१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपराष्ट्रपति निर्वाचन : यादवलाई ६ दलको समर्थन, लोसपा पनि सकारात्मक

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१८:oo

जनमत मित्रवत् प्रतिस्पर्धामा, एमाले एक्लै मैदानमा

उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसहाय यादवले ६ दलको समर्थन प्राप्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दिएका यादवलाई जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन पक्का भएको हो । जनमत पार्टीकी ममता झालाई समर्थन गरेको लोसपा पनि यादवको पक्षमा सकारात्मक देखिएको छ । जनमत पार्टी भने गठबन्धनबाटै मित्रवत् प्रतिस्पर्धामा अघि बढेको छ । 

गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि बढेका यादवले मंगलबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेर मत माग्दा सकारात्मक जवाफ पाएका छन् । लोसपा गठबन्धनको सल्लाहअनुसार अघि बढ्ने प्रतिबद्धता महतोको थियो । 

मंगलबारै यादवले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा भेटेर मत मागेका छन् । चौधरीले मत दिने वचन दिएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र अन्य शीर्ष नेतासँग संवाद गरी यादवको पक्षमा मतदान गर्ने प्रतिबद्धता चौधरीले जनाएको सांसद प्रदीप यादवले जानकारी दिए । 

उम्मेदवार यादवले सोमबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी मत मागेका थिए । तीनै शीर्ष नेताले यादव आफूहरूको साझा उम्मेदवार भएकाले मत दिएर जिताउने प्रतिबद्धता जनाएका थिए । जसपाबाट दुईवटा उम्मेदवारी परेकोमा सोमबार प्रमिला कुमारीले फिर्ता लिएपछि रामसहाय ६ दलको समर्थनमा गठबन्धनको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका छन् । यादवले नेताहरूलाई भेट्नुको अलावा मतदाताहरूलाई एसएमएस पठाउने, फोन गर्ने, पार्टीका नेता–कार्यकर्ता तथा गठबन्धनका नेतामार्फत अनुरोध गरिरहेका छन् । 

गठबन्धनभित्रकै दल जनमतले भने उम्मेदवारी फिर्ता लिएको छैन । जनमतका अध्यक्ष सिके राउतले आफूहरू मित्रवत् प्रतिस्पर्धामा जाने बताए । ‘गठबन्धनमा कुनै छलफल भएको छैन । कुनै नेगोसिएसन छैन । हामी आफ्नो पोजिसनमा यथावत् छौँ । गठबन्धनभित्रबाटै हाम्रो मित्रवत् प्रतिस्पर्धा हुन्छ,’ उनले भने । राउतले आफ्नो उम्मेदवारले सबै दलका सांसदसँग एसएमएस तथा अन्य माध्यममार्फत मत मागिरहेको र सबै चुनावी रणनीति अपनाइरहेको जानकारी दिए । 

प्रतिपक्षी एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य पनि मैदानमा छिन् । गठबन्धनबाट दुईजना उम्मेदवार प्रतिस्पर्धामा हुँदा अष्टलक्ष्मी एमालेका तर्फबाट एकल रूपमा मैदानमा छिन् । 

आजदेखि मौन अवधि 
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले मतदान कार्य सम्पन्न नहुँदासम्म प्रचारप्रसारमा निषेध हुने मौन अवधि लागू भएको जानकारी दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पाइनेछैन । 

निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको चार किल्ला तोकेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार संघीय मतदान केन्द्रका मतदान अधिकृत कृष्णशरण लामिछाने र प्रदेश सभा मतदान केन्द्रका मतदान अधिकृत मन्दिरा शाहीले चार किल्ला तोकेको र अन्य कर्मचारी खटाएका छन् । 

मतभारको अवस्था

निर्वाचन आयोगले कायम गरेको कुल ५२ हजार ६२८ मतभारमा आठदलीय गठबन्धनको ३२ हजार २६७ मत छ । रामसहायको पक्षमा खुलेका ६ दलको मतभार ३० हजार ५४ छ । बहुमत अर्थात् निर्वाचित हुन २६ हजार ३१५ मत कटाउनुपर्छ । लोसपासँग कार्यगत एकता गरेको जनमतकी उम्मेदवार ममता झाको पक्षमा दुई हजार २१३ मत छ । एमालेकी अष्टलक्ष्मी शाक्यसँग १५ हजार ३९१ मत छ । राप्रपा र रास्वपासहितको चार हजार ९७० मत छ । 

ad
ad