
काठमाडौं महानगरका विभिन्न विभाग कमलादीस्थित काठमाडौंमा प्लाजामा सर्न सुरु भएको छ । महानगरले नेपाल ट्रस्टको स्वामित्वमा रहेको प्लाजामा १० वर्षका लागि मासिक ६० लाख ५० हजार तिर्ने गरी लिएको हो । हाल सुन्धारास्थित जेडिए कम्प्लेक्समा रहेको महानगरको प्रशासन विभाग तथा शाखाहरूले अब काठमाडौं प्लाजाबाट सेवा प्रवाह गर्ने गरी कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
जेडिए कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखापरीक्षण एकाइलाई बुधबारदेखि काठमाडौं प्लाजामा सार्न थालिएको छ । महानगरका प्रशासन विभाग प्रमुख तथा सहायक प्रवक्ता दीपक अधिकारीले कार्यालय स्थानान्तरण गर्दा सेवा नरोकिने बताए । ‘हामीले महानगरका सेवा नरोकिने गरी स्थानान्तरण गर्छौँ,’ उनले भने, ‘बिदाको दिन पनि कार्यालय स्थानान्तरणको काम हुन्छ ।’
०७२ सालको भूकम्पमा बागदरबारस्थित केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरूलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ ।भवनको भुइँ तलामा पार्किङ, नगर प्रहरी बल, बैंक काउन्टर, आपत्कालीन सेवा केन्द्र, विपद् व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जीकरण सेवा राख्ने तयारी छ ।
यसैगरी, पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्यांक शाखा, वातावरण व्यवस्थापन विभाग, सभाकक्ष र विषयगत समितिको कार्यकक्ष राख्ने योजना छ । दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपक्षी विभाग, शिक्षा विभाग, कानुन तथा मानव अधिकार विभाग र इजलास राखिनेछ । तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ, अनुगमन तथा मूल्यांकन एकाइ, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय हुनेछ ।
चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक–निजी साझेदारी एकाइ, सूचना प्रविधि विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ । पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभाकक्ष, कल सेन्टर राखिनेछ ।