
मकवनापुरको मनहरी गाउँपालिका– ६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा बिहीबार अपराह्न यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २०–२५ फिट तल बारीमा पल्टिँदा १४ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए।
प्रहरी निरीक्षक ढकालका अनुसार घाइते एकजनालाई उपचारका लागि हेटौँडा र १३ जनालाई भरतपुरतर्फ पठाइएको छ। २० यात्रु सवार बस दुर्घटनाका घाइते सबैजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।