१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Friday, 09 May, 2025
फ्रन्ट पेज प्रिन्ट संस्करण

जातीय विभेद गर्ने गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिई कारबाही गर्न आयोगको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार o६:o८:oo

राष्ट्रिय दलित आयोगले जातीय विभेद गर्ने सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेको छ । अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३औँ दिनको पुन्यतिथिमा आयोजना गरेको भोजमा दलित, गैरदलित र मुस्लिमलाई प्लेकार्ड नै टाँसेर खाना खाने स्थान छुट्याएको खबर नयाँ पत्रिकाले सार्वजनिक गरेपछि आयोगका अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका हुन् । बिहीबारको नयाँ पत्रिकामा ‘भोजमा करिब पाँच हजार निम्तालु बोलाएर गाउँपालिका अध्यक्षले नै गरे जातीय विभेद’ शीर्षकमा समाचार प्रकाशित थियो ।

उग्रनारायण यादव अध्यक्ष, भगवानपुर गाउँपालिका

आयोगका अध्यक्ष विश्वकर्माले कानुनको उल्लंघन जोसुकैले गरेको भए पनि दण्डनीय हुने बताए । गाउँपालिका अध्यक्षजस्तो सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान र प्रचलित ऐन–कानुनको उल्लंघन हुने गरी शोषण–उत्पीडनमा पारिएका समुदायलाई घोषित रूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर दलित समुदायलाई छुट्टै भोज खुवाउने कार्यको निन्दा हुने उनले बताए ।

‘अतः गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारको ध्यानाकषर्ण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ । एमाले सिराहा सचिवसमेत रहेका यादवले इनर्वा परौलस्थित आफ्नो घरमा २२ फागुनमा भोज दिएका थिए । 

राष्ट्रिय दलित नेटवर्कले पनि गाउँपालिका अध्यक्षले नै जातीय विभेद गरेको भन्दै आपत्ति जनाएको छ । महासचिव मोहन ओडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानुनलाई ठाडो चुनौती दिने गरी जिम्मेवार पार्टी नेताहरू तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू उपस्थित भएको स्थानमा जातीय छुवाछुतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएको यस घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ घटनाको तत्काल सत्थतथ्य छानबिन गरी घटनामा संलग्न गाउँपालिका अध्यक्ष यादवलगायतलाई कारबाही गर्न पनि नेटवर्कले माग गरेको छ । भोजमा गैरदलित, दलित तथा मुस्लिम समुदायलाई प्लेकार्ड टाँगेरै अलग–अलग राखेर जातीय विभेद गरेको भन्दै एमालेकै नेताहरूले विरोध गरेका छन् । 

सिराहाका सिडिओ र एसपी पनि पुगेका थिए भोजमा 
जातीय विभेदलाई मलजल गर्ने गरी आयोजना गरिएको भोजमा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बू पनि पुगेको पाइएको छ । एसपी लिम्बूले प्रमुख जिल्ला अधिकारीसहित आफू पनि भोजमा पुगेको, तर भोज नखाई फर्किएको जिकिर गरे । ‘मृतकको परिवारलाई भेटेर समवेदना प्रकट गर्न साँझ मात्र पुग्यौँ,’ लिम्बूले भने, ‘सयौँको संख्यामा खाइरहेको भोजमा सरिक नभएकाले ब्यानर राखेको देखेनौँ ।’ ब्यानर राखेरै जातीय समुदायलाई अलग–अलग राखेर खुवाइएको विषयमा समाचारमा पढेपछि मात्र आफूले थाहा पाएको उनको दाबी छ । भोजमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ, मधेस सरकारका गृहमन्त्री शत्रुधनप्रसाद सिंह, सिराहा १ का सांसद रामशंकर यादव र समानुपातिक सांसद सम्झना थपलियालगायत पुगेका थिए । गाउँपालिका अध्यक्ष यादवले भने अगुवाको सामाजिक दबाबका कारण सबै जातीय समुदायलाई एकै ठाउँमा बसाएर भोज खुवाउन नसकेको बताउँदै आएका छन् ।