Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत १७ शुक्रबार ०५:५७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचन लड्न डा. वाग्लेले छाडे कांग्रेस

Read Time : > 4 मिनेट
२०७९ चैत १७ शुक्रबार ०५:५७:००

स्वतन्त्र पार्टीमा दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने, तनहुँ १ बाट निर्वाचन लड्ने 

उपनिर्वाचनमा कांग्रेसबाट टिकट नपाउने भएपछि नेतृत्वप्रति असन्तुष्टि जनाउ“दै कांग्रेस नेता एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी छाडेका छन् । कांग्रेसमा पार्टी पद्धति हराउँदै गएको आरोपसहित बिहीबार पार्टीबाट अलग भएको घोषणा गरेका उनले देशमा वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिएका छन् । 

स्रोतका अनुसार वाग्लेले तनहुँ १ मा कांग्रेसले उम्मेदवार नबनाएपछि पार्टीबाट बाहिरिने निर्णय लिएका हुन् । बिहीबार कांग्रेस कार्यसम्पादन समिति बैठकले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय लिएलगत्तै वाग्लेले पार्टी त्यागको कदम चालेका हुन् ।

वाग्लेले डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य डा. गोविन्द पोखरेललाई पठाएको एमएमएसमा भनेका छन्–
हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ । कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ।

स्रोतका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरीयतामा रहने गरी प्रवेश गर्ने र तनहुँ १ बाट निर्वाचन लड्न लागेका हुन् । रास्वपा उच्च स्रोतले पनि वाग्लेको जिम्मेवारीबारे सहमति भएको पुष्टि गर्‍यो । ‘उहाँ दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने गरी पार्टी प्रवेश गर्ने र तनहुँ १ बाट निर्वाचन लड्न लाग्नुभएको हो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो । 

रास्वपाले बिहीबार साँझ जारी गरेको सूचनामा पनि वाग्ले तनहुँ १ को उम्मेदवारको प्रारम्भिक सूचीमा छन् । उनीसँग ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे पनि दाबेदार रहेको रास्वपाले जनाएको छ ।  

वाग्लेले उपनिर्वाचनमा चितवन २ मा भने रुचि देखाएका थिएनन् । उनले चितवनमा आन्तरिक सर्वेक्षण गरेरै निर्वाचन जित्ने सम्भावना नरहेको निष्कर्ष निकालेका थिए । तर, तनहुँमा जिल्लाबाहिरकालाई ल्याउने विषयमा कांग्रेस नेतृत्व तयार थिएन । 

वाग्लेको चाहनाबारे सभापति देउवालाई पनि महामन्त्री गगन थापालगायतले जानकारी गराएका थिए । तर, देउवाले वाग्लेको विषयमा कुनै चासो देखाएका थिएनन् । उसो त सम्बन्ध चिसिएपछि पछिल्लो समय वाग्लेको विषयमा सभापति देउवा, केन्द्रीय सदस्य तथा सभापति देउवापत्नी आरजु राणा देउवा भने सकारात्मक थिएनन् । 

यसपटक पनि आफूले टिकट नपाउने संकेतबारे वाग्ले जानकार थिए । अर्कोतर्फ रास्वपाले पनि निर्वाचन लड्न वाग्लेलाई आग्रह गरेको थियो । जसअनुसार पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा थिए । 

‘तनहुँमा पार्टीबाट पहिले नै भट्टराईलाई टिकट दिने वचन दिइसकेकाले उहाँको विषयलाई नेतृत्वले खासै वास्ता गरेन । चितवनमा उहाँले टिकट पाउने सम्भावना थियो । तर, उहाँ आफैँले सर्वेक्षण गरेर जित्ने अवस्था नरहेकाले तनहुँबाटै चुनाव लड्ने चाहना राख्नुभयो । हामन्त्रीसहितका नेताहरूले केही समय पर्खन आग्रह गर्नुभएको हो । तर, उहाँले जोखिमपूर्ण निर्णय लिनुभयो,’ कांग्रेसका एक नेताले भने । 

बिहीबार कांग्रेसले आधिकारिक रूपमा भट्टराईलाई उम्मेदवार घोषणा गरेलगत्तै डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य डा. गोविन्द पोखरेललाई एमएमएस पठाएर पार्टीबाट अलग हुन लागेको जानकारी दिएका थिए । कांग्रेस बैठकलगत्तै एमएमएस पठाएका वाग्ले त्यसपछि निकट नेताहरूको सम्पर्कबाट बाहिर थिए । ‘हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ,’ वाग्लेले चार नेतालाई पठाएको एमएमएसमा भनेका छन्, ‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ । कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ।’

यसबारे जानकारी पाएलगत्तै महामन्त्रीद्वय शर्मा र थापालगायतले रोक्न सम्पर्कको प्रयास गरेका थिए । तर, उनी सम्पर्कमा आएनन् । नेताहरूका अनुसार उनीनिकटसँग यसबारे परामर्श गरिरहेका थिए । ‘यो सरप्राइज निर्णय होइन, उहाँलाई रोक्न सकिएन,’ कांग्रेसका एक नेताले भने । केन्द्रीय सदस्य डा. पोखरेलले पार्टी छाडेको जानकारी गराए पनि वाग्ले सम्पर्कमा नआएको बताए ।

दिउँसो ४ बजे मात्र उनले फेसबुकमार्फत आफूले कांग्रेस छाडेको घोषणा गरेका थिए । उनले नेताहरूलाई गरेको एमएमएस र आफ्नो फेसबुक स्टाटसमा सभापति देउवा र देउवापत्नी आरजुको चर्को आलोचना गरेका छन् । उनले पछिल्लो समय पार्टी पद्धतिभन्दा सभापति देउवा हावी हुँदा कांग्रेस ‘अक्षम गिरोह’मा परिणत हुने क्रममा रहेको भन्दै ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको र ०४२ को सत्याग्रहबाट आफू संलग्न भएको कांग्रेसबाट अलग भएको घोषणा गरे । 

वाग्लेले ०८० को सुरुवातसँगै सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा उल्लेख गरेका छन् । ‘कांग्रेसमा संलग्न रहेको र त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा आर्थिक नीति र योजना, बौद्धिक, सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर, पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भनेका छन्, ‘अब कांग्रेस–कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपाली मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’ 

अघिल्लो निर्वाचनमा पनि रास्वपाले गरेको थियो वाग्लेलाई ‘अफर’

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसबाट टिकट पाउने चर्चामा रहेर अन्तिम अवस्थामा वाग्लेले टिकट पाएका थिएनन् । त्यसवेला उनको चितवन या गोरखाबाट निर्वाचन लड्ने चर्चा थियो । उम्मेदवारको टुंगो लाग्दा कांग्रेसले टिकट नदिएपछि एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवार बन्न आग्रह गरेका थिए । 

एमाले अध्यक्ष ओलीले वाग्लेलाई काठमाडौं ७ मा निर्वाचन लड्न आग्रह गरेका थिए । ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रहसहित विनासर्त सघाउने वचन दिएका थिए । 

त्यस्तै, स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले पनि निर्वाचनमा जिताउने ग्यारेन्टी लिने भन्दै आफ्नो पार्टीको चुनाव चिह्न या स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउन भनेका थिए । तत्कालीन समयमा वाग्लेले आफू पार्टी निर्णयविरुद्ध नजाने र पार्टीमा प्रतिबद्ध भएर काम गर्ने बताएका थिए । टिकट नपाएपछि महामन्त्री शर्मा संयोजकत्वको घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । समितिमा रहेर उनले मस्यौदा समितिको संयोजन गरेका थिए । वाग्लेले सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा योजना आयोगको उपाध्यक्षको भूमिकामा रहेर काम गरेका थिए ।

कांग्रेसबाट चितवन २ मा श्रेष्ठ र तनहुँ १ मा भट्टराई उम्मेदवार, बारामा गठबन्धनका उम्मेदवारलाई समर्थन 
कांग्रेसबाट १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन २ बाट जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन् । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बिहीबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले श्रेष्ठ र भट्टराईलाई  सर्वसम्मत उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । बारा २ मा भने कांग्रेसले गठबन्धनको उम्मेदवारलाई सघाउने भएको छ । तनहुँ १ मा यसअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले भारी मतले जितेका थिए । उनी राष्ट्रपति भएपछि उक्त ठाउँमा पुनः निर्वाचन हुन लागेको हो ।