प्रविधि, कर्मचारीको सीप विकास, बिमित तथा लगानीकर्ताले पाउने प्रतिफलमा वृद्धि हुने विश्वास
साढे सात दशकअघि सुरु भएको नेपालको बिमा व्यवसाय विभिन्न चरण पार गर्दै र परिपक्व हुँदै आएको छ । २००४ सालमा नेपाल बैंकले नेपाल माल चलानी तथा बिमा कम्पनी स्थापना गरेर सुरु भएको बिमा व्यवसायमा आएको विकाससँगै केही वर्षअघि बिमा गर्ने कम्पनीको संख्या जीवन बिमाका १९ र निर्जीवन बिमाका २० सम्म पुग्यो । यसका साथै, दुई पुनर्बिमा कम्पनी पनि सञ्चालनमा छन् । यसका अलावा सातवटा लघुबिमा कम्पनी सञ्चालनको तयारीमा छन् ।
तर, बजारका आधारमा नेपालमा बिमा कम्पनीको संख्या धेरै भएको महुसस भइसकेको थियो । नियामक निकाय नेपाल बिमा प्राधिकरण (साबिक बिमा समिति) र स्वयं बिमा कम्पनीहरूले मर्जरलाई वास्ता गरेनन् । तर, अहिले जीवन तथा निर्जीवन बिमा कम्पनीहरू उत्साहजनक रूपमा मर्जरमा अगाडि बढेका छन् । हालसम्म निर्जीवनतर्फ चार र जीवन बिमातर्फ एउटा मर्जर सफल भइसकेको छ ।
हालसम्म १२ निर्जीवन बिमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । त्यसमा आठ निर्जीवन बिमा कम्पनी चारवटामा कायम भएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । यसबाहेक अन्य चार कम्पनी पनि मर्जर प्रक्रियामा छन् ।
यस्तै, जीवन बिमातर्फ नौ कम्पनी चार वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । त्यसमा सूर्या लाइफ र ज्योति लाइफले सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । अन्य कम्पनीको मर्जर भने प्रक्रियामै छ । प्रक्रियामा रहेका सबैको मर्जर सफल भएमा जीवन र निर्जीवन बिमा कम्पनीको संख्या १४–१४ वटामा झर्नेछ । साथै, अन्य कम्पनीहरू पनि मर्जरको योजनामा छन्, त्यसअनुसार बिमा कम्पनीको संख्या थप घट्ने सम्भावना जीवितै छ ।
नेपालमा बैंक तथा वित्तीय संस्थामा मर्जरको अभ्यास बढी छ । बैंकहरू ०६१ यता नै मर्ज हुँदै आएका छन् । तर, बिमामा भने यही वर्ष मात्रै मर्जर अभ्यास सफल भएको हो । ११ वर्षअघि नेको र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने गरी सहमति गरे पनि पछि भाँडिएको थियो । बिमा कम्पनी मर्ज गर्न प्राविधिक रूपमा हुने कठिनाइबीच पनि उत्साहपूर्ण रूपमा मर्ज भइरहेको देखिएको छ ।
विशेष गरी नियामक निकाय बिमा प्राधिकरणले चुक्ता पुँजी बढाउने नीति ल्याएपछि बिमा कम्पनीहरू मर्जरमा जान बाध्य भएका हुन् । हाल जीवन बिमा कम्पनीको दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । त्यसमाथि आगामी चैत मसान्तभित्र जीवन बिमा कम्पनीले पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यसलाई प्राधिकरणले कम्पनीको चुक्ता पुँजी बढाउन मर्जरलाई प्रोत्साहन गरेको मान्न सकिन्छ । त्यसपछि बिमा कम्पनीहरू मर्जरमा जान थालेका हुन् । यसले समग्र बिमा क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउन सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।
यी हुन् मर्जरका फाइदा
मर्जरका कारण बिमा क्षेत्रको जोखिम धारण गर्ने क्षमता, प्रतिफल र बोनस दर बढ्ने, प्रविधिको विकासका साथै बजार विस्तार हुने, अस्वस्थ प्रतिस्पर्धा निरुत्साहन हुने विश्वास गरिएको छ । यसले नेपालप्रति विदेशी पुनर्बिमा कम्पनीहरूको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । बिमा कम्पनीहरूको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढी थियो । अब कम्पनीको संख्या घट्ने भएसँगै अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुने अपेक्षा गरिएको छ । साथै, कम्पनीको चुक्ता पुँजी बढेपछि जोखिम धारण गर्ने क्षमता, लगानी बढाउने क्षमतासमेत बढ्ने विश्वास गरिएको छ । त्यसले सेवा तथा व्यवसाय विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा छ ।
साथै, बिमा क्षेत्रमा प्रविधिको विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । लगानी अभावका कारण अझै पनि बिमा क्षेत्रमा प्रविधिको विकास व्यापक रूपमा हुन सकेको छैन । अझै पनि अनलाइनमार्फत बिमा पोलिसी खरिद–बिक्री गर्ने प्रविधि बनेको छैन । तर, कम्पनीको आर्थिक क्षमता बढेसँगै प्रविधिमा समेत लगानी बढ्ने सरोकारवाला बताउँछन् । यसैगरी, दुईभन्दा बढी कम्पनीको कर्मचारीबीच एकै ठाउँमा ज्ञान तथा सीप आदान–प्रदानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कर्मचारीको सीप विकासमा समेत ठूलो योगदान पुग्ने बताइएको छ ।
हकप्रदमार्फत पनि बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाउन सकिन्छ । तर, बिमा क्षेत्रमा लगानीको प्रतिफल दर यसै पनि कम छ । त्यो अवस्थामा हकप्रदमार्फत चुक्ता पुँजी बढाउँदा त्यति फाइदा नहुने स्पष्ट थियो । साथै, हकप्रदमार्फत कम्पनीको चुक्ता पुँजी मात्रै बढ्थ्यो । जगेडा कोष, बिमा कोषलगायतका अन्य सूचक भने बढ्ने थिएन । त्यसैले कम्पनीहरूको क्षमता विकास गर्न मर्जर नै उपयोगी रहेको सरोकारवाला बताउँछन् ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल मर्जरले बिमा क्षेत्रमा सिनर्जी ल्याउने बताउँछन् । ‘मर्जरपछि कम्पनीको संख्या घट्ने भएसँगै अस्वस्थ प्रतिस्पर्धा निरुत्साहन हुने भयो । साथै, चुक्ता पुँजी बढी हुँदा कम्पनीलाई व्यवसाय बढाउन पनि सजिलो हुने भयो,’ उनले भने, ‘साथै, अनुसन्धानमूलक काम गर्न पैसाको अभाव हुने भएन, फलस्वरूप बिमा क्षेत्रमा इनोभेटिभ विकास गर्न सकिन्छ । साथै, सूचना प्रविधिमा पनि लगानी बढाउन सकिन्छ ।’ यसका अलावा कर्मचारीको सीप विकासमा समेत ठूलो सहयोग पुग्ने हुनाले अबका दिनमा बिमा क्षेत्र नयाँ उत्साहका साथ अघि बढ्ने उनको भनाइ छ ।
यस्तै, नेपाल निर्जीवन बिमक संघका अध्यक्ष तथा मर्जर प्रक्रिया सम्पन्न गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रले अब विदेशी पुनर्बिमा कम्पनीको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने बताए । ‘मर्जरसँगै कम्पनीको जोखिम धारण गर्ने क्षमता बढेको छ । फलस्वरूप अब हामीले पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्ने जोखिमको अनुपात घटाउन सक्छौँ । यसले नेपाली बिमा क्षेत्रप्रति विदेशी पुनर्बिमा कम्पनीहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनेछ,’ उनले भने, ‘अब बिमा सेवालाई अझै गुणस्तरीय बनाउँदै गाउँ–गाउँमा पुर्याउन सकिन्छ ।’
यस्तै, मर्जर प्रक्रियामा रहेको युनियन लाइफका सिइओ मनोजकुमार लाल कर्ण पनि मर्जरले बिमा क्षेत्रमा नयाँ उत्साह ल्याउने बताउँछन् । मर्जरका कारण अब कम लागतमा बढी व्यवसाय गर्न सकिने उनको भनाइ छ ।
‘मर्जपछि कम्पनीका विभिन्न सूचकको आकार बढ्दा व्यवसायसमेत बढाउन सकिन्छ । तर, त्यो अनुपातमा खर्च भने बढ्दैन,’ उनले भने, ‘त्यसले बिमितले पाउने बोनसदेखि लगानीकर्तालाई दिने प्रतिफलसमेत बढाउन सहयोग पुग्छ । किनकि, अब कम्पनीको बिमा कोषको आकार पनि बढ्नेछ । फलस्वरूप लगानी गर्ने क्षमतासमेत बढेको हुन्छ र आम्दानी पनि बढ्छ ।’ तर, त्यसअनुरूप खर्च नबढ्ने हुनाले निकट भविष्यमा बिमित तथा लगानीकर्ताले पाउने प्रतिफलसमेत बढ्ने उनको भनाइ छ ।
तर, भाँडियो प्रभु र अजोडको मर्जर
यद्यपि, यसबीचमा प्रभु र अजोड इन्स्योरेन्सको मर्जर प्रक्रिया भने भाँडिएको छ । गत असारमा उक्त दुई कम्पनीले मर्जरको सहमति गरेका थिए । तर, गत २७ पुसमा उनीहरूको मर्जर सहमति भाँडियो । त्यसपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर सहमति गरिससकेको छ । तर, प्रभुले भने मर्जरका लागि नयाँ साझेदार पाइसकेको छैन ।
यस्तो छ अरू कम्पनीको अवस्था
यद्यपि, नेपाल लाइफ, नेसनल लाइफ र नेको इन्स्योरेन्सको तोकिएको न्यूनतम पुँजी पहिले नै पुगिसकेको छ । त्यसअनुसार उनीहरूलाई मर्जरमा जान दबाब छैन । विदेशी कम्पनी मेटलाइफ नेपाल, नेसनल र दी ओरियन्टल इन्स्योरेन्सको चुक्ता पुँजी पुगेको छैन । उनीहरूले तोकिएको चुक्ता पुँजीबराबरको छुट्टै कोष बनाउँदै छन् । यीबाहेक सिटिजन लाइफ, सन नेपाल लाइफ, एसियन लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ, एनएलजी, नेपाल र प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी बढाउने मामलामा ठोस निर्णय गरिसकेका छैनन् ।
मर्जरले सिनर्जी ल्याउँछ : सूर्यप्रसाद सिलवाल, अध्यक्ष, नेपाल बिमा प्राधिकरण
कम्पनीको संख्या घटेसँगै अस्वस्थ प्रतिस्पर्धा निरुत्साहन हुन्छ । चुक्ता पुँजी बढी हुँदा कम्पनीलाई व्यवसाय बढाउन पनि सजिलो हुुन्छ । बिमा क्षेत्रमा इनोभेटिभ काम गर्नसमेत पुँजी अभाव हुँदैन । प्रविधिमा लगानी बढाउन सकिन्छ । यसले बिमा क्षेत्रमा सिजर्नी ल्याउँछ ।
विदेशी पुनर्बिमा सकारात्मक हुन्छन् : चंकी क्षेत्री, सिइओ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स
मर्जरसँगै कम्पनीको जोखिम धारण गर्ने क्षमता बढ्दै छ । अब हामीले पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्ने जोखिमको अनुपात घट्छ । त्यसपछि विदेशी पुनर्बिमा कम्पनीहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउँछ । नेपालप्रति उनीहरूको विश्वास बढ्छ ।
बिमितले पाउने बोनस बढ्छ : मनोजकुमार लाल कर्ण सिइओ, युनियन लाइफ इन्स्योरेन्स
मर्जरपछि कम्पनीको बिमा कोषसमेत बढ्नेछ । त्यसपछि कम्पनीको लगानी गर्ने क्षमतासमेत बढेको हुन्छ र आम्दानी पनि बढ्छ, तर खर्च भने त्यो अनुपातमा बढ्दैन । त्यसपछि बिमित र लगानीकर्ताले पाउने प्रतिफल भने बढ्नेछ ।