2023-04-16-03-23-53.jpeg)
काठमाडौं उपत्यकासहितका क्षेत्रमा पछिल्ला दिनमा लागेको तुवाँलो अझै तीन दिन कायमै रहने आकलन गरिएको छ।
डढेलो र तुवाँलोका कारण काठमाडौं उपत्यका र अन्य सहरहरू वायु प्रदूषणको चपेटामा परेका बेला मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तत्काल सुधार नहुने बताएको हो।
महाशाखाका अनुसार हाल नेपालमा उच्चचापीय प्रणालीको प्रभाव रहेको छ, यो प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ।
वर्षाका गतिविधिमा पनि नहुँदा डढेलो बढेको छ। ‘यसको परिणाम स्वरुप उपत्यकालगायत देशका धेरै भूभागमा तुवाँलोसमेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना छ,’ महाशाखाले भनेको छ। वायु प्रदूषणको कारणले स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि महाशाखाले अपिल गरेको छ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार नेपालमा डढेलो बढेकाले प्रदूषणले पनि खतराको तह पार गरेको हो। काठमाडौंमा वायु प्रदूषणको सूचकांक (एक्युआई) दुई सय नाघ्ने गरेको छ।