१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा राजदूतको टोली।
२o८१ बैशाख ३१ सोमबार १२:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परियोजना निरीक्षण गर्न इयूका राजदूतकाे टाेली सुदूरपश्चिममा   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५६:oo

नेपालस्थित युरोपियन युनियन (इयू) र उसका तीन सदस्य राष्ट्रका राजदूतको टोली विभिन्न परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम आइपुगेको छ। 

युरोपियन युनियनसहित सदस्य राष्ट्रहरूको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षणका लागि चारजना राजदूतको टोली सुदूरपश्चिम भ्रमणमा आएकाे हाे। 

नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रज, जर्मनीका राजदूत थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिलेर बुरबाओ र फिनल्यान्डका राजदूत रिना रिक्का हेइक्काको टोलीले आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालले फोहाेरमैला व्यवस्थापन कसरी गरिरहेको छ भनेर निरीक्षण गरेको छ। 

त्यस्तै, अस्पतालले महिला र बालबालिकालाई कसरी सेवा दिइरहेको छ भन्नेबारे पनि राजदूतहरूको टोलीले अस्पतालका अधिकारीहरूसँग छलफल गरेको छ।

सेतीमा फोहाेरमैला वर्गीकरण गरेर व्यवस्थापनका लागि जर्मन सहयोगअन्तर्गत जिआइजेडले सहयोग गर्दै आएको छ। त्यस्तै, सरकारले दातृ निकायसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण सहयोग परियोजनामार्फत महिला र बालबालिकालाई पोषणमा सहयोग गर्दै आएको छ।  

राजदूतको टोलीले विपत् व्यवस्थापनमा नागरिकलाई कसरी सहयोग भइरहेको छ भनेर धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग समेत छलफल गरेको छ। इयूले इको परियोजनामार्फत यहाँको विपत् व्यवस्थापनमा सहयोग गरिरहेको छ। 

भ्रमणका क्रममा राजदूतको टोलीले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरूको सहयोग र साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरूको अवलोकन गर्ने युरोपेली युनियनको नेपालस्थित कार्यालयका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले जानकारी दिए। ती सहयोग र परियोजनाबारे सम्बन्धित पालिकाका प्रमुखलगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको उनले बताए। 

राजदूतहरूको टोलीले आज डडेल्धुरामा डडेल्धुरा अस्पतालको फोहाेरमैला व्यवस्थापन, फिनल्यान्डको सहयोगमा सञ्चालन भइरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तथा मुक्त हलियाको पुनर्स्थापना, जीविकोपार्जन कार्यक्रमको निरीक्षण र यसबारे सरोकारवालासँग छलफल गर्ने हमालले जानकारी दिए। 

खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि फिनल्यान्ड सरकारको सहयोगमा यहाँका विभिन्न जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालनमा छ। 

सुदूरपश्चिममा मुक्त हलियाको पुनर्स्थापना, उनीहरूको जीविकोपार्जन तथा सशक्तीकरणमा समेत फिनल्यान्डले सहयोग गर्दै आएको छ। जिआइजेडको सहयोगमा सुदूरपश्चिममा सञ्चालन भइरहेको जलवायु संवेदनशील कृषि कार्यक्रमको पनि अवलोकन गरिने इयूका वरिष्ठ कार्यक्रम व्यवस्थापक हमालले जानकारी दिए।

टोलीले डोटीमा प्रादेशिक तालिम केन्द्रको निरीक्षणसँगै दीपायल–सिलगढी नगरपालिकाका मेयरसँग छलफल गर्नेछ। डोटी र डडेल्धुरामा विभिन्न परियोजनाको निरीक्षणपछि धनगढी पुगेर राजदूतहरूको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग सुदूरपश्चिमको विकास र यहाँ सञ्चालित योजनाबारे छलफल गर्ने कार्यक्रम छ।

 

ad
ad