१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

इम्बोस्ड नम्बर जडानमा फेरि कडाइ गरिँदै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo

पटक–पटक छलफल र निर्णय भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने भएको छ । सरकारले नम्बर प्लेटमा आधा नेपाली र आधा अंग्रेजी भाषा राख्ने गरी तयारी थालेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ पर्खिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

नम्बर प्लेटको भाषामा विरोध भएपछि गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को अनुसूची २ लाई सच्याएर नेपालीमा पनि लेख्न पाउने निर्णय गरेको थियो । बैठकले नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न सकिने निर्णय भएको छ । यससँगै इम्बोस्ड नम्बर प्लेट जडान गर्नेबारे तयारी अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । उनले सरकारले इम्बोस्ड नम्बर राख्नेबारे गरेको निर्णय राजपत्रमा प्रकाशित गरेपछि कडाइका साथ कार्यान्वयनतर्फ लागिने बताए । हालसम्म करिब ५० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । ‘इम्बोस्ट नम्बर जडान योजना पूर्ण कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘अब सरकारले राजपत्रमा प्रकाशित गर्ने तयारी पनि गरिसकेको छ, यससँगै हामी कडाइ गर्छौँ ।’ 

नारायणप्रसाद भट्टराई महानिर्देशक, यातायात व्यवस्था विभाग
यसअघि पटक–पटक इम्बोस्ड नम्बर जडान योजना कार्यान्वयन गर्न खोजिए पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । गत चैतको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी विवाद समाधान गर्ने निर्णय गरिसकेको छ । सरकारले उक्त निर्णय राजपत्रमा प्रकाशित गर्ने तयारी गरिसकेको छ, यससँगै हामी कडाइ गर्छौैँ ।

यसअघि जबर्जस्ती नियम लागू गर्न खोजेको भन्दै विरोध भएपछि इम्बोस्ट नम्बर प्लेट जडान पूर्ण कार्यान्वयन हुन सकेको थिएन । साथै, इम्बोस्ड नम्बर अनुगमनसम्बन्धी संरचना नबनाएको, चर्को शुल्क असुलेको भन्दै जनस्तरबाट विरोध भएको थियो । ‘भाषाको विषयमा अझै फाइनल भएकोे छैन, राजपत्रमा प्रकाशित भएपछि भाषा चयनमा भौतिक र सञ्चार मन्त्रालय तथा विभागबीच छलफल हुन्छ,’ विभागका महानिर्देशक भट्टराईले भने, ‘त्यसपछि भाषा चयन गरेर नम्बर प्लेट जडानमा कडाइ गरिनेछ ।’ प्रारम्भिक छलफलअनुसार प्रदेशको नाम नेपालीमा लेख्ने र अन्य विवरण अंग्रेजीमा लेख्ने छलफल चलिरहे पनि निर्णय भइसकेको छैन । विभागले दुवै भाषा मिसावट गर्ने गरी निर्णय गर्नुपर्ने बताउँदै आएको छ । तर, मन्त्रिपरिषद्का निर्णयअनुसार सबै अंक र भाषा नेपालीमा पनि लेख्न सकिन्छ । सबै नेपालीमा लेख्दा असहज हुने भएकाले दुवै भाषाको प्रयोग गरिने विभागको भनाइ छ ।

ऐनको अनुसूची २ मा इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा हुनुपर्ने बाध्यकारी व्यवस्था थियो । तर, अंग्रेजी भाषा मात्रै राख्दा नबुझिने भन्दै विरोध भएपछि सरकारले इम्बोस्ड नम्बर प्लेट जडान पूर्ण कार्यान्वयन गर्न सकेको थिएन । अब मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन गर्ने विभागको तयारी छ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भाषा संशोधन भइसकेकाले अब यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिने बताए । तर, सरकारले पूरै नम्बर नेपाली मात्रै वा आधा नेपाली, आधा अंग्रेजी भन्नेबारे टुंगो लगाइसकेको छैन । यसअघि चैतमा तत्कालीन भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीमा इम्बोस्ड नम्बर प्लेट लेखिने प्रतिबद्धता जनाएका थिए । तर, उक्त नियम कार्यान्वयनका लागि विभागलाई भौतिक मन्त्रालयले लिखित पत्राचार भने गरेको छैन । 

हालसम्म ५० हजार सवारीसाधनमा जडान
देशभर सबैखाले गरेर ५० लाख सवारीसाधन छन् । त्यसमध्ये ५० हजार हाराहारी सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान भइसकेको छ । जडान भइसकेकामध्ये १५ हजारभन्दा बढी सरकारी नम्बर प्लेटका सवारीसाधन र अन्य निजी रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्दा झन्झट भोग्नुपर्ने र चर्को शुल्क तिर्नुपर्ने भन्दै विरोध आइरहेको छ । तर, मुख्य विरोध भाषागत रूपमा भएको भन्दै ऐन संशोधन भइसकेकाले कार्यान्वयनमा जान सकिने विभागले जनाएको छ । 

कुन सवारीमा कति शुल्क ?
इम्बोस्ड नम्बर प्लेट जडान झन्झटिलो र खर्चिलो छ । तर, सरकारले सर्वसाधारणलाई आर्थिक भार पार्ने गरी पुनः यो नियम कार्यान्वयनका लागि तयारी गरेको छ । सरकारले तोकेको शुल्कअनुसार चारपांग्रे ठूला सवारीमा इम्बोस्ड प्लेट राख्न तीन हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । दुईपांग्रेका लागि दुई हजार पाँच सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीका लागि दुई हजार नौ सय, कार–जिप–भ्यान, ट्याक्टरलगायत सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान गर्दा तीन हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ । सबैजसो सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा सरकारले ठूलो आम्दानी गर्छ ।

 

ad
ad