
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षता र अभिभावकीय भूमिकाको परिकल्पना गर्न नसकिने बताएका छन्। राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले निष्पक्ष र अविभावकीय भूमिका निर्वाह हुने परिकल्पना गर्न नसकिने उनको तर्क छ।
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ। बैठकपछि लिङ्देनले यस्तो बताएका हुन्।
‘अहिले उम्मेदवार बन्नु भएका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहनुभएको, दुवैजना भर्खरै एक/एकवटा राजनीतिक पार्टीबाट प्रतिनिधिसभाको निर्वाचित हुनुभएको व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूबाट अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौँ,’ उनले भने।
आठदलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको दौडमा छन्।