मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

त्रिवि शिक्षण अस्पतालमा दशौँ कलेजो प्रत्यारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:२६:००

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । पहिलोपटक १७ जेठ ०७६ मा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालल चार वर्षको अन्तरालमा १० वटा कलेजो प्रत्यारोपण गर्न सफल भएको हो । 

डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । कलेजो फेल भएका ३१ वर्षका एक पुरुषलाई उनकी ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् । प्रत्यारोपणका लागि बिरामी तयार नहुने र अन्य समस्याका कारण कलेजो प्रत्यारोपण सोचेअनुसार अगाडि नबढेको डा. भण्डारीले बताए ।

कोभिड महामारी उच्च बिन्दुमा पुगेको समयमा प्रत्यारोपण ठप्पजस्तै भएको र नियमित प्रत्यारोपणका लागि बिरामी सबैतिरबाट तयार हुन नसक्ने अवस्थाका कारण प्रत्यारोपण कम भइरहेको उनले बताए । ‘कलेजोमा सिरोसिसलगायतका समस्या देखिन्छ ।

उपचार खर्च व्यहोर्न नसक्ने, अंगदान गर्ने व्यक्ति नपाउने, दान गर्ने व्यक्ति भए पनि म्याच नहुनेजस्ता समस्याले सातजना बिरामीमध्ये कम्तीमा एकजनाको प्रत्यारोपण गर्न सकिने अवस्था छ,’ डा. भण्डारीले भने । 

डा. भण्डारीका अनुसार एक महिनामा कम्तीमा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिए पनि बिरामी तयार नहुँदा समस्या भइरहेको छ । प्रत्यारोपणको माध्यमबाट कलेजोको रोग निको पार्न सकिन्छ भन्ने जनचेतना अभाव, नियमित परीक्षण नहुनु, रोग पत्ता लागे पनि अंग दाता नपाउनु, परिवारका सदस्यबाट स्वास्थ्यका कारण अंग म्याच नहुनु र खर्च महँगो हुनुले प्रत्यारोपण हुन नसकेको चिकित्सक बताउँछन् । नेपालमा कलेजो प्रत्यारोपणका लागि २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको छ । नेपालमा बर्सेनि कम्तीमा हजारजनाको कलेजो फेल हुने अनुमान छ ।