१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार १५:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कान्छी सांसदको प्रश्न- नियमावली कहिले पारित हुन्छ, संसदीय समितिहरू कहिले बन्छन् ?  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १५:४o:oo

प्रतिनिधिसभाकी सबैभन्दा कम उमेरकी सांसद निशा डाँगीले नयाँ नियमावली छिटो पारित गर्न माग गरेकी छिन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले नियमावली पारित गरेर संसदीय समिति गठन गर्न माग गरेकी हुन्। 

‘प्रतिनिधिसभा सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ नियमावली बन्न सकेको छैन। कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशील भएर अघि बढ्छ,’ उनले प्रश्न गरिन्, ‘यी प्रश्न जनताले मलाई गरिरहन्छन्। तर, म निरुत्तर छु। त्यसैले यी प्रश्नको जवाफ सभामुखमार्फत सुन्न चाहन्छु।’

संसदमा पहिलोपटक सम्बोधन गर्दै सांसद डाँगीले कान्छी सांसदको रूपमा अग्रजबाट केही सिक्न सक्छु कि भनेर सदन, समग्र राज्यसत्ता र अग्रजहरूको गतिविधि नियालिरहेको बताइन्। 

‘चार महिना भयो निर्वाचन सम्पन्न भएको, तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामी खडा हुन नसकेको स्पष्ट रूपमा आभास हुन थालिसकेको छ,’ उनले भनिन्। 

राजनीतिले लिएको मोडबारे सबै जानकार नै भए पनि, तर सधैँ राजनीतिका त्यस्ता मोडहरूलाई जिम्मेवार देखाएर सार्वभौम यो सदन पन्छिन नमिल्ने उनको तर्क छ।

‘विविध राजनीतिक घटनाक्रमले सदनको कामकारबाहीमा कुनै असर नपरोस् भनेर हामी सचेत हुन जरुरी छ । हाम्रो पार्टीले यस विषयमा ध्यान दिँदै सदनको आफ्नो क्यालेन्डर हुनुपर्ने भनेर आवाज उठाइरहेको छ, जुन आंशिक रूपले सम्बोधन पनि भएको छ । सदन यसरी निष्प्रभावी हुँदा हामीले उठाएको आवाज सही थियो र छ भन्ने प्रमाणित भएको छ,’ उनले भनिन्। 

आगामी दिनमा सदनको कामकारबाहीलाई गति दिन यो सदनले आत्मसमीक्षा गर्न उनले सभामुखसँगै सम्पूर्ण शीर्ष नेतृत्व एवं सांसदहरूको ध्यानाकर्षण गराइन्। 

सांसद डाँगीले आफ्नो गृहजिल्ला झापाको मेची अस्पतालको उचित व्यवस्थापन, हात्तीको व्यवस्थापन र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेकी थिइन्। यी समस्याको दिगो समाधान विकास गर्न विशेषज्ञको टोली गठन गर्न उनले माग गरिन्।