मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ९ बिहीबार १२:०३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नजिकैकाे गाउँ काकाकुल, रत्नेचौरवासीलाई सिँचाइ सुविधा

दुई जिल्लाको खानेपानी विवाद

Read Time : > 3 मिनेट
२०७९ चैत ९ बिहीबार १२:०३:००

०५८ मा बागलुङ नगरपालिका– ५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ नगरपालिका– ५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भयो। 

आयाेजना अघि बढाउन रकमसमेत विनियोजन भयो। तर, मुहान विवादका कारण न याेजना अघि बढ्न सक्याे न खानेपानीकाे चरम अभाव खेपिरहेका उपभोक्ताले पानी पिउन पाए।  

यता बागलुङका स्थानीयले खानेपानीकाे चरम अभाव झेलिरहेका वेला उता म्याग्दीको बेनी नगरपालिका- १ रत्नेचौरका स्थानीयले भने सिँचाइकाे सुविधासमेत लिइरहेका छन्। रत्नेचौरका स्थानीयले कमेरेपानीनजिकै रहेको ठूलो खोला र बागलुङतिर रहेका करिब एक दर्जन मूलमा कब्जा जमाइरहेका छन्। 

१२ सय घरधुरीमा खानेपानीको चरम अभाव 

वर्षौँदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट निस्केकाे पानी म्याग्दी रत्नेचौरका स्थानीयले सिँचाइका लागि प्रयोग गरेका छन् भने यता बागलुङका जनताले खानेपानीसमेत प्रयाेग गर्न पाएका छैनन्।  खानेपानी मुहानमा विवाद हुँदा बागलुङ क्षेत्रका १२ सय घरधुरीले चरम समस्या झेल्दै आएका छन्। 

बागलुङ नगरपालिका– ५ बान्द्रे र वडा नम्बर ४ का उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरका स्थानीयले अवरोध हुने गरेकाा छन्। लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएको बागलुङ नगरपालिका वडा नम्बर ५ को बान्द्रे, वडा नम्बर ४ को कुँडुले फेदी, कुँडुले छाप, दाह्रेगौँडा, रमेटार, उपल्लाचौर, डुङढुंगालगायतका बस्तीमा खानेपानी ल्याउने योजना भए पनि अवराेधका कारण खानेपानीकाे याेजना अघि बढ्न नसकेकाे बागलुङ नगरपालिका– ४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री बताउँछन्। 

०५८ मूल दर्ता भयाे, पानी आएन 

कमेरे मूलको पानी साबिक मालिका गाविसको बान्द्रे र बागलुङ नगरपालिको साबिक वडा नम्बर १० तथा ११ हालको बागलुङ नगरपालिका– ४ मा खानेपानी ल्याउन पहल सुरु भई ०५८ सालमा मूल दर्ता भएको थियाे। 

वडाध्यक्ष क्षेत्रीले भने, ‘सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिनलगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयले लुटेर लगे। तत्कालीन उपभोक्ता समितिले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पनि हुन्  । सशस्त्र द्वन्द्व तथा संकटकालको अवस्था रहेकाले पानीको काम अघि बढ्न सकेन। अहिले काम सुरु गर्दा रत्नेचौरका स्थानीय बासिन्दाले विरोध गर्नु दुःखद कुरा हो।’

उनका अनुसार बागलुङ नगरपालिकामा रहेको मूल म्याग्दीले कुनै दर्ताविना नै लगेको र हाल निर्माण गरेको कमेरे मूलमा निर्माणधीन खानेपानी ट्यांकीको संरचना तोडफोड भयाे।  

खानेपानी मूल विवाद समाधानको पहल भइरहेका वेला बागलुङ नगरपालिकाले करिब दुई लाख खर्च गरेको संरचना तोडफोड भएको हो। संरचना निर्माण भएको पाँच दिन नबित्दै तोडफोड भएको छ। 

‘हामी मिलेर पानी लैजाऊँ भन्ने उद्देश्यले सहमतिको बाटो रोजेका छौँ,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘०५८ साल देखि नै मूल दर्ता गरेर खानेपानी लैजाने निधो गरियो। तत्कालीन समयमा सहमतिसमेत भएको थियो। हामीसँग प्रमाणपत्र नै छ। उसवेला पैसाको अभावका कारण खानेपानीको काम अगाडि बढाउन सकेनौँ, अहिले आएर उहाँहरूले सिँचाइमा लगेको पानी केही भाग हामीलाई दिनु भन्दा उहाँहरू दिन मान्नुहुन्न।’ 

उनले अझै पनि सहमतिको बाटो खोजेको, आधा–आधा पानी लैजाने र पुरानै प्रवृत्ति देखाएमा वडा नं. ४ का जनताले पानी त्यसै नछाड्ने बताए। 

उनले कमेरे मूलको विषयमा बागलुङ र म्यादीको बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयबीचको खानेपानी मूल विवाद समाधान खोजिएको र केही मौखिक सहमति भए पनि फेरि त्यो सहमति परिवर्तन भएको बताए। 

यस्ताे थियाे सहमति 

पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो। 

खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीको ०७९ फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकोमा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुनः विवाद भएको श्रेष्ठले बताए। 

‘म्याग्दी र बागलुङको सहमतिमा ४२ र ५८ प्रतिशत पानी विभाजन गर्ने सहमति भयो। पानी बाँडेर खाने विन्दुमा पुग्दा पुनः असमहति भएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘यस क्षेत्रबाट धेरै मूलबाट रत्नेचौरतिर पानी लगिएको रहेछ। सिँचाइलाई भन्दा पहिले पिउने पानीलाई प्राथमिकता दिऊँ, केही भाग बागलुङका जनतालाई पनि खुवाऊँ भन्ने हाम्रो उद्देश्य हो। जनताले श्रमदान गरेर पानी लैजान खोज्दा अहिले विरोध भएको छ ।’ उनले खेर गएको पानीलाई व्यवस्थित गरेर लैजान खोज्दा रत्नेचौरवासी बागलुङसँग डराएको बताए। 

उनले जनताको बीचमा लडाइँ–झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताए। नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ति ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कमेरे मुहानको पानी अपुग भएमा आसपासका लगायत खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र सहमति दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भए पनि रत्नेचौरका केही स्थानीयले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुन सकेको छैन। रत्नेचौरका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका– १ का वडाध्यक्ष टेकबहादुर थापालले बताए।  

सहमतिको बाटो खोजौँ 

बिहीबार स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताए। उनले यस क्षेत्रबाट रत्नेचौरका लागि धेरै पाइपमा पानी लगेका कारण बागलुङका स्थानीयलाई सहमतिमा दिनुपर्ने बताए।

‘रत्नेचौर क्षेत्रमा धेरै स्थानबाट खानेपानी र सिँचाइका लागि पानी लगिएको रहेछ। बागलुङ क्षेत्रमा खेर गएको पानी व्यवस्थापन गरेर लैजान्छौँ भन्नुभएको छ।  केही वडाका बासिन्दाका लागि मात्र खानेपानीको व्यवस्थापन गर्न खोजिएको हो। सबै नगरपालिकाका लागि हाेइन,’  थापाले भने, ‘अहिलेसम्म बागलुङले जबर्जस्ती पनि गरेको छैन। अधिकांश मुहान बागलुङकै भूभागमा रहेछन्। पछि दाबी गर्ने हो भने सबै भाग लगाउन पर्ने पनि हुन सक्छ। त्यसैले सहमतिको बोटो खोजेमा सहज हुनेछ।’ 

खानेपानीको विषयमा म्याग्दीका उपभोक्ताले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् भने सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको बताइएको छ।