१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार o८:५७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भुटानी शरणार्थीका नाममा ठगी प्रकरण : तत्कालीन गृहमन्त्रीका सल्लाहकारलाई पैसा बुझाएको अभियुक्तको बयान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार o८:५७:oo

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेकाले उठाएको पैसा गृह मन्त्रालयका तत्कालीन अधिकारीलाई बुझाएको बयान दिएका छन् । तर, प्रहरीले उच्चपदस्थउपर अनुसन्धानमा ‘आँट’ गरेको छैन । 

पक्राउ परेका पाँचमध्ये सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पैसा बुझाएको बयान दिएका छन् । एक होटेलमा भेटेर आफूले पैसा बुझाएको उनको लिखित बयान छ । तर, राईमाथि भने छानबिन हुन सकेको छैन । 

जिल्ला प्रहरी परिसर स्रोतका अनुसार राईलाई करोडौँ बुझाएको भण्डारीको दाबी छ । ‘एक होटेलमा भेटेरै पैसा बुझाएको उनले बताएका छन्,’ परिसरका एक अधिकारीले भने, ‘त्यो होटेललाई पत्राचार गरी हामीले त्यसवेलाको सिसिटिभी फुटेज मगाएका छौँ ।’ तर, राईमाथि सो विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तीन वर्षअघिको सिसिक्यामेरा फुटेज पाउने सम्भावना पनि न्यून छ । सकेसम्म उनलाई जोगाउने नत्र फरार बनाएर मुद्दा चलाउने प्रहरी रणनीति छ । 

राईलाई पैसा बुझाएको बताउने भण्डारी तिनै व्यक्ति हुन्, जसका साथी गणेशबहादुर केसी गृह मन्त्रालयले गठन गरेको कार्यदलको सदस्य थिए । विज्ञका रूपमा उनलाई कार्यदलमा राखिएको थियो । जब कि उनको यो विषयमा कुनै अनुभव नै थिएन । पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठन भएको सोही कार्यदलको प्रतिवेदनमै नाम थपेर अमेरिका पठाउने भन्दै करिब नौ सयजनाबाट झन्डै एक अर्ब ठगी भएको थियो । जसमा एक सय ५० भन्दा धेरै पीडितले उजुरी दिइसकेका छन् । 

डा. राई गृह मन्त्रालयमै कार्यरत रहेको वेला सो कार्यदल गठन भएको थियो । प्रमाणीकरणमा छुटेका शरणार्थीको समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । जुन कार्यदलकै औचित्यमाथि नै प्रश्न उठेको थियो । पक्राउ परेकाहरूले डा. राईका छोरा निरजले पनि आफूहरूलाई सघाउँदै आएको बताएका छन् । पक्राउ परेकाहरूले शरणार्थीको रूपमा अमेरिका पठाउने भन्दै न्यूनतम १० लाख उठाएका थिए । त्यसमध्ये धेरै पैसा नेता र गृहका उच्चपदस्थलाई बुझाएको भन्दै फिर्ता गर्न नसक्ने प्रहरीको सोधपुछमा बताएका थिए । तर, बयानमा सो कुरा रोक्न त्यसवेला सघाउनेहरू सक्रिय छन् । 

यो ठगी मुद्दामा प्रहरीले सुरुमै संगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरे पनि सरकारी वकिलले अस्वीकार गरेको थियो । गत साता अर्का अभियुक्त सन्देश शर्मा पक्राउ परेको र उजुरी पनि थपिएपछि बल्ल मुद्दालाई संगठित अपराधतर्फ पनि अनुसन्धान अघि बढाइएको छ । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म थुनामा राख्न सक्छ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले सो मुद्दामा संगठित अपराधअन्तर्गत अनुसन्धान अघि बढेको बताए । तर, अनुसन्धानको भित्री विषय जानकारी नभएको उनको भनाइ छ । हालसम्म प्रहरीले मोरङका केशव दुलाल र सागर राई, दाङका सन्देश शर्मा, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरिसकेको छ । जसमध्ये दुलाल, भण्डारी र शर्मा प्रमुख हुन् । दुलालले पनि प्रारम्भिक सोधपुछमा आफूहरूले उच्चपदस्थलाई पैसा बुझाएको बताए पनि पछि लिखित बयानमा भने अरूको नाम लिएका छैनन् ।