Skip This
वस्तु र सेवाको व्यापारमा नेपाललाई १५ खर्ब नोक्सान हुने अनुमान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३० मंगलबार १o:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वस्तु र सेवाको व्यापारमा नेपाललाई १५ खर्ब नोक्सान हुने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १o:१८:oo

चालू आर्थिक वर्ष ०८१/८२ मा नेपाललाई वस्तु तथा सेवाको व्यापारमा झन्डै १५ खर्ब नोक्सान हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आवमा नेपालले कुल व्यापारमा १४ खर्ब ९५ अर्ब रुपैयाँ नोक्सान व्यहोर्ने अनुमान गरिएको हो । 

कार्यालयका अनुसार चालू आवमा नेपालले पाँच खर्ब ३४ अर्बबराबरको वस्तु तथा सेवा निर्यात गर्नेछ । जबकि, यस अवधिमा आयात भने २० खर्ब २९ अर्ब रुपैयाँबराबरको हुनेछ । कार्यालयले पछिल्ला ६ देखि आठ महिनाको तथ्यांकलाई विश्लेषण गरेर चालू आवको व्यापारको अनुमान गरेको हो । 

चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ८.७४ प्रतिशतबराबर निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आवमा नेपालको जिडिपी ६१ खर्ब सात अर्बबराबर हुने अनुमान छ । गत आर्थिक वर्ष ०८०/८१ मा जिडिपीको ७.६२ प्रतिशतबराबर र त्यसअघि आव ०७९/८० मा जिडिपीको ७.०१ प्रतिशत निर्यात भएको कार्यालयको तथ्यांक छ । त्यस्तै, चालू आवमा जिडिपीको ३३.२३ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव ०८०/८१ मा जिडिपीको ३२.९१ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको थियो । त्यसअघि आव ०७९/८० मा जिडिपीको ३४.५६ प्रतिशत आयात भएको कार्यालयको तथ्यांक छ ।

वस्तु व्यापारमा नौ महिनामा सवा ११ खर्ब घाटा
नेपालले चालू आर्थिक वर्षको नौ महिनामा वस्तुको व्यापारमा सवा ११ खर्ब रुपैयाँ नोक्सान व्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको चैत महिनासम्म नेपालले १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ, जबकि निर्यात भने एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबरको मात्रै भएको छ । यस अवधिमा नेपाललाई कुल ११ खर्ब २१ अर्ब ३३ करोड नोक्सान भएको हो, जुन गत आवको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो । 

सेवा खाता ५९ महिनादेखि लगातार घाटामा
पर्यटनमार्फत पनि आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइरहँदा मुलुकको सेवा खाता भने लगातार ५९ महिनादेखि घाटामा छ । चालू आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्मको तथ्यांकअनुसार अहिले पनि सेवा खाता ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा छ । गत आवको चैत मसान्तसम्म सेवा खाता घाटा ५० अर्ब ७३ करोड रुपैयाँ थियो । चालू आवको पहिलो नौ महिनामा भने यस्तो घाटा ८१ अर्ब ५४ करोड रुपैयाँले छ ।