१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

५० करोडभन्दा धेरै ठगी गर्ने दम्पती प्रहरी हिरासतमा 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५४:oo

ठगको फन्दामा पर्दा मानिस कसरी सडकमा पुग्छन् भन्ने नमिठो उदाहरण बनेका छन्, बर्दिया धधवारका ६० वर्षीय लीलाराज स्वाँर । उनले काठमाडौं– ६ बौद्ध महाँकालस्थित साढे तीन आना क्षेत्रफलमा बनेको तीनतले घर मात्रै होइन, बर्दिया धधवारमा रहेको पुख्र्यौली सम्पत्तिसमेत गुमाएका छन् । 

नातिनी सिमरन स्वाँरलाई बुहारी बनाउने प्रलोभनपछि लीलाराजकी श्रीमती राधा बाँकेको नेपालगन्ज उपमहानगर– १२ की ४५ वर्षीया माधुरी शाहसँग नजिकिइन् । माधुरी चाबहिलमा बुटिक चलाउँथिन् । राधालाई आमा भन्दै खुट्टैमा ढोग्थिन् । वेलाबखत राधालाई ‘गिफ्ट’ पनि दिन्थिन् । प्रलोभनमा परेकी राधाले माधुरीलाई बौद्ध महाँकालस्थित आफू बस्दै आएको घर सहकारीमा राखेर ऋण मात्रै झिकिदिइनन्, बिक्री गरिदिन भन्दै बर्दियाको धधवारस्थित दुई बिघा जमिन पनि पास गरिदिइन् । अन्ततः सोही गल्तीका कारण राधाले ज्यान गुमाउनुपर्‍यो, लीलाराज सडकमा आउनुपर्‍यो । 

लीलाराजका सम्धी शम्भुप्रताप खड्काले माधुरी र उनको श्रीमान् विवेकविक्रम शाहका कारण लीलाराजले दुई करोड ३१ लाख रुपैयाँ गुमाउनुपरेको बताए । ‘माधुरी र उनका श्रीमान् विवेकविक्रमको गुलियो गफमा परेर सम्धिनीले आफू बस्ने घर सहकारीमा राखेर ऋण झिकिदिइन् । बर्दियाको जग्गा पनि पास गरिदिइन् । सुनका गहना पनि उनैलाई दिइन् । तर, माधुरीले न सहकारीको ऋण तिरिनन् । न जग्गा नै फिर्ता गरिन् । सुनका गहना पनि सबै लिइन् । पिरले सम्धिनीलाई ‘हर्ट एक्ट्याक’ आयो । उनको निधन भयो । सम्धी अहिले घर न घाटको भएका छन्,’ उनले भने । 

विश्वासमा परी सर्वस्व गुमाएका लीलाराज अहिले ‘डिप्रेसन’मा छन् । गोजीमा औषधि सेवन गर्ने रकम छैन । न बस्ने वासकै टुंगो छ । सबै गरी लीलाराजले दुई करोड ३१ लाख रुपैयाँ गुमाएको उनका सम्धी खड्काले बताए । 

माधुरी र उनका श्रीमान् विवेकविक्रमको फन्दामा परी रकम गुमाउने लीलाराज एक्ला होइनन्, चाबहिलकी रक्षा सिंहले ८२ लाख रुपैयाँ गुमाइन् । साइनोले माइजू पर्ने माधुरीले रक्षालाई मित्रपार्कस्थित अपार्टमेन्ट सस्तो मूल्यमा पास गरिदिने प्रलोभन दिइन् । यसबापत उनले रक्षाबाट ८२ लाख रुपैयाँ फुत्काइन् । तर, उनले न अपार्टमेन्ट पास गरिदिइन्, न रकम नै फिर्ता गरिन् । 

रनाहामा परेकी रक्षाले अदालतमा मुद्दा हालिन् । अदालतबाट मुद्दा पनि जितिन् । तर, उनको रकम अझै फिर्ता हुन सकेको छैन । नयाँ पत्रिकाको सम्पर्कमा आएकी उनले भनिन्, ‘मित्रपार्कमा रहेको एक करोड रुपैयाँको अपार्टमेन्ट ८२ लाख रुपैयाँमै दिन्छु भनिन् । माइजूले त्यसो भनेपछि हामी विश्वासमा पर्‍यौँ । रकम निकालेर हामीले दियौँ । पछि बुझ्दा ‘अपार्टमेन्ट’ त अरूले नै रोक्का गरेर राखेको रहेछ । हामीले रकम फिर्ता माग्यौँ । तर, उहाँले फिर्ता दिनुभएन । अदालतमा मुद्दा हाल्यौँ । मुद्दा जित्यौँ पनि । तर, उहाँले अझै रकम दिनुभएको छैन ।’

चाबहिल भत्केको पुल बस्ने साधना पराजुली पनि माधुरीका कारण ४४ लाख गुमाउन पुगिन् । अनेक साइनो लगाउँदै माधुरी साधनासँग नजिकिइन् । प्रभावित पार्न कहिले ‘गिफ्ट’ दिइन् त, कहिले गुलियो गफ । भव्य व्यापार देखाउन चाबहिलस्थित बुटिक लगिन् । जब साधना प्रभावित भएको भेउ पाइन् । एकएक गर्दै उनका सुनको गहना र रकम फुत्काउन थालिन् । गहना र रकम रित्तियो, त्यसपछि उनी सम्पर्कविहीन भइन् । 

नयाँ पत्रिकाको सम्पर्कमा आएकी साधनाले १७ तोला सुनका गहना र नगदसहित ४४ लाख रुपैयाँ ठगीमा परेको बताइन् । ‘मलाई अनेक प्रलोभन देखाइन् । उनी घरमै आउँथिन् । मिठो गफ गर्थिन् । व्यापार गर्न भन्दै मसँग पैसा मागिन् । पछि सुनका गहना पनि लिइन् । म विश्वासमा परेँ । तर, उनले विश्वासघात गरिन् । सबै गरी मेरो ४४ लाख रुपैयाँ उनले लिएकी छिन्,’ उनले भनिन् ।

माधुरीको ठगीमा पर्ने अर्का पीडित हुन् चाबहिलका अल्काराज खतिवडा । उनले पनि प्रलोभनमा परी माधुरीलाई सात लाख रुपैयाँ दिएका थिए । तर, उनले सो रकम कहिल्यै फिर्ता पाएनन् । उनका अनुसार चाबहिलकै सूर्यराज श्रेष्ठ पनि माधुरीबाट २५ लाख रुपैयाँ ठगीमा परेका छन् । बौद्धका प्रमोद लामा एक करोड ठगिएका छन् । सावित्री लामाको ८८ लाख ठगी भएको छ । सकुन्तला श्रेष्ठ ६ लाख रुपैयाँ ठगीमा परेकी छिन् । चाबहिलकी अनिता शाह माधुरीकी नन्द हुन् । ठगीपछि उनको त उठीबास नै लागेको छ । 

पीडितमध्येका शम्भुप्रताप खड्काले भने, ‘यिनले आफ्नै नन्दलाई उठीबास लगाएकी छिन् । चाबहिलमा उनको घर थियो । ठगीपछि उनले घर नै गुमाउन पुगिन् । त्यसबाहेक ठगीमा पर्ने अरू पनि धेरै छन् । सबै गरी यिनका श्रीमान्÷श्रीमतीले ५० करोडभन्दा धेरै ठगी गरेका छन् ।’

ठगीका ‘मास्टरमाइन्ड’ माधुरी र विवेकविक्रम प्रहरी हिरासतमा 
अनेक प्रलोभन देखाई ठगी धन्दा चलाउने माधुरी र विवेकविक्रम अहिले प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई मंगलबार प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो । उनीहरूलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । 

गौशाला वृत्तका प्रमुख डिएसपी सञ्जीवबाबु खड्काले अदालतको आदेशपछि माधुरी र विवेकविक्रमलाई पक्राउ गरिएको बताए । ‘रकम लेनदेनमा अदालतले उनीहरूलाई पक्राउ गरी पेस गर्नू भन्ने आदेश दिएको रहेछ । प्रहरी उनीहरूको खोजीमा थियो,’ उनले भने, ‘सोह्रखुट्टे क्षेत्रमा रहेको सूचनापछि प्रहरी खटियो । उनीहरू पक्राउ परे । अहिले दुवै हाम्रो हिरासत छन् । अब दुवैलाई अदालतमा हाजिर गराउँछौँ ।’ 
 

ad
ad