१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ७ मंगलबार १४:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१३औँ स्मृति दिवस : यी हुन् चितवनवासीले गिरिजाबाबुलाई सम्झिने कारण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार १४:१५:oo

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदै छ। कांग्रेस, भ्रातृ संठनलगायतका विभिन्न संघसंस्थाले उनको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन्। 

कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताका रूपमा समेत स्मरण गर्दछ।

वर्तमान राजनीतिक उपलब्धि, तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्तिसम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो। जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालालाई बृहत् शान्तिसम्झौताका एक हस्ताक्षरकर्ताका रूपमा पनि चिनिन्छ।

तर, चितवनवासीका लागि भने उनीलाई सम्झिनेरहने अन्य कारण पनि छन् । उनकै नेतृत्वमा जिल्लामा भएका महत्वपूर्ण कामका लागि आज पनि चितवनवासी कोइरालालाई सम्झिरहन्छन्। 

पचासको दशकमा जिल्लाले विकासको गति लिन सुरु गर्‍याे। तत्कालीन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोइराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्जबाहिर सारियो। त्यति नै वेला राप्तीमा बाढीका कारण पूर्वीचितवनका धेरैले जनधन गुमाए। त्यहाँ राप्ती तटबन्धनका लागि ड्यामको काम भएको उनले बताए। 
 
भरतपुरमा चीन सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो। माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो। माडी–ठोरी हुलाकी सडकको काम पनि त्यति वेला नै भएको सापकोटाको भनाइ छ। भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन ल्याउनुमा पनि कोइरालाको योगदान छ। 
 
विगतलाई सम्झँदै सापकोटाले भने, ‘गिरिजाबाबु चीन हुनुहुन्थ्यो, उहाँले मलाई फोन गर्नुभयो । चिनियाँहरूले बिपी बाबुको नाममा क्यान्सर अस्पताल खोल्न खोज्दै छन् । जग्गा खोज्न सकिन्छ ? मैले सकिन्छ भन्ने उत्तर फर्काएँ।’ आफू जिविस सभापति भएकाले उनले त्यहीबाट टेलिफोनमा सोधेको उनको भनाइ छ।
 
गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनियाँ टोली चितवन आएको सापकोटाले सुनाए।  पूर्वीचितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनियाँ टोलीलाई जयगंगा र खैरहनी गौचरन देखाए पनि भरतपुरको जग्गामा चिनियाँहरू अस्पताल बनाउन राजी भएको सापकोटाले बताए। 

राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आइपुगेका कोइरालाले राप्तीमा तटबन्धन ड्याम मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताए।

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भए पनि कोइरालाले जनताको आवश्यकतालाई महसुस गरी पुल बनाएको सापकोटा स्मरण गरे। 

यससँगै भरतपुर–माडी ठोरी हुलाकी सडक निर्माणमा पनि कोइरालाकै योगदान छ। निकुञ्ज स्थापनाको समयमा तयहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन । कोइराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ।

पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोइरालाको उक्त निर्णयका कारण झन्डै दुई हजार चार सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो। 
 
‘बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरूको लगानीमा कलेज अफ मेडिकल साइन्सेस स्थापना भएको हो,’ सापकोटाले विगतलाई सम्झँदै भने, ‘हामी गिरिजाबाबुसँग डेलिगेसन गयौँँ, सुरुमा उनले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगन्ज लैजानुपर्छ भन्नुभयो । हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भनेका थियौँ।’ 

समय–समयमा मेडिकल कलेजका सञ्चालक डा. भी नटराजप्रसादले गिरिजाबाबुले आफूहरूलाई यहाँ ल्याए पनि पछिल्ला वर्षमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाइ नगरेको गुनासो गर्दै आएका छन्।
 
नेपाली कांग्रेसका तत्कालीन सभापति टीकाराम न्यौपाने कोइराला प्रधानमन्त्री र यातायातमन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलका काम भएको स्मरण गरे। कोइरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उनले गरेका महत्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन्। रासस