१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:o२:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्धन चोरी र मिसावटका घटना बढेको बढ्यै

भैरहवा नाकाबाट ट्यांकरमा लुकाएर तीन हजार तीन सय ८३ लिटर पेट्रोल ल्याइयो, तीन महिनामा तेल चोरीका चार ठूला घटना

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o२:oo

दोषीलाई कडाइका साथ कारबाही नगर्दा पेट्रोलियम पदार्थमा मिसावट र चोरीका घटना पटक–पटक दोहोरिने गरेका छन् । गत माघयता मात्रै पेट्रोलियम क्षेत्रमा ठूला चारवटा चोरी र मिसावटको घटना पुष्टि भइसकेका छन् । तर, आयल निगम व्यवस्थापनले संलग्न चालक र सहचालकलाई मात्रै कारबाही गर्ने गरेको छ । ढुवानीकर्ता र व्यवसायीलाई भने सामान्य कारबाही मात्रै गर्ने गरिन्छ ।  

इन्धन चोरी र मिसावटको घटनामा चालक, सहचालकलाई पेट्रोलियम ढुवानीमा आजीवन प्रतिबन्ध लगाउने गरेको निगमले विनियमावली कडाइका साथ कार्यान्वयन गर्ने हो भने ट्यांकरधनी र पेट्रोलपम्पको लाइसेन्स खारेज गर्नेसम्मको अपराध भएका छन् । तर, तीनदेखि ६ महिनासम्मको मात्रै कारोबार रोक्काको निर्णय गर्दै निगम व्यवसायीप्रति सधैँ नरम बन्ने गरेको छ ।

गत शुक्रबार आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा आएको लु२ख ४८३९ नम्बरको ट्यांकरमा तोकिएभन्दा तीन हजार तीन सय ८३ लिटर बढी पेट्रोल पाइएको घटनाले सबैलाई अचम्मित बनाएको छ । यसअघि ट्यांकरबाट तेल चोरेर कम आउने वा मिसावट हुने घटना देखिएका थिए । तर, यसपटक भने तोकिएभन्दा बढी तेल आउनुका साथै एउटै ट्यांकरमा तेल चोरी र मिसावटका दुईवटा घटना भेटिएका छन् ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार २० हजार लिटर पेट्रोल लिएर आएको सो ट्यांकरको प्रत्येक चेम्बरको माथिल्लो भागमा थप ६–७ सय लिटर पेट्रोल भारतबाटै अनधिकृत रूपमा हालेर ल्याइएको प्रारम्भिक अनुमान छ ।तेल भरिएको ट्यांकरको प्रत्येक चेम्बरको माथिल्लो भागमा करिब सात–आठ सय लिटर अटाउन सक्ने ‘स्पेस’ हुन्छ ।

तेल छचल्किने वा ठूलो मात्रामा घटबढ हुन नदिने यस्तो व्यवस्था गरिएको हो । तर, ट्यांकरचालकले भने भारतमा प्रतिलिटर करिब २७ रुपैयाँसम्म सस्तो रहेको पेट्रोल हालेर ल्याएका थिए । भन्सार जाँचपासका लागि आएको ट्यांकरको माथिल्लो भागबाट तेल चुहिरहेको पाएपछि शंका लागेर परीक्षण गर्दा तोकिएभन्दा बढी पाइएको थियो । तोकिएभन्दा बढी ल्याएको तेल पुनः झिकेर नेपाली बजारमा महँगो मूल्यमा बिक्री गर्ने ट्यांकरचालकको योजना थियो ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र यादवका अनुसार घटनाबारे विस्तृतमा अध्ययन गर्न भैरहवा भन्सार कार्यालयलाई जिम्मा दिइएको छ । निगमले पनि छुट्टै अध्ययनका लागि निमिक्त निर्देशक नकुल भण्डारीको संयोजकत्वमा प्रबन्धकद्वय नवविनोद पोखरेल र कमला न्यौपाने रहेको समिति बनाएको छ ।

तर, निगमले हालसम्म बनाएका कुनै पनि समितिले दोषी पत्ता लगाएका छैनन् । बरु, समितिहरूले दोषीलाई उन्मुक्ति दिन सकिने बाटो देखाउने गरेका छन् । ०७४ यता आधुनिक लकिङ तोडेर चोरी र मिसावटका घटना हुने भएकाले त्यससम्बन्धी कार्यविधिले तोकेअनुसार छानबिन समितिले काम गर्नुपर्ने हुन्छ ।

ट्यांक, ट्रक लकिङ प्रणालीसम्बन्धी कार्यविधि, ०७४ को दफा १६ (३) मा छानबिन समिति गठनका बारेमा भनिएको छ, ‘घटनामा दोषी पत्ता लगाई निजहरूलाई निगमको प्रचलित कुन विनियमको कुन व्यवस्थाअनुरूप केकस्तो कारबाही र सजाय गर्नुपर्ने तथा भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनपर्ने विषयसमेत उल्लेख गर्नुपर्नेछ ।’ तर, अहिलेसम्म कुनै पनि समितिले कार्यविधिअनुसार छानबिन नगरेका कारण चोरी र मिसावटका घटनामा कमी आउन सकेको छैन ।

 ८० हजार लिटर डिजेलमा के मिसावट भयो भन्ने पत्तै लागेन
गत १० फागुनमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को पश्चिम बंगालस्थित सिलगुढी डिपोबाट आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालय आएका चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि भइसकेको छ ।

पेट्रोलपम्प लैजानुअघि नै निगम कर्मचारीले गर्ने प्रारम्भिक परीक्षणमा डिजेल मिसावटयुक्त भएको पाएपछि चारवटा ट्यांकर अहिले पनि चारआली शाखापरिसरमै राखिएका छन् । प्रारम्भिक परीक्षणमा मट्टीतेल मिसावटको पुष्टि भए पनि निगमको केन्द्रीय प्रयोगशाला हुँदै नयाँदिल्लीस्थित आइओसीको सुविधासम्पन्न प्रयोगशालामा परीक्षण भइसकेको छ । तर, परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निगम अधिकारीले इन्कार गरेका छन् ।

निगमको आपूर्ति तथा वितरण विभाग उपप्रमुखसमेत रहेका प्रवक्ता मनोज ठाकुरले रिपोर्टबारे आफूलाई प्रस्ट रूपमा थाहा नभएकाले गुणस्तर नियन्त्रण तथा अनुगमन विभागसँग बुझ्न सुझाव दिए । गुणस्तर विभाग प्रमुख तथा निर्देशक बिनी श्रेष्ठले आइओसीको रिपोर्ट आपूर्ति तथा वितरण विभागमा रहेकाले खासै जानकारी नभएको बताइन् । 

स्रोतका अनुसार आइओसीले दिएको प्रतिवेदनमा समेत डिजेलमा कुन पदार्थ मिसिएको खुलाइएको छैन । ‘डिजेलमा जे मिसाइएको थियो, त्यसको गुण परिवर्तन भई पहिचान गर्न नै गाह्रो भएको भन्ने रिपोर्ट आइओसीले दिएको छ,’ निगमका एक अधिकारीले भने, ‘त्यसैले पत्ता लगाउन सकिएन ।’

निगमले यसअघि चारवटा ट्यांकरका चालक र सहचालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा आजीवन प्रतिबन्ध लगाइसकेको छ भने चारवटै ट्यांकरलाई ६ महिनासम्म इन्धन ढुवानीमा प्रतिबन्ध लगाइएको छ । घटनाबारे सामान्य छानबिन गरेको निगमले कसरी मिसावट भएको भन्ने पत्ता लगाउन चासो दिएको छैन भने प्रहरीलाई अनुसन्धान गर्नका लागि आवश्यक कागजातसमेत उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।

 सवारीसाधनको इन्जिन नै बिग्रिने गरी पेट्रोलमा मिसावट, तर पम्पलाई कारबाही भएन 
डिजेल मिसिएको पेट्रोल बिक्री गर्ने स्याङ्जाको पुतलीबजार नगरपालिका–३, बाड्खोलामा सञ्चालित पेट्रोलपम्प (नेपाल पेट्रोल्युब सप्लायर्स प्रालि)लाई कारबाही नगरी आयल निगमकोे गण्डकी प्रादेशिक कार्यालय, पोखराले सञ्चालनको अनुमति दिएको छ ।

पछिल्लो १० दिनदेखि सो पम्पले पेट्रोल, डिजेल, बिक्री थालेको निगमको पोखरास्थित प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दासले जानकारी दिए । सो पम्पले मिसावटयुक्त पेट्रोल बिक्री गरेका कारण उपभोक्ताको सवारीसाधनको इन्जिन नै बिग्रेको थियो । 

सो पम्पमा तेल हालेको केही क्षणमा मोटरसाइकल र कारको इन्जिन धमाधम बन्द गएपछि उपभोक्ताहरूले जिल्ला प्रशाशन कार्यालय, स्याङ्जामा उजुरी दिएका थिए । उजुरीलगत्तै छानबिन गर्दा सस्तो मूल्यको डिजेल मिसावट भएको पेट्रोल बिक्री भएको पाएपछि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले २९ फागुनमा सञ्चालक र कर्मचारीलाई कुल आठ लाख २० हजार रुपैयाँ जरिवाना तिराएका थिए ।

जिल्ला प्रशासनले गरेको यही कारबाहीलाई देखाएर निगमले भने कुनै कारबाही नगरी पम्प सञ्चालनको अनुमति दिएको हो । जबकि देशभरका पेट्रोलपम्पको नियमनका लागि निगमले नै बनाएको ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, ०७५’ ले मिसावटयुक्त इन्धन बिक्री गर्ने पम्पलाई ६ महिनासम्म कारोबार रोक्का गर्नेदेखि लाइसेन्स नै खारेज गर्नेसम्मको व्यवस्था छ । सो विनियमावलीमा अर्को निकायले कारबाही गरे निगमले समेत कारबाही गर्न अवरोध नहुने उल्लेख छ । 

तर, सिडिओले कारबाही गरिसकेको भन्दै निगमका तर्फबाट विनाकारबाही पम्प सञ्चालनको अनुमति दिएको पोखरास्थित प्रादेशिक कार्यालय प्रमुख दासले जिकिर गरे । विनियमावलीमा गरेको प्रस्ट व्यवस्थाअनुसार हदैसम्मको कारबाही नहुँदा पेट्रोलियममा मिसावटका घटना दोहोरिने गरेका छन् ।

चोरीको डिजेल जफत गरेपछि ५५ लाख जरिवाना असुल्न आनाकानी
११ माघमा आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जमा २० हजार लिटर डिजेल लोड भएको को.१ख ३६५५ नम्बरको टयाङ्कर विराटनगरस्थित निगमकै कोसी प्रादेशिक कार्यालयका लागि निस्कने क्रममा हराएको थियो । त्यसपछि प्रहरीको सक्रियतामा १४ माघमा सो ट्यांकर सप्तरीको रूपनीमा बेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीले ट्यांकर फेला पारेपछि परीक्षण गर्दा २० हजारमध्ये १६ हजार लिटर डिजेल हराएको थियो । घटनाको अनुसन्धान गरी प्र्रहरीले चालक, सहचालक र चोरी भएको डिजेल खरिद गर्ने दुई पम्प र ढुवानीकर्तालाई कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।

निगमले पनि पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार चालक र सहचालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध र चोरीको डिजेल खरिद गर्ने दुई पम्पलाई ६ महिनासम्मको कारोबार रोक्का गर्ने निर्णय गरिसकेको छ । ट्यांकरधनी गुणराज निरौैलालाई चोरी भएको डिजेलको प्रचलित बजार मूल्यको दोब्बर हुन आउने रकम ५५ लाख चार हजार रुपैयाँ जरिवाना तिराउने निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । निगम प्रवक्ता मनोज ठाकुरले सप्तरी अदालतमा मुद्दा भएकाले जरिवाना असुल्ने निर्णय कार्यान्वयन नभएको र चोरी भएको तेल पेट्रोलपम्पबाट बरामतसमेत गरिएको जानकारी दिए ।

चोरी भएको डिजेलमध्ये १५ हजार आठ सय ५० लिटर सम्बन्धित पम्पबाट झिकेर निगमको कोसी प्रादेशिक कार्यालयमा दाखिला भइसकेको छ । चोरी भएको तेल फिर्ता हुनासाथ कसुरसमेत नलाग्ने व्यवस्था विनियमावलीमा भने छैन । तर, पूर्वको इन्धन ढुवानीमा शक्तिशाली रहेका निरौलालाई बचाउन निगम व्यवस्थापनले विनियमावलीअनुसार असुल्नुपर्ने जरिवाना नउठाएर उन्मुक्ति दिएको छ ।

ad
ad