६६ वर्षीय गादरे बुढा वरिपरि डाला, नाङ्ला राखेर ग्राहक नियालिरहेका छन्। ग्राहक आउँछन्, मूल्य सोध्छन् अनि फर्किन्छन्। बाग्लुङको बडिगाड गाउँपालिका–३ जलजलाका बुढा आफैँले चोयाबाट बुनेका डाला, नाङ्ला बिक्रीका लागि जिल्ला सदरमुकाम आए। चैते दसैँ मेलाका अवसरमा आफ्नै हातले निर्माण गरेका स्थानीय वस्तुको बजार खोज्दै बुढाथोकी सदरमुकाम आएका थिए। तर, कुनै समय स्थानीय उत्पादनको मुख्य व्यापार हुने चैत्राष्टमी मेलामा अहिले भने स्थानीय वस्तुले बजार नै पाउन छाडेको छ। प्लास्टिकका भाँडाहरूको बढ्दो प्रयोगसँगै स्थानीय उत्पादनले बजार पाउन छाडेको हो।
झन्डै १५० वटा डाला र नाङ्ला लिएर बुढासँगै आएका खगेन्द्र विश्वकर्मा र शशीराम सम्धाखादीको पनि व्यापार सोचेजस्तो भएन। ‘धेरै परिश्रम गरेर वस्तु उत्पादन गर्यो। परिश्रमअनुसारको मूल्य निर्धारण गर्नैपर्यो,’ बुढाले भने, ‘स्थानीयस्तरमा उत्पादित वस्तु किन्न हिचकिच गर्छन्। आउँछन्, मूल्य सोध्छन्, फर्किन्छन्।’ पुर्खौँदेखि गर्दै आएको पेसा संकटमा पर्न लागेकोमा उनी चिन्तित छन्। बुढाका अनुसार एउटा डालो उत्पादन गर्न तीन दिन लाग्छ। तर, श्रम र समयको लागतअनुसार मूल्य निर्धारण गर्दा उपभोक्ताले किन्नै मान्दैनन्।
विगतमा पनि चैते दसैँ मेलामा परम्परागत वस्तुहरूको बिक्री वितरण गर्न आउने गरेको शशीराम बताउँछन्। ‘हामी धेरै वर्ष पहिलेदेखि डाला, नाङ्ला, भकारीलगायतका सामग्री बिक्री गर्न यहाँ आउने गरेका छौँ। पहिले पहिले त ल्याएकै दिनमा सकिन्थ्यो,’ शशीरामले भने, ‘अहिले व्यापार नै छैन। दुःख गरेर पनि कमाइ राम्रो हुन सकेको छैन। अब त पेसा नै अर्को रोज्नुपर्लाजस्तो भएको छ।’
चैते दसैँ मेलामा व्यवस्थापन राम्रो नभएकाले पनि केही हदसम्म व्यापारमा प्रभाव पारेको उनीहरूको गुनासो छ। ‘हामी कमाइ गर्नभन्दा पनि परम्परा धान्ने उद्देश्य लिएर स्थानीय वस्तु बिक्रीका लागि यहाँ आएका हौँ। मेलामा यसलाई खासै महत्व दिएको पाएनौँ,’ खगेन्द्रले भने। मेलामा यस वर्ष उनीहरूसँग कर उठाइएन। यद्यपि, त्यसको साटो आफूहरूको व्यापारका लागि व्यवस्थापनमा ध्यान दिनुपर्नेथियो भन्ने उनीहरूको आशय थियो।
प्लास्टिकका भाँडाले स्थानीय उत्पादन विस्थापित
बडिगाडबाट डाला नाङ्ला लिएर आएका मात्र होइन, बाग्लुङ नगरपालिका–१२ अमलाचौरका टेके चुँदारा पनि आफ्नो पेसा संकटमा पर्दै गएकोमा चिन्तित छन्। उनले पनि मेलामा बिक्रीका लागि काठका ठेका–ठेकी ल्याएका थिए। परम्परागत रूपमा काठको भाँडा बनाउने पेसा अँगाल्दै आएका चुँदारालाई भाँडा बिक्री हुन छाडेपछि परिवार धान्नै मुस्किल पर्न थालेको छ।
‘काठको भाँडा बनाउन ठूलो मेहनत लाग्छ तर बजारमा डेढ–दुई सयमा प्लास्टिकका भाँडा पाइन्छ। महँगो पैसा तिरेर हाम्रो भाँडो कसले किन्ने?’ उनले भने, ‘मिहिनेतअनुसारको आम्दानी नहुने भएकाले हामी पुर्ख्याैली पेसा छाड्ने अवस्थामा छौँ।’ बढ्दो प्लास्टिकको भाँडाको प्रयोगले परम्परागत रूपमा निर्माण गरिने काठको भाँडा लोप हुन थालेका छन्। यसले पुर्ख्यौली ज्ञान, सीप र सम्पदा नै संकटमा परेको छ। चुँदारालाई घरपरिवारको खर्च कसरी टार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। ‘ठेका बिक्री हुन छाड्यो, अरू काम गर्न आउँदैन,’ उनले भने, ‘हामीलाई गुजारा चलाउनै गाह्रो पर्न थाल्यो। अब अर्को उपाय सिकाइदिने मान्छेको खोजीमा छौँ।’
उमेरले ५५ पुग्न आँटेका उनी काठका भाँडा बिक्री गर्न बाग्लुङ, पर्वत, म्याग्दी र गुल्मीसम्म पुग्छन्। ‘हरेक ठाँउमा मेला लाग्दा पुग्छु,’ उनले भने, ‘तर सोचेअनुसार व्यापार हुन सकेको छैन।’ प्लास्टिकका भाँडाको बढ्दो प्रयोगले अब फरक पेसा रोज्न बाध्य भएको उनको गुनासो छ।
प्लास्टिकका भाँडा सस्तो भए पनि वातावरणीय हिसाबले निकै महँगो साबित भइसकेको छ। वातावरण जगेर्नामा समेत प्रभावकारी हुन सक्ने काठका यस्ता भाँडाको प्रवर्द्धन र संरक्षणमा भने सरकारी तहबाट कुनै पहल भएको छैन।
व्यापार सुस्ताएपछि पुस्तान्तरण हुन सकेन
दैनिकी चलाउन मुस्किल पर्न थालेपछि बुढा, विक, साम्धाखादी र चुँदारालगायतले बिस्तारै यो पेसा छोड्न थालेका छन्। ‘कोही विदेश त कोही अन्य पेसामा आश्रित भए,’ उनीहरू भन्छन्, ‘अहिले हामी एक दुई–घर मात्र यो पेसामा छौँ।’ आफूहरूले पुर्खौदेखि बनाउँदै आएको काम पुस्तान्तरण हुन नसक्नु पनि पेसा संकटको कारण रहेको उनीहरूको बुझाइ छ। आर्थिक लाभ नदेखेपछि नयाँ पुस्ता यी पेसामा लाग्न अनिच्छुक देखिएका हुन्।
मेलामा परम्परागत वस्तुको बिक्री वितरणका लागि आवश्यक सहयोग गर्ने मेला आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउँछन्। ‘यहाँ वर्षौँदेखि परम्परागत वस्तु बिक्री वितरण हुँदै आएको छ। योपटक वितरण कक्षको उचित व्यवस्थापन गर्यौं,’ उनले भने।
माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने कुमाले, तामाका भाँडा बनाउने टमटा, काठका ठेकी बनाउने चुँदारा र सुल्पा बनाएर छाक टार्ने गन्धर्वको पुर्ख्याैली पेसाले उचित महत्व नपाउँदा परम्परागत पेसाहरू हराउँदै गएका छन्।