
संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
वि.सं. ०१६ सालमा निर्माण भएको सो संसद् भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा छ । समितिले सो भवनलाई पुनर्निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए ।
समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनपरिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कुरालाई परिमार्जन गर्न पनि निर्देशन दिएको छ ।
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत संघीय संसद्का भवनहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।