मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ चैत ४ शनिबार ०७:०६:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कहिले बन्ला सुविधासम्पन्न क्रिकेट रंगशाला ?

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ चैत ४ शनिबार ०७:०६:००

खेलाडीले निरन्तर उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले अहिलेसम्म सुविधासम्पन्न क्रिकेट रंगशालासमेत बनाउन सकेको छैन । नेपालपछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तान अहिले टेस्ट राष्ट्र बनिसकेको छ । अफगानिस्तानको सफलतामा भौतिक पूर्वाधारको विकासलाई मुख्य मानिन्छ । 

आइसिसी विश्वकप लिग– २ मा नेपाल र युएईबीचको खेल हेर्दै घरेलु समर्थक । फाइल तस्बिर

सयौँ दर्शक रूखमा र मैदानबाहिर हजारौँ दर्शक घन्टौँ उभिएर बिहीबार नेपाल र युएईबीचको रोमाञ्चक प्रतिस्पर्धा खेल हेरे । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुविधासम्पन्न नहुँदा ती दर्शक रहरले नभएर बाध्यतावश यस्तो अवस्थामा खेल हेर्न बाध्य भएका थिए । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त त्रिवि क्रिकेट मैदानमा प्यारपिट नहुँदा दर्शक भिरालो घाँसेमैदानमा वर्षौँदेखि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा नेपालको समर्थन गर्दै आइरहेका छन् । त्रिवि मैदानमा हुने हरेक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हजारौँ दर्शक ओइरिने गर्छन् । 

निकायले मैदानको स्तरीयकरणबाहेक अन्य भौतिक पूर्वाधारपक्षतर्फ ध्यान दिएको देखिँदैन । फेरि, नेपाली क्रिकेट टोली आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगिसकेको छ । ग्लोबल छनोट एक स्तरमाथिको खेल हो । जहाँ नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ । जिम्बावेमा हुने छनोट खेलमा नेपालले माथिल्लो स्तरको प्रदर्शन गर्न खेलाडीले आधुनिक सुविधाअनुसार प्रशिक्षण पाउनुपर्छ । नेपालले चार वर्षको एकदिवसीय मान्यता रक्षा गरिसकेको छ । यो चार वर्षको अवधिमा नेपाल क्रिकेट संघ (क्यान)ले सम्भवतः विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ । जबसम्म भौतिक पूर्वाधार विकास हुँदैन, त्यसवेलासम्म क्रिकेटको विकास मान्न सकिँदैन । भौतिक पूर्वाधारकै कारण नेपालभन्दा धेरैपछि क्रिकेट खेल्न थालेका राष्ट्रहरू आज नेपालभन्दा माथिल्लो स्तरमा पुगेका छन् । 

उदाहरणका लागि अफगानिस्तानलाई लिन सकिन्छ । सन् २००१ ताका नेपाली टोली एसोसिएट राष्ट्रमध्ये बलियो थियो । सन् १९९६ मै नेपाल आइसिसीको सदस्य बनिसकेको थियो । त्यसवेला अफगानिस्तानमा क्रिकेटको जग नै बसेको थिएन । पछि अफगानिस्तान क्रिकेट बोर्डले खेलाडीलाई सुविधासम्पन्न गराउनुका साथै अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधार निर्माण गर्‍यो । आज अफगानिस्तान टेस्ट मान्यताप्राप्त राष्ट्र बनिसकेको छ । नेपालका पूर्वकप्तान विनोद दासले वर्तमान पूर्वाधारले क्रिकेट विकास गर्न नसकिने बताउँछन् । ‘राम्रो गर्दा सबै राम्रो देखिन्छ, तर हाम्रो पूर्वाधार उही छ,’ पूर्वकप्तान दासले नयाँ पत्रिकासँग भने, ‘त्रिविको खेलमैदानले कति धान्ने हो, सरकारले लगानी लगाउने वेला भएको छ ।’

डे–नाइट खेलमा समस्या आउने
आइसिसीले एकदिवसीय विश्वकप ग्लोबल छनोटका क्रममा केही खेल डे–नाइट (दिवा–रात्रि) पनि गराउन सक्छ । आइसिसीले यस्तो खेलतालिका निकाल्दा नेपाललाई समस्या पर्न सक्छ । नेपालमा डे नाइट खेल सञ्चालन गराउन फ्लड लाइट सुविधाको मैदान नै छैन । यही फ्लड लाइट नभएका कारण नै नेपाल र युएईबीच ब्याड लाइटमै खेलाइयो । ब्याड लाइटकै कारण खेल रोकियो । यदि त्रिवि खेल मैदानमा फ्लड लाइट व्यवस्था हुँदा यस्तो समस्या आउने थिएन । 

फ्लड लाइट नहुँदा नेपालले केही महŒवपूर्ण अन्तर्राष्ट्रियस्तरको सिरिज गुमाउन सक्छ । क्यानका कार्यवाहक सचिव पाठकले फ्लड लाइटको आवश्यकता महसुस गरेका छन् । ‘नेपालले विश्वकपको ढोका खोलेको छ, तर हामीलाई पूर्वाधार र फ्लड लाइटको अभाव छ,’ पाठकले भने, ‘त्यही पूरा गनुपर्ने सुरुवाती चुनौती हो ।’ नेपालले यसै वर्ष एसिसी प्रिमियर लिग आयोजना गर्दै छ । आधा दर्जन एसियन टोलीले सहभगिता जनाउने प्रतियोगिता मूलपानी र कीर्तिपुरमा हुने तय छ । मूलपानीको मैदान बनिसकेको छैन । मूलपानीको मैदान नै पूर्ण नहुँदा क्यान दबाबमा छ । ‘कीर्तिपुरमा केही समस्या छैन, तर मूलपानीमा समस्या छ । केही पूर्वाधारका काम बाँकी छन् । पिच बनाउन सुरु गरेका छौँ,’ पाठकले भने । 

क्यानलाई पूर्वाधारको अभाव
क्यानले प्रयोग गर्दै आइरहेको त्रिवि मैदान त्रिभुवन विश्वविद्यालयको मातहतमा छ । त्रिविले क्यानलाई मैदान भोकचलनको जिम्मा दिएको छ । सन् २००१ देखि नै मूलपानीको माथिल्लो र तल्लो मैदान बन्ने क्रम सुरु भएको हो । तर, दुई दशक बित्दा पनि यो मैदानले पूर्णता पाउन सकेको छैन । यस मैदानमा घरेलु प्रतियोगिता भए पनि अन्तर्राष्ट्रिय खेल आयोजना भएको छैन । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा ०७१ देखि मूलपानी मैदान निर्माण कार्य सुरु भयो । दुई वर्षभित्र सकिने योजना रहेको मैदानमा लामो समय जग्गा विवादले अल्झियो । विवाद साम्य भएको तीन वर्ष बित्नै लाग्दासमेत मैदान बनाउने कामले गति लिन सकेको छैन । काठमाडौं उपत्यकाबाहेक पोखरा, दाङ बेलझुन्डी, इटहरी र नेपालगन्ज र भैरहवामा क्रिकेट मैदान छन् । ती मैदानमा घरेलु प्रतियोगिता मात्रै हुन्छन् । यी मैदान न्यून मापदण्डसमेतका छैनन् । ‘हामीलाई पूर्वाधारकै अभाव छ । त्रिवि खेलमैदानबाहेक अन्य मैदानस्तरीय छैनन्,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने । 

घरेलु संरचनाको कमी
विश्वकप खेल्ने सपना बुनिरहेको क्यानले घरेलु प्रतियोगिताको संरचना बलियो बनाउन सकेको छैन । क्यानले वर्षमा राष्ट्रियस्तरको प्रतियोगिता नियमित आयोजना गर्न सकेको छैन । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा क्यान आफैँले घरेलु प्रतियोगिता आयोजना गरेको छैन । राखेपको सहयोगमा एकदिवसीय प्रधानमन्त्री कप आयोजना हुँदै आएको छ । यो पनि एकपटक टी–२० फम्र्याटमा भयो । यसै वर्ष क्यानले नेपाल टी–२० फ्रेन्चाइज लिग आयोजना गर्‍यो । तर, यसमा धेरै विवाद भए । नेपाल टी–२० लिगमा म्याच फिक्सिङ काण्ड बाहिर आएपछि विवाद अदालतसम्म पुग्यो । क्यान आइसिसीको निलम्बनमा रहँदा निजी कम्पनीले एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग आयोजना गरेका थिए । 

खेलाडीलाई नगददेखि मोटरसाइकलसम्म घोषणा
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीका सदस्य गुल्सन झा र हारिफ शेखलाई जनही दुई–दुई लाख दिने घोषणा गरेका छन् । मधेस प्रदेशका खेलाडी झा र शेखले विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेको यादवले बताए । यसैगरी, वीरगन्ज महानगरपालिकाले ओपनर आसिफ शेख र अलराउन्डर आरिफ शेखलाई प्रोत्साहनस्वरूप एक–एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ । 

बागमती प्रदेशले विश्वकप ग्लोबल छनोटमा पुग्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । बागमती प्रदेश सरकारले राष्ट्रिय टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गरेका हुन् । 

खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्छ : राष्ट्रपति

नेपाली टोली एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेपछि शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् । खेलाडीहरूलाई बुधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर उनले गरेका छन् । ‘नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको छ, नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको छ, यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता लागेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘नेपाली क्रिकेट खेलाडीको प्रदर्शनले मनभित्रैबाट आनन्द मिलेको छ, मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ, असाध्यै राम्रो खेल थियो ।’ 

त्रिवि रंगशालामा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खेलाडीलाई जनही तीन लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार टोलीलाई बालुवाटारमा बधाई दिँदै पुरस्कार घोषणा गरेका हुन् । विश्वकप लिग–२ कै अन्तिम खेल हेर्न प्रधानमन्त्री दाहाल त्रिवि क्रिकेट मैदानमै पुगेका थिए । ‘तपाईंहरूले प्रदर्शन गरेको खेलबाट तपाईंहरू सबै धन्यवादको हकदार बन्नुभएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘म सम्पूर्ण विजेता खेलाडीलाई नेपाल सरकारको तर्फबाट तीन–तीन लाख नगद पुरस्कार दिने घोषणा गर्छु ।’

यसैबीच, प्रधानमन्त्री दाहालले तत्काल त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण गर्न प्रयास भइरहेको बताउँदै चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई समाधान गरी अगाडि बढाउने जनाए । ‘सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ नेपाल सरकारबाट अगाडि बढाउने प्रयास भइरहेको छ । चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई पनि समाधान गरी अगाडि बढ्नेछौँ,’ उनले भने, ‘यसले पनि नेपालको क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन मद्दत पुग्छ भन्ने विश्वास लिएको छु ।’