मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण ३० मंगलबार १२:०८:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

साप्सुखोला-विजयखर्क लिफ्टिङ खानेपानी आयोजना : ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण

Read Time : > 3 मिनेट
२०७९ फाल्गुण ३० मंगलबार १२:०८:००

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको देखिएको छ। 

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयको रु. २९ करोड १३ लाख ९९ हजार नाै सय ९० लगानीमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. बुढानीलकण्ठ– ८ काठमाडौं र उपभोक्ता समितिको चरम लापरबाही देखिएको हो। 

०७९ असार २२ गते सम्झौता गरेर निर्माणको काम सुरु गरिएको उक्त लिफ्टिङ खानेपानी आयोजनामा अहिले मेनलाइनको ट्यांकी निर्माण र वितरण लाइनको पाइपलाइनका कामहरू धमाधम भइरहेका छन्। 

निर्माणाधीन अवस्थाका ट्यांकीहरू सम्पन्न नभई चर्किएका छन् भने पाइपलाइनको कामसमेत मापदण्डविपरीत भएको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाले गरेको निरीक्षणमा देखिएको छ। 

स्वास्थ्यचौकीडाँडामा निर्माणाधीन मेनलाइनको २० हजार लिटर क्षमताको ट्यांकी सम्पन्न नहुँदै भत्किन थालेको छ भने सोही डाँडाभन्दा मुनि निर्माणाधीन ट्यांकी बा‌ंगाे देखिएको छ। ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले समस्या देखिएको स्थानीय कमला ढकालले बताइन्। 

वितरण लाइनको पाइप तीन फिट गहिराइको खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि दुई फिट मात्रै खनेर पुरेको पाइएको छ। दुई वर्षभित्र (४ साउन ०८१) पूरा गर्नुपर्ने उक्त लिफ्टिङ खानेपानी आयोजना पाँच सय २३ घरधुरी उपभोक्ताका लागि लक्षित गरेर निर्माणको काम सुरु गरिएको हो। 

निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी र उपभोक्ता समितिका पदाधिकारीले बढी नाफा कमाउने उद्देश्यले लापरबाही गरेको स्थानीय युवराज कार्कीले बताए। ‘खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दादेखि अनियमितता भएको छ। खानेपानीजस्तो संवेदनशील आयोजनाको काममा राजनीतीकरण भएको छ,’ उनले भने, ‘समिति गठन जसरी गरिए पनि आयोजनाको काम राम्रो ढंगले सञ्चालन गरेको भए हुन्थ्यो ! समितिका पदाधिकारीहरू ठेकेदारसँगै मिलेर उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने काम भएको छ। यसप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ।’ 

आयोजना सञ्चालनका लागि नेपाली कांग्रेसबाट निर्वाचित विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवालले बहुमत कांग्रेसका कार्यकर्ता राखेर समिति गठन गरेको स्थानीय अन्य राजनीतिक दलका प्रतिनिधिहरूले आरोप लगाएका छन्।

नौ सदस्यीय उपभोक्ता समितिको अध्यक्षमा नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संगठन ‘सेन्टर फर डेमोक्रटिक इन्जिनियरर्स नेपाल (सिडेन)’का पूर्वकेन्द्रीय सदस्य सरोज राई हुन्।   

खानेपानी आयोजनामा उपभोक्ता समितिका अध्यक्ष सरोज राईले आफूखुसी काम गर्ने गरेको सचिव मनोज राईले बताए। 

‘खानेपानी आयोजना उपभोक्ता समितिको बैठक भनेर बोलाइएको बैठकमा कांग्रेसका कार्यकर्ताहरू सहभागी हुन्थे । बैठकमा हामीले राखेको कुरा लागू हुँदैनथ्यो,’ उनले भने, ‘विजयखर्कमा गौरवको खानेपानी आयोजना सञ्चालन हुनु खुसीको कुरा हो । तर, अध्यक्षले एकलौटी ढ‌ंगबाट काम गर्न थालेपछि अहिले निष्क्रिय बसेको छु । यसको विषयमा म जवाफदेही हुनेछैन।’  

निर्माणाधीन अवस्थामै गुणस्तरहीन र विवादित खानेपानी आयोजनाको काम आमउपभोक्तासँग समन्वय नगरी एकलौटी ढंगबाट अगाडि बढाइए आन्दोलन सुरु गर्ने स्थानीय नरेन्द्र ढकालले बताए। ‘गुणस्तरहीन काम भएपछि सुरुवाती चरणमै हामीले खबरदारी गरेका थियौँ। सुनुवाइ भएन,’ उनले भने, ‘गुणस्तरहीन काम भएको विषयमा खबरदारी गरिदिन तीन सय १३ जनाको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझायौँ। तर, अहिलेसम्म कुनै कारबाही भएको छैन। यही अवस्थामा काम हुने हो भने विजयखर्कवासीले खानेपानी उपभोग गर्न पाउने अवस्था छैन।’

लिफ्टिङ खानेपानी आयोजनाको स्वास्थ्यचौकीडाँडामा निर्माणाधीन ट्यांकी गुणस्तरहीन भएको गुनासो आएपछि दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईलगायतको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ।

नगरपालिकाका प्राविधिकसहितको टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा गुणस्तरहीन भएको पाइएपछि उक्त ट्यांकी भत्काएर पुनः अर्को बनाउन तथा बाँकी काम गुणस्तरीय गर्न नगर प्रमुख भट्टराईले ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका छन्। 

ट्रिटमेन्ट प्लान्टसहित मेनलाइनको ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इन्जिनियर सञ्जीव साहले जानकारी दिए। ‘स्वास्थ्यचौकीडाँडाभन्दा माथिको २० हजार लिटरको एउटा ट्यांकीमा समस्या देखिएको छ । त्यो भत्काएर अर्को निर्माण गर्ने तयारी गरिएको छ,’ निर्माणस्थलमा पुगेका टोलीसँग उनले भने, ‘निर्माणाधीन अवस्थामा रहेका बाँकी पाँचवटा ट्यांकी र पाइपलाइनको काम मापदण्डअनुसार नै निर्माण गरेका छौँ । त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन।’

साप्सुखोलामा एक लाख लिटर, फूलमतीमा २० हजार, जुरेथुम्का २० हजार, बागेढुंगा २०, स्वास्थ्यचौकीडाँडामा २० र सहदेवगढीमा ५० हजार लिटरको ट्यांकी निर्माणको काम भइरहेको पाइएको छ। ट्यांकीसँगै गार्ड हाउस (सुरक्षाकर्मी बस्ने गृह)समेत निर्माणको काम भइरहेको इन्जिनियर साहले बताएका छन्।  

एक हजार सात सय मिटर तलबाट लिफ्टिङ गरेर निकालिने उक्त खानेपानी आयोजनाको वितरण लाइनमा पाँचवटा ट्यांकी निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। वितरण लाइनमा २० हजार लिटरको दुई, १४ हजार, १२ हजार र दश हजार लिटरको एक–एकवटा ट्यांकी निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पुर्‍याउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छ। 

लिफ्टिङ खानेपानी आयोजनाको काममा गुणस्तर कायम गराउन आफूहरू निरन्तर लागिपरेको उपभोक्ता समितिका अध्यक्ष राईले बताए। ‘आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । काम गर्नेक्रममा केही ठाउँमा खराबी आउनु स्वाभाविक हो।

बिग्रिएको ठाउँमा सच्याउँदै जानुपर्छ,’ उनले भने, ‘गुणस्तरका विषयमा कसैसँग सम्झौता हुँदैन । म आफू पनि इन्जिनियरिङ विषयको विद्यार्थी हुँ । केही व्यक्तिले खुला आँखाले हेरेर विरोधका लागि विरोध सुरु गरेका छन् । गुणस्तरका विषयमा उपभोक्ता समिति सजग छ र समयमै काम सम्पन्न हुन्छ।’

निर्माणाधीन लिफ्टिङ खानेपानीको आयोजनामा ३३ प्रतिशत भौतिक प्रगति भएको उपभोक्ता समितिले जनाएको छ । यस वर्ष भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न गरेर अर्को वर्ष सञ्चालनमा ल्याउने गरी तीव्रता दिइएको अध्यक्ष राईको भनाइ छ। 

साप्सुखोलाबाट लिफ्ट गर्दै निकालिने खानेपानी आयोजनामा सार्वजनिक स्थलसहित सात सय २५ वटा धारा बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। निर्माणाधीन अवस्थामै विवादमा आएको उक्त खानेपानी आयोजना कहिले सञ्चालनमा आउँछ भन्नेमा यकिन छैन। 

उता, उक्त आयोजनाको कार्यालय भवनसमेत व्यक्तिको जग्गामा निर्माण सुरु गरिएको पाइएको छ। वडा कार्यालयको जग्गामा कार्यालय भवन निर्माण गर्ने पूर्वसहमति भए पनि उपभोक्ता समितिका अध्यक्ष राईले स्थानीय गोविन्द पोखरेलको व्यक्तिगत जग्गामा लगेर निर्माण सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

करिब रु. एक करोड लगानीमा सम्पन्न हुने कार्यालय भवन बारीको डिल तथा जंगलको छेउमा निर्माणाधीन छ। सबैको पायक पर्ने ठाउँमा हुने गरी कार्यालय भवन निर्माणको काम सुरु गरिएको अध्यक्ष राईले दाबी गरेका छन्।