Skip This
अटिजम भएकालाई कस्तो वातावरणको खाँचो पर्छ ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १९ आइतबार १o:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अटिजम भएकालाई कस्तो वातावरणको खाँचो पर्छ ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १o:३४:oo

सन्दर्भ : विश्व अटिजम सचेतना दिवस

मस्तिष्क र स्नायुकोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पनाशक्तिको विकासमा असर पुग्दछ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपांगता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारको रूपमा देखिन्छ । 

अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन् । तर, कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन । विश्वभर अटिजमले कति मानिसलाई असर गर्‍यो भन्ने फरक–फरक अध्ययनका ठम्याइ पनि फरक–फरक नै देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक प्रतिशत बालबालिकामा अटिजम देखिने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को प्रतिवेदनअनुसार हरेक ५९ जनामध्ये एकजनालाई अटिजम हुने गरेको छ । त्यस्तै, अटिजमको असर छोरीहरूभन्दा छोराहरूलाई तीन–चार गुणा बढी असर गर्ने गरेको सिडिसीले जनाएको छ । अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने कुरा यस तथ्यांकमा उल्लेख छ । नेपालमा कतिजनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । 

अटिजम भएका केही व्यक्तिमा बौद्धिक क्षमता तीक्ष्ण रहेको पाइएको छ भने केहीमा बौद्धिक अपांगता रहेको पाइन्छ । अटिजम भएका हरेक व्यक्तिमा अलग–अलग किसिमका लक्षण देखिन्छन् । बालबालिका जन्मेको ६ महिनादेखि नै क्रमशः तीन वर्षसम्ममा यसका लक्षण प्रस्ट भइसक्छन्, वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन् । अटिजम निको पनि हुँदैन । विभिन्न थेरापी, विशेष शिक्षा, हेरचाह एवं तालिमबाट सामान्य विद्यालय जान सक्ने गरी उनीहरूलाई तयार गर्नुपर्छ । कतिपय बालबालिका सामान्य विद्यालय जान सक्ने अवस्थामै पुग्दैनन् र उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा नै व्यवस्थापन गर्नुपर्दछ । वर्तमान अवस्थामा विश्वभरि नै अटिजम भएका बालबालिकाको जन्मदर बढ्दो छ । 

अटिजमका लक्षण
- आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने ।
- असान्दर्भिक हँसाइ तथा रुवाइ । 
- आँखामा आँखा जुधाउन नसक्ने । 
- घाउचोट तथा दुखाइप्रति वास्ता नगर्ने ।
- एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने । 
- सामानहरू घुमाइरहने तथा अँगालो हालेको मन नपराउने ।
- बोलाउँदा नबोल्ने, साथै नसुनेको जस्तो भइदिने ।
- आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने वा ठूलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने । कल्पना गरेर खेल नखेल्ने वा दोहोर्‍याएर एउटै खेल खेलिरहने ।
- शब्द वा वाक्य दोहोर्‍याउने । (जस्तै– तिम्रो नाम के हो भन्दा तिम्रो नाम के हो नै भन्ने) 
- खतरा नबुझ्ने साथै डर नहुने । 
- सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने ।
- हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउने । 

शिक्षण विधि तथा प्रक्रिया 

- बौद्धिक अपांगता एवं अटिजम भएका बालबालिका र युवालाई व्यवहारोपयोगी  शिक्षा दिई परिवार तथा समाजमा सजिलै पुनर्स्थापना गराउनुपर्छ । 

- अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौतीको पहिचान गरी सोअनुसारको शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन आवश्यक छ । 

- अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्थाअनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ । मूलधारका विद्यालयमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने खालको शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाको शिक्षाका लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ । 

ad
ad
ad
ad