मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Wednesday, 18 December, 2024
मल बनाउन कुहिने फोहोरमा केमिकल छर्कंदै महानगरका कर्मचारी ।
शिवहरि घिमिरे काठमाडाैं
२o७९ फाल्गुण २८ आइतबार o८:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले सुरु गर्‍यो फोहोरबाट कम्पोस्ट मल उत्पादन

प्रभावकारी देखिए प्रतिकिलो दुई रुपैयाँमा बिक्री गरिने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार o८:२o:oo

काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन सुरु गरेको छ । टेकुस्थित वातावरण परिसरमा दुई साताअघिदेखि कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो । फोहोरबाट मल बनाउन चितवनको भरतपुर र मध्यपुर थिमीमा रहेको सफा ऊर्जा प्रालि कम्पनीले महानगरलाई प्राविधिक सहायता प्रदान गरेका छन् । हाल यही प्राविधिक कम्पनीसँगको सहकार्यमा भक्तपुर नगरपालिका र भरतपुर महानगरले कुहिने फोहोरलाई मल बनाउँदै आएका छन् । हट कम्पोस्टिङ प्रविधिबाट फोहोरलाई एकदेखि तीन महिनासम्म कम्पोस्ट मल बनाउन सकिने भएपछि काठमाडौं महानगरले पनि सोही प्रविधि अपनाउन लागेको हो । 

महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार दुईवटा प्याकेजअन्तर्गत कम्पोस्ट मल तयार गर्न लागिएको छ । नमुनाका लागि टेकुमा कुहिने फोहोर थुपारेर र दुई हजार लिटरको ट्यांकीमा फोहोर भरेर मल बनाउन लागिएको छ । परीक्षणपछि महानगरका ३२, १७, ३१, १०, ८, ७ लगायत आठवटा वडामा पनि कम्पोस्ट मल बनाउने तयारी महानगरको छ । विभिन्न केमिकलको प्रयोगमा एकदेखि तीन महिनाको अवधिमा कम्पोस्ट मल तयार हुन्छ । मल तयार भइसकेपछि पहिलो चरणमा विभिन्न कृषक तथा कृषि फार्महरूलाई निःशुल्क वितरण गरिनेछ । 

परीक्षण भइसकेपछि प्रतिकिलो दुई रुपैयाँका दरले कम्पोस्ट मल बिक्री–वितरण गरिनेछ । ‘भरतपुर, भक्तपुर र ललितपुरले फोहोरबाट मल बनाउने काम थालिसकेका छन्, हामीले पनि १५ दिनअघिदेखि यो काम सुरु गरेका छौँ,’ वातावरण विभाग प्रमुख श्रेष्ठले भने, ‘दुईवटा निजी कम्पनीको सहायतामा हामीले फोहोरलाई कम्पोस्ट मल बनाउन थालेका हौँ ।’

श्रेष्ठका अनुसार परीक्षणपछि मात्रै फोहोरबाट मल बनाउने प्रविधिको प्रभावकारिताबारे थाहा हुनेछ । भरतपुर महानगर र भक्तपुर नगरपालिकाले पाँच वर्षअघिदेखि नै यही प्रविधिबाट मल बनाउन थालिसकेका छन् । भक्तपुरले हाल प्रतिकिलो चार रुपैयाँका दरले किसानलाई कम्पोस्ट मल बिक्री गर्दै आएको छ । यसरी बनाइएको मल प्रभावकारी हुने भएकाले भक्तपुरले कुहिने फोहोर डम्पिङ साइटमा फाल्न कम गरेको छ ।

काठमाडौं महानगरले दैनिक १२ टन फोहोर कम्पोस्ट मल बनाउन प्रयोग गर्दै आएको छ । तीन महिनापछि यसको प्रभावकारिता हेरेर मात्रा बढाइनेछ । कम्पोस्ट मल बनाउन आवश्यक उपकरण पनि खरिद गरिनेछ । हाल काठमाडौं उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । उपत्यकामा थोरै फोहोर मात्रै कम्पोस्ट मल बनाउन प्रयोग गरे पनि अधिकांश फोहोरको व्यवस्थापन बन्चरेडाँडा नै हो । हाल सहरी विकास मन्त्रालयले उपत्यकाको फोहोर ४० वर्षसम्म डम्पिङ गर्न मिल्ने गरी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार गरे पनि काठमाडौं महानगरपालिकाले भने यसको पनि विकल्प खोजेको हो । महानगरले उपत्यकाको फोहोरबाट मल उत्पादन गर्ने लक्ष्यसहित सम्भावित ठाउँ पनि खोजिरहेको छ । 

 कम्पोस्ट बिन वितरण टेन्डर आह्वान 
काठमाडौं महानगरले कुहिने फोहोरलाई घरघरमै व्यवस्थापन गर्न तथा मल बनाउन कम्पोस्ट बिन वितरण गर्न टेन्डर आह्वान गरेको छ । करिब २० हजारभन्दा बढी कम्पोस्ट बिन खरिदका लागि टेन्डर आह्वान गरिएको हो । बजारमा करिब तीन हजार रुपैयाँ पर्ने कम्पोस्ट बिनलाई महानगरले एक हजार पाँच सय रुपैयाँमा उपलब्ध गराउनेछ । आगामी वैशाखसम्म कम्पोस्ट बिन वितरण सुरु गरिसकिने महानगरपालिका वातावरण विभागले जनाएको छ । वातावरण विभागका प्रमुख श्रेष्ठका अनुसार कम्पोस्ट बिनका लागि यो वर्ष एक करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, अर्को वर्ष पनि कम्पोस्ट बिनका लागि बजेट विनियोजन गरिनेछ । विभिन्न चरणमा वडा–वडाबाट कम्पोस्ट बिन भाँडो वितरण हुनेछ । 

 दाताले दिएको ‘बायो ग्यास प्लान्ट’ अलपत्र 
काठमाडौं महानगरमा फोहोर उत्पादन बढ्दै जान सक्ने अवस्था मध्यनजरमा राख्दै ०७१ मा दाताको सहयोगमा ल्याएको ‘बायो ग्यास प्लान्ट’ थन्किएको छ । महानगरको बेवास्ताले नौ वर्षअघि एक करोड ८६ लाख मूल्यमा खरिद गरिएको सो प्लान्ट अलपत्र छ । वातावरण विभागपरिसर टेकुमा थन्किएको उक्त प्लान्ट बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिए पनि हालसम्म बन्न सकेको छैन ।

प्लान्टको पार्टपुर्जा र इन्जिनमा खिया लागेको छ । यो प्लान्टमा फोहोर राखी बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिन्छ । तर, सहरभित्रको अधिकांश फोहोरलाई बिजुली निकाल्न प्रयोग गर्न सकिने योजनासहित ल्याइएको उक्त प्लान्ट अलपत्र छ । ०७१ मा युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यहोर्ने गरी एक करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो ।