्यक्षतर्फ गठबन्धनले १४ हजार नौ सय ८८ मत पाएको थियो ।

अर्कोतर्फ ४ मंसिरमा १६ हजार सात सय ८४ समानुपातिक मत र प्रत्यक्षतर्फ १४ हजार ६ सय ५२ मत पाएको एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले उपनिर्वाचनमा दश हजार नौ सय ३६ मात्र मत पाए । 

रास्वपाका रवि लामिछानेले ५४ हजार एक सय ७६ मत पाए । ४ मंसिरको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ४९ हजार तीन सय मत र समानुपातिकतर्फ ३५ हजार नौ सय ४५ मत पाएको थियो ।

४ मंसिरमा चितवन २ मा एक लाख २४ हजार दुई सय १४ मतदाता थिए । ८४ हजार १७ अर्थात् ६७.६४ प्रतिशत मत खसेको थियो । १६ उम्मेदवार मैदानमा थिए । उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ९५ मतदाता र २२ उम्मेदवार मैदानमा थिए । ७८ हजार दुई सय ७७ अर्थात् ६२.७७ प्रतिशत मत खसेको थियो । जुन मंसिरको भन्दा ४.८७ प्रतिशत कम मत हो । 

भौगोलिक रूपमा पनि मतदानको ‘ट्रेन्ड’मा हेरफेर देखिएको छ । उदाहरणका लागि ४ मंसिरको चुनावमा रास्वपा सभापति लामिछाने सर्वाधिक मतान्तरसहित विजयी हुँँदा इच्छाकामना गाउँपालिका– १ मा पर्ने हात्तीबाङ र भार्लाङबाट ८७ मत मात्र पाए । पाँच महिनापछि भएको उपनिर्वाचनमा रविले त्यही ठाउँबाट तीन सय १९ मत प्राप्त गरे ।

४ मंसिरमा भएको चुनावमा इच्छाकामना– १ मा एक हजार एक सय २६ मत खसेको थियो भने अहिले घटेर नौ सय ७९ मत मात्र खस्यो । अघिल्लोपटक यस वडामा एमालेले पाँच सय ५४ र कांग्रेसले तीन सय ९७ मत प्राप्त गरेका थिए । यसपटक एमाले तीन सय ६७ मा झर्दा कांग्रेसले दुई सय ४४ मत मात्र पायो । 

इच्छाकामनामा नौ हजार चार सय ४१ मत खस्दा लामिछानेले यसपटक चार हजार तीन सय ५८ मत पाए, अघिल्लोपटक उनलाई दुई हजार नौ सय ७८ मात्र मत प्राप्त भएको थियो । तर, मंसिरमा सबैभन्दा बढी तीन हजार ६ सय २२ मत पाएको एमालेले यसपटक (उम्मेदवार रामप्रसाद न्यौपाने)ले दुई हजार पाँच सय ४४ मा चित्त बुझायो । कांग्रेस तीन हजार दुई सय १६ मतबाट दुई हजार दुई सय पाँच मतमा झर्‍यो । 

तनहुँँ १ मा ४ मंसिरमा कांग्रेसले समानुपातिकतर्फ २० हजार एक सय मत पाएको थियो । जब कि पाँचदलीय गठबन्धनबाट उपनिर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत पाए । समानुपातिकतर्फ २८ हजार चार सय ३४ मत गठबन्धन दलले पाएका थिए । प्रत्यक्षतर्फ गठबन्धनबाट हालका राष्ट्रपति रामचन्द्र पौडेलले २५ हजार तीन सय ६१ मत पाएका थिए । 

प्रत्यक्षमा १९ हजार नौ सय ८१ र १६ हजार ६ सय ८३ समानुपातिक मत पाएको एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मात्र मत पाए । ४ मंसिरको तुलनामा एमालेका १० हजारभन्दा धेरै मत घटे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ३४ हजार नौ सय १९ मतसहित विजयी भए । ४ मंसिरको निर्वाचनमा रास्वपाले ६ हजार ४४ प्रत्यक्ष र १२ हजार सात सय ७३ समानुपातिक मत पाएको थियो । रास्वपाले अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पाएको मतभन्दा धेरै मत पाएको छ । ठूला दलले आफ्नो मत जोगाउन सकेनन् । 

४ मंसिरमा यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता र २५ उम्मेदवार मैदानमा थिए । ६६ हजार सात सय १६ अर्थात् ५४.०३ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा एक लाख २३ हजार चार सय ९० मतदाता र ९ उम्मेदवार थिए । ६३ हजार सात सय ५७ अर्थात् ५१.७१ प्रतिशत मतदान भयो । उम्मेदवार थोरै हुँँदा त्यसका लाभ पनि रास्वपालाई भयो । 

कांग्रेस तनहुँँ सभापति जितप्रकाश आलेले जनतमत फेरिएको स्विकारेका छन् । ‘हाम्रोभन्दा अरू दलको मत घन्टीमा गएको छ । यद्यपि, सबै पार्टीका मत एकीकृत भएर गएकाले रास्वपाले जितेको हो,’ उनले भने, ‘अब समीक्षा गर्छौँ, संगठनलाई जनताको चाहनाअनुसार परिवर्तनकारी बनाउँछौँ । कार्यक्रम बनाएर जनतामाझ जान्छौँ ।’ 

एमाले तनहुँँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ भने राष्ट्रिय राजनीतिमा स्थिरता नहुँँदा जनमत फेरिएको बताउँछन् । ‘मूलतः राजनीतिक अस्थिरता नै मुख्य कारण हो । राष्ट्रिय राजनीतिमा स्थितरता दिन सकिएन । गठबन्धन संस्कृतिले अर्को प्रहार गर्‍यो, जनता आशावादी हुँने ठाउँ रहेन,’ उनले भने, ‘वितृष्णा देखिएर विकल्प खोजका हुँन् ।’

४ मंसिरको निर्वाचन र अहिले बारा २ मा गठबन्धन बदलिएको छ । ४ मंसिरमा बारा २ मा तत्कालीन सत्तागठबन्धन र जसपा–एमाले विपक्षी मोर्चाबीच प्रतिस्पर्धा थियो । सत्तागठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुसवाह र विपक्षी गठबन्धन जसपाका रामसहायप्रसाद यादव उम्मेदवार थिए । प्रत्यक्षतर्फ जसपा उम्मेदवार यादवले १३ हजार आठ सय २२ र माओवादीका कुसवाहले १३ हजार चार सय ६८ मत पाएका थिए । 

उपनिर्वाचनमा सत्तागठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । हाल यादवलाई समर्थन गर्ने गठबन्धन दलले ४ मंसिरमा समानुपातिक मत हेर्दा ३३ हजार नौ सय १७ पाएका थिए । 

एमालेले नौ हजार एक सय ९३ समानुपातिक मत पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार समानुपातिक मत पाएको थियो । प्रत्यक्षतर्फ रास्वपाको उम्मेदवार थिएन । 

यादवसँगको प्रतिस्पर्धामा जनमत पार्टीबाट ४ मंसिरमा सत्तागठबन्धनका उम्मेदवार कुसवाह, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल प्रतिस्पर्धामा छन् ।

बारा २ मा ४ मंसिरमा एक लाख पाँच हजार ११ मतदाता र २१ उम्मेदवार थिए । ६८ हजार आठ सय ७७ अर्थात् ६३.५५ मतदान भएको थियो । उपनिर्वाचनमा यस क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९८ मतदाता र ३४ उम्मेदवार मैदानमा छन् । ६८ हजार आठ सय ७७ मत अर्थात् ६५.४१ प्रतिशत मत खसेको छ । 

उपनिर्वाचनमा गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । मतगणना जारी रहँदा उनीसँग जनमत पार्टीबाट ४ मंसिरमा सत्तागठबन्धनका उम्मेदवार कुसवाह प्रतिस्पर्धामा छन् । एमालेका पुरुषोत्तम पौडेल र तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल चौथो नम्बरमा छन् । 

साँझ साढे ७ बजेसम्म ४५ हजार मतगणना हुँँदा यादवले २० हजार चार सय ६३ मत पाएका छन् । कुसवाहले १७ हजार सात सय ९८ मत पाएका छन् । एमालेका पौडेलले ६ हजार एक सय २१ र रास्वपाका खरेलले दुई हजार चार सय ६६ मत पाएका छन् । खरेलले पाएको मत रास्वपाले पाएको मतभन्दा बढी हो ।

यसरी ‘सिफ्ट’ भए मत 

- ४ मंसिरमा चितवन २ मा कांग्रेसले समानुपातिकतर्फ १२ हजार १३२ मत पाएको थियो । तर, उपनिर्वाचनमा पाँचदलीय गठबन्धनबाट चुनाव लडेका कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्रै पाए । अहिले गठबन्धनमा रहेका दलहरूले ४ मंसिरमा पाएको समानुपातिक मत २१ हजार २७७ मत पुग्छ । ४ मंसिरमा प्रत्यक्षतर्फ गठबन्धनले १४ हजार ९८८ मत पाएको थियो । अर्कोतर्फ ४ मंसिरमा १६ हजार ७८४ समानुपातिक मत र प्रत्यक्षतर्फ १४ हजार ६५२ मत पाएको एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले उपनिर्वाचनमा १० हजार ९३६ मात्र मत पाए । 

- तनहुँँ १ मा ४ मंसिरमा कांग्रेसले समानुपातिकतर्फ २० हजार १०० मत पाएको थियो । पाँचदलीय गठबन्धनबाट उपनिर्वाचनमा उम्मेदवार कांग्रेसका गोविन्द भट्टराईले २० हजार मत पाए । गठबन्धनको मत समानुपातिकतर्फ २८ हजार ४३४ थियो । प्रत्यक्षतर्फ गठबन्धनले २५ हजार ३६१ मत पाएका थिए । प्रत्यक्षमा १९ हजार ९८१ र १६ हजार ६८३ समानुपातिक मत पाएको एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मात्र मत पाए ।