मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ चैत २३ बिहीबार १०:३०:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सहरमा संगीत ट्रेन्ड : लोकप्रिय बन्दै ‘कभर ब्यान्ड’

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ चैत २३ बिहीबार १०:३०:००

साँझ पर्नेबित्तिकै ‘एसएम फाइभ एट नेपाल ब्यान्ड’का चार युवा राहुल पुजारी, सलिल तामाङ, उत्सव प्रधान र सन्दीप मोक्तान गिटार, ड्रमलगायतका वाद्यवादन बोकेर घरबाट निस्कन्छन् । उनीहरूको गन्तव्य सधैँ एउटै हुँदैन । तर, काम निश्चित छ, सहरका क्लब, रेस्टुराँ, पब वा क्लबमा गीत गाउने । संगीतमा गहिरो लगाव भएका यी युवाले आफ्नो एल्बम भने निकालेका छैनन् । त्यसैले उनीहरू अन्य चर्चित गीत गाएर आफ्नो सोखलाई निरन्तरता दिन्छन् । ठूलो संख्यामा उपस्थित हुने युवापुस्ताले उनीहरूलाई गाउनका लागि बेग्लै माहोल तयार गरिदिन्छन् । 

काठमाडौंको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सिखेललगायत स्थानका पब तथा क्लबमा विभिन्न कभर ब्यान्डले चल्तीका गीत गाउने गरेका छन् । उदीयमान गायकहरूका लागि यो आयआर्जनको राम्रो स्रोत बनेको छ । ‘गोर्खाली तक्मा ब्यान्ड’का भोकलिस्ट सफिक न्यौपाने रेस्टुरेन्टसँगको सम्झौताअनुसार रकम लिने गरेको बताउँछन् । वाकिङ फिरिरी, साथी, काठमाडौं, चन्द्र–सूर्यलगायत गीतहरू समावेश काठमाडौं एल्बम निकालिसकेको यस ब्यान्डले पब, बार र रेस्टुरेन्टमा कन्सर्ट गर्ने कामलाई विगत आठ वर्षदेखि निरन्तरता दिइरहेको छ । यो ब्यान्डका सदस्यहरूले आफ्नो सोख मात्रै पूरा गरिरहेका छैनन्, यसरी कन्सर्ट गरेर उठाएको पैसाले दुर्गम गाउँका स्कुलमा निःशुल्क रूपमा संगीत सिकाउने कामसमेत गर्दै आएका छन् । उनीहरूले सिन्धुपाल्चोक, गोर्खा, मनाङलगायत १० भन्दा बढी जिल्लामा संगीत प्रशिक्षण दिइसकेका छन् । 

‘एसएम फाइभ एट नेपाल ब्यान्ड’ का भोकलिस्ट उत्सव प्रधानले आठ वर्षदेखि पब र बारमा संगीत सुनाउँदै आफ्नो जीवनयापन गरिरहेको अनुभव सुनाए । ‘हाम्रो चारजनाको समूह छ । आफ्नै अर्जिनल एल्बम निकालेको छैन । अरूकै गीतमा परफर्मेन्स गर्दै आएका छौँ,’ उनले भने, ‘एक रात प्रस्तुति दिएबापत झन्डै १० हजार रुपैयाँ हातमा पर्छ । परफर्मेन्स सकिनेबित्तिकै पारिश्रमिक पाइन्छ । आम्दानीको राम्रो स्रोत बनेको छ । हप्ताको तीन मात्रै सो गर्दै आइरहेका छौँ ।’ 

ठमेल र झम्सिखेलका क्लब, पब एवं बारमा गुन्जिने अर्काे ब्यान्ड हो, ‘विक्रम संवत्’ । पाँच वर्षअघि स्थापना भएको यो ब्यान्डले पर्पल हेज, रेगी, नमस्ते पबलगायत पब तथा क्लबमा प्रस्तुति दिँदै आएको छ । यो ब्यान्डले दर्शकलाई विशेषगरी अंग्रेजी रक गीत सुनाउने गर्छ । यद्यपि, कोरोना महामारीपछि पारिश्रमिक घट्दै गएको क्लबका सदस्यहरू बताउँछन् । ‘कोरोनाको समयमा हामीलाई धेरै गाह्रो भयो । बार तथा रेस्टुरेन्ट पनि खुलेका थिएनन् । तर, अहिले फेरि चहलपहल सुरु भएको छ,’ विक्रम संवत्का सरोज परियारले भने, ‘हामी अहिले अरूका गीत गाउँछौँ । बिस्तारै आफ्नै सिर्जना ल्याउने योजना छ ।’ धन्यवाद, नोइज गेट, परिवर्तन, स्वतन्त्र, स्ट्रिङ नेपाल, यर स्पेस, कभर सोलुसनलगायत दर्जनौँ ब्यान्डले क्लब र पबमा प्रस्तुति दिने गरेका छन् । 

कस्ता गीत गाउँछन् ? 
क्लब, पब एवं बारले ग्राहकलाई फरक स्वाद दिन भिन्न–भिन्न ब्यान्ड बोलाउँछन् । विदेशी पर्यटकले भरिने पब र बारमा रक गीत नै रुचाइन्छ । त्यसो त पबमा हार्ड रकदेखि रक एन्ड रोल, मेटल, ब्लुज, जाजलगायत सबैखाले गीत बज्छन् । ‘अहिले नेपाली गीत सुन्नेको संख्या पनि बढ्दै छ । कतिपयले फास्ट बिटमा झ्याउरे भाका पनि सुन्छन्,’ सफिकले भने, ‘हामी प्रायः लोकरक र लोकपप गीत कम्पोज गर्छौं । कहिले आफ्नै सिर्जना सुनाउँछौँ, कहिले अरूका सदाबहार सिर्जना गुनगुनाउँछौँ । ग्राहकको रोजाइमा भर पर्छ ।’