१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–बंगलादेश सम्बन्धका ५० वर्ष : द्विपक्षीय व्यापार बढाउनुपर्नेमा परराष्ट्रमन्त्री र विज्ञको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार ०७:०५:००

बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनले नेपाल र बंगलादेशबीच सूचना–प्रविधि, व्यापारलगायत आर्थिक साझेदारी सुदृढ गर्न सहकार्यका नयाँ उपाय खोज्नुपर्ने बताएका छन् । तीन वर्षपछि अति कम विकसित मुलुकबाट विकासशील मुलुकको श्रेणीमा स्तरोन्नति हुन लागेका नेपाल र बंगलादेशबीचको सहकार्य दक्षिण एसियाकै हितका लागि उपयोगी हुने उनको भनाइ थियो । 

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षको पूर्वसन्ध्यामा नेपाली दूतावास, बंगलादेशको परराष्ट्र मन्त्रालय र बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिज (बिआइएसएस)द्वारा ढाकामा आयोजित कार्यक्रममा विदेशमन्त्री मोमेनले सूचना–प्रविधिमा नेपालसँग तत्कालै सहकार्य गर्न तयार रहेको बताए । बंगलादेश स्वतन्त्र भएको एक वर्षपछि दुई देशबीच २६ चैत ०२८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तानबाट अलग भएको बंगलादेशलाई स्वतन्त्र मुलुकका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक हो ।

‘हामीले अनुभव र उत्कृष्ट अभ्यासहरू एक–अर्कासँग साझा गर्नु यसवेला महत्वपूर्ण छ । यो क्षेत्रको साझा विकास र समुन्नति आवश्यक छ । एउटा देश मात्रै समुन्नत भएर क्षेत्रीय समुन्नति हासिल हुन सक्दैन,’ विदेशमन्त्री मोमेनले भने । सन् २०२१ मा बंगलादेश स्वतन्त्रताका अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको ढाका भ्रमण स्मरण गर्दै उनले बिबिआइएनजस्तो उपक्षेत्रीय फोरम तथा सार्क र बिमस्टेकबाट पनि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

हाल बंगलादेशको अर्थतन्त्र चार सय ६५ अर्ब अमेरिकी डलर रहेको तथा नेपाल–बंगलादेश व्यापार ११ करोड डलर मात्रै भएको तथ्यांक प्रस्तुत गरेका उनले द्विपक्षीय व्यापार कम्तीमा पनि ६ गुणा बढाउनुपर्ने बताए । ‘हामीबीच सहकार्यको पुरानो मनस्थिति परिवर्तन गर्नुपर्छ,’ उनले भने । 

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पाँच दशकमा नेपाल–बंगलादेश सम्बन्ध समस्यारहित छिमेकीको भावनामा विकसित भएको बताउँदै दुई देशबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउन थप सहकार्यमा जोड दिए । बंगलादेशमा तीन हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा बंगलादेश र नेपाल क्रमशः विश्वकै सबैभन्दा धेरै सैनिक पठाउने पहिलो र दोस्रो मुलुक रहेको उनले स्मरण गरे । 

दुई देशबीच द्विपक्षीय व्यापार बढाउनुपर्ने उल्लेख गर्दै राजदूत भण्डारीले ऊर्जा व्यापारमा हुन सक्ने सहकार्य यो क्षेत्रकै लागि नमुना हुने पनि बताए । हाल काठमाडौं र ढाकाबीच दुईवटा जहाजले सातामा ११ उडान भर्ने गरेको र गत वर्ष नेपालमा बंगलादेशबाट २५ हजार बंगलादेशी पर्यटक आएको भन्दै यो अझै बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच ठूलो स्तरमा यात्रुहरू ओहोरदोहोर गर्ने वातावरण बनाऊँ, यदि उपक्षेत्रीय स्तरमा मोटर कार्गो मुभमेन्ट हुन नसक्ने हो भने यो सही उपाय हो,’ राजदूत भण्डारीले भने । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा एकीकृत विकास अध्ययन संस्थान (आइआइडिएस)का अध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाल र बंगलादेशबीच उपक्षेत्रीय व्यापार र आर्थिक साझेदारी, स्वच्छ ऊर्जा, जलवायु परिवर्तन र क्षेत्रीय साझा क्षेत्रमा सहकार्य अभिवृद्धि हुनुपर्ने बताए । 

बंगलादेशका विदेश सेवा प्रतिष्ठानका रेक्टर तथा नेपालका लागि पूर्वराजदूत मस्फी बिन्ते साम्सले व्यापार, कनेक्टिभिटी, विकासशील मुलुकमा स्तरोन्नति, जलवायु परिवर्तन, क्षेत्रीय र उपक्षेत्रीय एकीकरणलगायतका विषयमा सहकार्यका क्षेत्र पहिल्याउनुपर्ने बताए । कार्यक्रममा कूटनीतिज्ञ, विज्ञ, अधिकारी, शिक्षाविद्लगायत सयभन्दा बढी सहभागी रहेको नेपाली दूतावासले जनाएको छ ।