१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ७ मंगलबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

होटेल २५ प्रतिशत अकुपेन्सीमा सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार o७:३९:oo

कोभिड महामारीले थला परेको होटेल तथा पर्यटन व्यवसाय अझै लयमा नफर्किएको होटेल व्यवसायीले बताएका छन् । थलिएको होटेल उद्योगलाई जोगाउन राज्यले प्राथमिकता नदिँदा ठूलो लगानी संकटमा पर्ने जोखिम बढेको होटेल एसोसिएसन नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले बताइन् ।

‘सरकारले पर्यटन क्षेत्र लयमा फर्किसकेको गलत दाबी गरिरहेको छ, तर अझै पर्यटन व्यवसाय लयमा फर्किएको छैन,’ उनले भनिन्, ‘नीति–निर्मातासँग भएको गलत तथ्यांकका कारण पर्यटन क्षेत्रले राज्यबाट पाउने सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आएको छ ।’ अधिकांश होटेल–रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीमा चलिरहेको उनको भनाइ छ । देशभर होटेलको संख्या बढेको, तर पर्यटक बढ्न नसक्दा व्यवसायी आर्थिक संकटमा पर्न थालेको अध्यक्ष राणाले बताइन् । ‘चर्को मूल्यवृद्धि, तरलता अभाव, चर्को ब्याजदर र व्यवसाय सञ्चालनका समस्या छँदै छन्,’ उनले थपिन्, ‘पर्यटक आगमन अपेक्षित बढ्न नसक्दा व्यवसाय कसरी टिकाउने भनेर होटेल व्यवसायी चिन्तित बन्नुपरेको छ ।’  

बैंक तथा वित्तीय संस्थाहरूले ऋणको साँवा–ब्याज भुक्तानीका लागि थेग्नै नसकिने गरी ताकेता गरिरहँदा पर्यटन व्यवसायी आतंकित बन्नुपरेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । कोभिडको करिब तीन वर्ष कारोबार शून्यमा झरेको र व्यवसाय चौपट हुँदा अहिलेकै अवस्थामा कर्जा भुक्तानी गर्न सक्ने अवस्था नरहेको उनको जिकिर छ ।

अहिले होटेलहरू सञ्चालनमा रहेको देखिए पनि चालू खर्च धान्नेसमेत आम्दानी हुन नसकेको शाहले बताए । ‘धेरै नयाँ होटेलहरू थपिँदा मागभन्दा आपूर्ति कैयौँ गुणाले बढेकाले होटेललाई सेवाको मूल्य घटाउन ठूलो चाप परेको छ,’ उनले भने, ‘सरकारको बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको होटेल क्षेत्रलाई हालसम्म पनि उद्योगसरहको मान्यता नदिनु अत्यन्त खेदजनक छ ।’

होटेल तथा रिसोर्टमा ३५–३८ प्रतिशत अकुपेन्सी भए सञ्चालन खर्च धान्न सकिने बताउँदै उनले पछिल्लो समय होटेल २५ प्रतिशत अकुपेन्सीमा मात्रै सञ्चालन भइरहेको गुनासो पोखे । यही अवस्था लम्बिएमा १५–२० प्रतिशत होटेल व्यवसायी पलायन हुने उनको भनाइ छ ।

बैंकको कर्जाको ब्याजदर ७–८ प्रतिशतबाट बढेर १७–१८ प्रतिशतसम्म पुग्दा व्यवसायी समस्यामा परेको सिद्धार्थनगर होटेल व्यवसायी संघका अध्यक्ष सिपी श्रेष्ठले बताए । ‘पर्यटन पूर्वाधार विकासमा काम भएकै छैन, पर्यटक बढ्न सकेका छैनन्, तर होटेल तथा रिसोर्ट टन्नै खुलेका छन्,’ उनले भने, ‘यही अवस्था रहिरहेमा धेरै व्यवसायी पलायन हुने देखिन्छ ।’ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १० महिना बितिसक्दासमेत अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखदायी भएको श्रेष्ठले बताए । 

ad
ad
ad
ad