१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १५:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनसँग जोडिएको तिंकर नाका खोल्न व्याँसवासीको माग

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १५:५४:००

चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्याँसवासीले तिंकर नाका खोल्न माग गरेका छन् । कोरोना भाइरस देखिएसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिंकर नाका बन्द छ ।

नाका बन्द हुँदा चीनसँग हुँदै आएको व्यापारमा घाटा भएको भन्दै व्याँस गाउँपालिकाले नाका खुलाउन माग गरेको छ । चीनको ताक्लाकोटमा व्यापार सञ्चालन गर्दै आएका व्याँसीहरूले तीन वर्षदेखि यो क्षेत्रमा व्यापार गर्न पाएका छैनन् । झन्डै तीन दर्जनभन्दा बढी व्यापारी मर्कामा परेको भन्दै गाउँपालिकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत नाका खुलाउन सरकारसँग माग गरेको हो ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले चीनसँग परम्परागत व्यापार गर्दै आएका छाङरु र तिंकरका स्थानीय नाका नखुल्दा समस्यामा परेको बताए । उनले भने, ‘यहाँका स्थानीयको मुख्य पेसा चीनसँगको व्यापार हो । ताक्लाकोटमा अधिकांशको पसल छ । तर, तीन वर्षदेखि पसलमा ताला लागेको छ ।’

चीनसँग जोडिएका नेपालको हिल्सा, रसुवागढीलगायतका नाका खुले पनि तिंकर नाका खुलेको छैन । यहाँका नागरिकको जीविकोपार्जनसँग जोडिएको मुख्य नाका बन्द हुँदा समस्या भएको व्याँस गाउँपालिका– १ का स्थानीय योगेश बोहराले बताए । चीनबाट सामान ल्याएर भारत तथा दार्चुलाका विभिन्न ठाउँमा व्यापार हुँदै आएकोमा तीन वर्षदेखि ठप्प छ । विगतमा सहज रूपमा यो नाकाबाट स्थानीयले आवातजावत गर्दै आएका थिए ।

‘चीनले नेपाल–चीन जोड्ने एक नम्बर सीमा पिलरनजिकै सडक पुर्‍याएको छ । सडकबाट व्याँसीहरूले घोडा–खच्चडको प्रयोग गरेर समान ओसारपसार गर्ने गरेका थिए । नाका नखुल्दा व्याँसीहरूको व्यापार–व्यवसाय ठप्पजस्तै छ,’ स्थानीय बोहराले भने ।

व्याँस– १ छाङरुका जितसिंह बोहरा चीनबाट सामान आयात गर्न नसकेकै कारण अहिले काठमाडौंबाट ल्याएर भारतमा हुने मेला महोत्सवमा बिक्री गर्नुपरेको बताउँछन् । ‘विगतमा चीनबाट अलि सस्तो मूल्यमा सामान आयात हुन्थ्यो,’ उनले भने, ‘अहिले काठमाडाैं गएर ल्याउँदा फाइदा केही छैन ।’