
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको छ। कर्णाली प्रदेश संसदीय दलको बैठकले केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको हो।
शुक्रबार दिउँसो ३ बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेको वेला अहिलेलाई विश्वासको मत लिएर जाने र त्यसपछि मात्रै सरकारबारे निर्णय गर्ने माओवादी संसदीय दलका सचेतक रणसिंह परियारले बताए।
‘अहिले विश्वासको मत लिएर जाने र मूल रूपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको छ,’ उनले भने, ‘विश्वासको मत सबै दलसँग माग्ने निर्णय भएको छ।’
अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ। एमालेले पनि कांग्रेसको दलको निर्णयपछि मात्रै आफ्नो धारणा बाहिर ल्याउने जनाएको छ।