Skip This
जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
२o८२ बैशाख ३० मंगलबार o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार o९:४o:oo

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो ।

सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए । उनले भने, ‘अब विद्यार्थीले सिटिइभिटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनुपर्दैन ।’ प्रवेश परीक्षा लिइँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उनले बताए । 
 
कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने जनाउँदै रकम लिएको गुनासोसमेत आएको जनाउँदै उनले अब यस्तो समस्या नहुने स्पष्ट पारे। सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त जिपिएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ ।
 
उनका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई थप अंकभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभारबापत ०.८५ दिने व्यवस्था गरिएको छ ।

सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आंगिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३  आंगिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताए।