१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालबालिका घट्दै, वृद्धवृद्धा बढ्दै

Read Time : > 7 मिनेट
सुवास भट्ट, काठमाडाैं
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:१५:oo

१० वर्षमा जनसंख्या २६ लाख ७० हजार ७४ ले बढेर दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । बालबालिकाको संख्या घट्दै र वृद्धवृद्धाको संख्या बढ्दै गएको छ । नागरिकको औसत आयु बढ्दै जाँदा जनसंख्यामा देखिएको यो उमेरगत असन्तुलनले भविष्यमा राज्यमाथि आर्थिक दायित्व बढाउने देखिन्छ ।

सम्पूर्ण नेपालीको जीवनस्तर देखिने गरी केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणना-२०७८ सार्वजनिक गरेको छ । देशको कुल जनसंख्यासहित प्रतिवेदनमा ८० प्रकारका विवरणको एकीकृत तथ्यांक छ । 

जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । तथ्यांकअनुसार ०६८ को तुलनामा ०७८ मा १०.०८ प्रतिशत जनसंख्या बढेको छ ।

नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ । पहिलोपटक अन्य लिंगीको जनगणना भएको छ, देशभर अन्य लिंगीको संख्या दुई हजार ९२८ छ । 

जनगणनामा परिवार संख्या देशभर ६६ लाख ६० हजार आठ सय ४१ छ । तथ्यांकअनुसार सक्रिय जनसंख्या ५७ बाट ६२.९६ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको छ भने सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको छ ।

विभागले २५ कात्तिक ०७८ देखि ४० हजार गणक र आठ हजार सुपरीक्षक खटाएर राष्ट्रिय जनगणना– २०७८ सुरु गरेको थियो । प्रारम्भिक र अन्तिम नतिजाको तथ्यांकमा २७ हजार नौ सय दुईको फरक परेको छ । विभागले ०७८ माघमा सार्वजनिक गरेका प्रारम्भिक जनगणना तथ्यांकमा नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो । तर, अन्तिम नतिजामा संख्या घटेको छ । 

हालको जनगणनाअनुसार हिमाली क्षेत्रको जनसंख्या १७ लाख ७२ हजार नौ सय ४८, पहाडको एक करोड १७ लाख ५७ हजार ६ सय २४ र तराईको जनसंख्या एक करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । प्रदेशअनुसार कोसीमा ४९ लाख ६१ हजार चार सय १२, मधेसको ६१ लाख १४ हजार ६ सय, बागमतीमा ६१ लाख १६ हजार आठ सय ६६, गण्डकीमा २४ लाख ६६ हजार चार सय २७, लुम्बिनीमा ५१ लाख २२ हजार ७८, कर्णालीमा १६ लाख ८८ हजार चार सय १२ र सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेको छ । 

जनगणनासँगै विभागले ८० प्रकारका तथ्यांक संकलन गरेको छ । जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा–जमिनको विवरण संकलन गरिएको छ । आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्य सुविधा पुगे–नपुगेको, घर संख्या, सुविधा, खानेपानी, बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसाय, सरकारी निकायमा दर्ता नभएकाको विस्तृत विवरण, विदेशमा रहेका परिवार, कुन परिवारले के काम गर्छन्, कस्तो काम गर्छन्, काम गर्ने ठाउँ, कस्तो उत्पादन, वडास्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानी आदि । यी तथ्यांक घरघर र स्थानीय तहमा पुगेर संकलन गरिएको विभागका निर्देशक मनोहर घिमिरेले जानकारी दिए । 

आधारभूत सेवा–सुविधामा पहुँच विस्तार, महिला सशक्तीकरण बढ्यो 
जनगणनाले आधारभूत सेवा तथा सुविधामा नागरिकको पहुँच बढेको देखाएको छ । ०६८ मा ६७.३ प्रतिशत घरपरिवारमा बिजुली पुगेकामा यसको पहुँच बढेर ९२.२ प्रतिशत परिवारमा पुगेको छ । त्यस्तै, मोबाइल फोन हुने परिवारको संख्या पनि १० वर्षको बीचमा ६५ प्रतिशतबाट बढेर ७३ प्रतिशत पुगेको छ । मोटरसाइकल हुने परिवार १० प्रतिशतबाट २७ प्रतिशत पुगेको छ । शौचालय प्रयोग गर्ने परिवार पनि ९५.५ प्रतिशत छन्, जब कि १० वर्षअघिको तथ्यांकमा शौचालयको पहुँच नभएका परिवारको संख्या ३८.२ प्रतिशत थियो । 

साक्षरता दरमा पनि सुधार भएको छ । १० वर्षअघि पाँच वर्ष वा सोभन्दा बढी उमेरका जनसंख्यामा साक्षरता दर ६५.९ प्रतिशत रहेकामा अहिले बढेर ७६.३ प्रतिशत पुगेको छ । पुरुषको साक्षरता ७५.१ बाट बढेर ८३.६ र महिलाको साक्षरता ५७.४ बाट बढेर ६९.४ प्रतिशत पुगेको छ । 

जनगणनाको नतिजाअनुसार २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै छ । परिवारभित्र भने ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ । जुन ०६८ को तुलनामा १.१ प्रतिशत विन्दुले बढी हो । राष्ट्रिय जनगणना ०७८ मा गणना गरिएका कुल ६६ लाख ६६ हजार नौ सय ३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् जुन ०६८ को तुलनामा ५.८२ प्रतिशत विन्दुले बढी हो । नयाँ जनगणनाअनुसार ४५ लाख ६३ हजार ६ सय ५९ अर्थात् ६८.४५ प्रतिशत परिवारमूली पुरुष र बाँकी २१ लाख तीन हजार २७८ परिवार अर्थात् ३१.५५ प्रतिशत परिवारमूली महिला छन् । १० वर्षअघिको जनगणनामा कुल परिवारको ७४.२७ प्रतिशत परिवारमूली पुरुष र २५.७३ प्रतिशत परिवारमूली महिला रहेका थिए । नयाँ जनगणनाअनुसार महिला परिवारमूली रहेका परिवारहरूको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । 

परिवारको संख्या बढ्यो, आकार सानो 
घरपरिवार टुक्रिने क्रम बढेको देखिन्छ । परिवारमा अक्सर बसोवास गर्ने औसत सदस्य संख्या विगत १० वर्षको तुलनामा घटेको छ । १० वर्षअघि ५४ लाख २७ हजार तीन सय दुई परिवार थिए । अहिले ६६ लाख ६६ हजार नौ सय ३७ पुगेको छ । ०६८ मा प्रतिपरिवार अक्सर बसोवास गर्ने सदस्य ४.८८ रहेकामा अहिले ४.३७ मा झरेको छ । १० वर्षभित्र १२ लाख ३९ हजार ६ सय ३५ परिवार थपिएका छन् । 

२१ लाख ९० हजार नेपाली विदेशमा बसोवास 
हाल विदेशमा बस्ने नेपालीको संख्या पनि ठूलो छ । विभागको तथ्यांकमा २१ लाख ९० हजार पाँच सय ९२ नेपाली विदेशमा बसोवास गर्दै आइरहेका छन् । ०६८ को जनगणना तथ्यांकमा १९ लाख २१ हजार चार सय ९४ जना विदेशमा बस्दै आएका थिए । 

१५–२० वर्षसम्मको उमेरका दुई लाख १३ हजार ३२० ले गरे विवाह 
विभागले गरेको दशवर्षे तथ्यांक संकलनमा १५–२० वर्षसम्मको उमेर समूहमा विवाह गर्नेको जनसंख्या दुई लाख १३ हजार तीन सय २० रहेको छ । त्यस्तै, २० देखि २४ वर्षभित्र विवाह गर्नेको संख्या नौ लाख २० हजार ६ सय ६५ रहेको छ । हाल सबैभन्दा धेरै २५–२० उमेरमा विवाह गर्ने छन् । दश वर्षको अवधिमा ११ लाख ७० हजार चार सय ८० जनाले विवाह गरेका छन् । त्यस्तै, दश वर्षमा ४५–४९ वर्ष समूहका सात लाख ३६ हजार नौ सय १८ जनाले विवाह गरेका छन् । 

एक वर्षमा कुल गर्भवतीमध्ये ६२२ को मृत्यु
१२ महिनामा राष्ट्रिय जनगगणना– २०७८ को नतिजाअनुसार गणनाको सन्दर्भ अवधि (गणना भएको दिनदेखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन उमेर समूह (१५–४९ वर्ष) का १२ हजार नौ सय ७६ देखिएको छ । त्यसमध्ये ६ सय २२ जना महिला (पाँच प्रतिशत)को मृत्यु गर्भावस्थासँग सम्बन्धित समस्याले भएको देखिएको छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल चार लाख १२ हजार नौ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृ मृत्युदर एक सय ५१ जना प्रतिलाख जीवित जन्ममा रहेको छ ।

कागेश्वरी मनोहरामा सबैभन्दा धेरै जनसंख्या वृद्धि
उपत्यकाका नगरपालिकामध्ये पछिल्लो दश वर्षमा सबैभन्दा बढी जनसंख्या कागेश्वरी मनोहरा नगरपालिकामा बढेको पाइएको छ । ०६८ मा ६० हजार दुई सय ३७ रहेकोमा ०७८ मा ह्वात्तै बढेर एक लाख ३० हजार चार सय ३३ पुगेको छ । दोस्रोमा ललितपुरको महालक्ष्मी नगरपालिका छ । ०६८ मा ६२ हजार एक सय ७२ जनसंख्या रहेकोमा यसपटकको जनगणनामा कागेश्वरी मनोहरामा एक लाख २३ हजार एक सय १६ रहेको विभागको तथ्यांकमा उल्लेख छ । तारकेश्वर नगरपालिकामा ०६८ मा ८१ हजार चार सय ४३ जनसंख्या थियो । अहिले एक लाख ५१ हजार चार सय ७९ पुगेको छ । 

नागार्जुनको जनसंख्या एक लाख १५ हजार चार सय ३७ पुगेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको जनसंख्या एक लाख ४० हजार ८५ पुगेको छ । त्यस्तै, नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच महानपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज छन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिका छन् । 

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरमा आठ लाख ६२ हजार चार सय र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा नौ हजार आठ सय ६१ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३७ वटा रहेका छन् ।

११० वर्षको इतिहास

०६८ सम्म राष्ट्रिय जनगणनाका ११ वटा शृंखला सम्पन्न भइसकेका छन् । पहिलोपटक १९६८ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा जनगणना भएको थियो । नेपालमा जनगणना थालिएको एक सय १० वर्ष पूरा भएको छ । 

पुरुषभन्दा ६ लाख ५७ हजार ४७६ महिला बढी

पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ छ । पहिलोपटक जनगणना भएको अन्य लिंगीको संख्या २९ सय २८ छ । 

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने–तथ्यमा आधारित भएर निर्णय गर्न आधार मिलेको छ
तथ्यांकले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिबद्धतालगायत अन्य राष्ट्रिय विकास लक्ष्यहरूको अनुगमन तथा मूल्यांकन र विद्यमान सूचकहरूको प्रगति मापनमा सहयोग पुग्नेछ । संघ, प्रदेश र स्थानीय तहहरूलाई नीति, योजना तथा कार्यक्रमहरू तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुनेछ ।

उमेर समूहअनुसार जनसंख्या

नयाँ जनगणनाअनुसार सक्रिय उमेर समूह बढेको देखिएको छ । जनगणनाअनुसार कुल जनसंख्याको ६१.९६ प्रतिशत जनसंख्या १५ देखि ५९ वर्ष उमेर समूहका छन् । ०६८ मा यस्तो जनसंख्या ५६.९६ प्रतिशत थियो । तर, यसैबीचमा बालबालिकाको संख्या घट्दै र ६० वर्षमाथिको आश्रित जनसंख्या बढ्दै गएको गएको देखिन्छ । यसले भविष्यमा चुनौतीको संकेत गरेको छ । ०६८ को जनगणनामा १४ वर्षमुनिको जनसंख्या ९२ लाख ४८ हजार २४६ अर्थात् ३४.९१ प्रतिशत रहेकामा अहिले घटेर ८१ लाख १५ हजार ५७५ अर्थात् २७.८३ प्रतिशतमा झरेको छ । त्यस्तै, ६० वर्ष माथिकाको जनसंख्या ०६८ को जनगणनामा २१ लाख ५४ हजार ४१० अर्थात् ८.१३ बाट बढेर २९ लाख ७७ हजार ३१८ अर्थात् १०.२१ प्रतिशत पुगेको छ । जनसांख्यिक अध्येता यसलाई गम्भीर चुनौतीका रूपमा औँल्याउँछन् । 

१५–१९ वर्ष उमेर समूहको जनसंख्या धेरै 
तथ्यांकअनुसार सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहको जनसंख्या १०.२ प्रतिशत रहेको छ । त्यस्तै, १० देखि १४ वर्ष उमेर समूहमा १० प्रतिशत छ । १० देखि १४ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहभित्र १०.५ प्रतिशत पुरुष र ९.९ प्रतिशत महिला छन् । त्यस्तै, २० देखि २४ वर्ष समूहका ९.९ प्रतिशत रहेको छ । हाल एक वर्षभन्दा कम उमेर समूहका चार लाख ११ हजार एक सय ५९ रहेको छ । त्यस्तै, पाँच वर्षमुनिको संख्या २४ लाख ३९ हजार दुई सय ८३ रहेको छ । 

कृषिमा आश्रित जनसंख्या घट्दै
नेपालीको मूल पेसा मानिने कृषिमा आश्रित जनसंख्या घट्दै गएको छ । सेवा र उद्योग क्षेत्रमा आकर्षण बढ्दै गएको र कृषिमा मुनाफा कम हुन थालेका कारण यस क्षेत्रको रोजगारी हिस्सा घट्दै गएको हो । जनगणना ०७८ अनुसार ५७.३ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित छ । यस क्षेत्रमा आबद्धमध्ये पुरुषको संख्या ३९ लाख ८३ हजार ४ सय १७ रहेको छ । महिलाको संख्या ४६ लाख ३ हजार एक सय ४६ रहेको छ । ०६८ को गणनाअनुसार कृषि क्षेत्रमा ६५.६ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित थियो ।

२.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता 
जनगणनामा देशभित्र १२ प्रकारका अपांगतासहितको प्रश्न सोधिएको थियो । कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा पुरुष जनसंख्याको २.५ प्रतिशतमा र महिला जनसंख्याको २.० प्रतिशतमा अपांगता रहेको छ । अपांगता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत रहेको छ । अपांगता भएका व्यक्तिमध्ये सबैभन्दा धेरैमा शारीरिक अपांगता ३७.१ प्रतिशत रहेको छ । १७.१ प्रतिशतमा न्यून दृष्टियुक्त अपांगता, ८.९ प्रतिशतमा बहुअपांगता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर–बोलाइसम्बन्धी अपांगता रहेको छ ।

निजी सवारीसाधन प्रयोगकर्ता पनि बढ्दै
पछिल्लो १० वर्षमा निजी सवारीसाधन प्रयोग गर्ने घरधुरीको संख्या बढेको छ । ०६८ सम्म आफ्नै कार÷जिप÷भ्यान प्रयोग गर्ने घरको हिस्सा १.५७ प्रतिशत थियो । अहिले ३.१ प्रतिशत घरधुरीले आफ्नै कार÷जिप÷भ्यान प्रयोग गर्न थालेका छन् । यस्तै, २७.२६ प्रतिशतले मोटरसाइकल र सबैभन्दा बढी ३५.२४ प्रतिशतले साइकल प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार ३.९ प्रतिशत घरधुरीमा कुनै पनि साधन र सुविधा छैन । २ लाख ५८ हजार ५४० घरधुरीमा मोबाइल, टेलिभिजन, गाडी, बाइक, इन्टरनेटलगायतका कुनै पनि साधन छैनन् ।

७३ प्रतिशतको हातमा स्मार्ट मोबाइल 
साक्षरता दर दश वर्षको अन्तरालमा दश प्रतिशतले मात्रै वृद्धि भए पनि मोबाइल प्रयोगकर्ताको संख्या भने बढेको छ । हाल ७३.२ प्रतिशत नेपालीले मोबाइल फोन प्रयोग गर्छन् । यो नेपालमा बस्नेको मात्रै तथ्यांक हो । यसमध्ये पनि ७३ प्रतिशतले स्मार्ट मोबाइल प्रयोग गर्छन् । विभागको तथ्यांकअनुसार ७४.८ प्रतिशत मधेस प्रदेश, ७२.६ प्रतिशत कोसी प्रदेश, ६८.२ प्रतिशत बागमती, ७१.१ प्रतिशत गण्डकी, ७४.६ प्रतिशत लुम्बिनी, ८२.२ कर्णाली र सुदूरपश्चिम प्रदेशका ७९.१ प्रतिशतको हातमा मोबाइल फोन पुगेको छ । 

 

 

ad
ad