मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०६:१८:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५५ महिनामा ११ सय महिलाको हत्या

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०६:१८:००

हत्या गरिएकामध्ये १३४ बालिका, प्रहरी तथ्यांक भन्छ– महिलाविरुद्ध अपराधका घटना दैनिक ५० भन्दा धेरै

बर्दियाको ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँकी २४ वर्षीया सन्चुरिया थारू गत १६ फागुनको साँझ पेट दुखेको औषधि लिन निस्किएकी थिइन् । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको मृत शरीर नजिकैको कञ्चनपुर–नेउला सडक किनारमा भेटियो । हत्या भएको आशंकामा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानपछि ठाकुरबाबा– ४ मैनावारका ४५ वर्षीय जन्जिरे थारूलाई पक्राउ गरेको छ । तर, हत्याको कारण भने अझै खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधीरराज शाहीले अनुसन्धान भइरहेको र कारण खुलिनसकेको बताए । ‘घटनाको दिन जन्जिरेले मृतकलाई डेरामा बोलाएको देखिन्छ । यही क्रममा उनको मृत्यु भएको छ । शव व्यवस्थापन जन्जिरेले नै गरेका छन्, तर हत्या गरेको स्विकारेका छैनन् । प्रहरी अनुसन्धानमै छ । केही दिनमै घटनाको तथ्य बाहिर आउला,’ उनले भने ।

एसएसपी दीपेन्द्र जिसी, केन्द्रीय सहप्रवक्ता, नेपाल प्रहरी
महिला मारिनुका पछाडि यौनसँगै अन्य कारण पनि देखिन्छ । जस्तो समाजमा बेरोजगारी बढ्दो छ । सामाजिक सञ्जालको अन्धाधुन्द प्रयोग बढेका छन् । मादक पदार्थ सेवन उत्तिकै छन् । दाइजो तथा सम्पत्ति प्राप्तिका कारण पारिवारिक कलह बढेका छन् । जसले मानिसमा तनाव पैदा गराइदिएको छ । महिला मारिनुमा यी पनि कारण रहेको देखिन्छ ।

गत १८ मंसिरमा काठमाडौं बुद्धनगरकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित सुधन संग्रौलाको घरअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाइन् । घाइते उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन् । मानसिक रूपमा विक्षिप्त उनलाई प्रेमी सुधनले पटक–पटक मानसिक यातना दिएका थिए । उनले पुष्पासँगको वैवाहिक ‘इन्गेजमेन्ट’ पनि एकाएक टुटाए । पुष्पा झन् तनावमा आइन् । हारगुहार गर्दै उनी धुम्बाराहीस्थित सुधनको घर पुगिन् । तर, सुधनले थप मानसिक यातना दिए । तनावमा आएकी उनले अन्ततः उनकै घरअगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाइन् ।

गत ७ असोजमा महोत्तरी मटिहानी नगरपालिका– १ सानो धिरापुरकी ४० वर्षीया अमना खातुन काम सकेर घर फर्कंदै थिइन् । भिडभाड नभएको ठाउँमा पुगेपछि गाउँकै २४ वर्षीय मोजाहिर अन्सारीले बाटो छेके र यौन सम्पर्कको प्रस्ताव गरे । खातुनले अस्वीकार गरिन् । तर, अन्सारीले उनलाई जबर्जस्ती समातेर घिसार्दै झाडीमा लगे । शरीरबाट कपडा उतारे । अनि बलात्कार गरे । घटना सार्वजनिक हुने डरले उनले खातुनको घाँटीमा सलको पासो कसे र पेचकसले टाउकोमा प्रहार गरेर खातुनको हत्या गरे । शव लगेर झाडीमा लुकाएर अन्सारी घर लागे । 

खातुनको गाउँमा खोजी हुन थालेपछि अभियुक्त अन्सारी पनि स्थानीयसँगै खोजीमा निस्किए । उनले नै खातुनको शव प्रहरीलाई देखाएर अनुसन्धानमा सघाएको नाटक गरे । जब प्रहरीले उनको शंकास्पद गतिविधिमाथि निगरानी गर्‍यो, त्यसपछि खातुनको हत्या उनैले गरेको खुल्यो । 

घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका तत्कालीन प्रमुख एसपी कृष्ण पंगेनीले भने, ‘मृतकको श्रीमान् विदेशमा छन् । अभियुक्त गँजडी हुन् । उसले ती महिलालाई पटक–पटक जिस्क्याउने गथ्र्यो । घटनाको दिन महिला खेतबाट घर एक्लै फर्कंदै थिइन् । अभियुक्तले देख्यो र समातेर बलात्करपछि हत्या गरेको देखिन्छ ।’

हत्यासँग सम्बन्धित यी तीनवटै घटना उदाहरण मात्रै हुन् । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५५ महिनामा देशभर एक हजार एक सय ६ महिलाको हत्या गरिएको छन् । त्यसमध्ये एक सय ३४ बालिका छन् । यस अवधिमा सबैभन्दा धेरै मधेस प्रदेशमा दुई सय ४५, कोसीमा दुई सय २९, लुम्बिनीमा दुई सय नौ, बागमतीमा एक सय नौ, गण्डकीमा ९०, सुदूरपश्चिम ८७, उपत्यकामा ६९ र  कर्णालीमा ६८ महिलाको हत्या भएको छ । मारिनुका कारण पहिल्याउँदै जाँदा अधिकांश घटना यौन र सोही विषयवरिपरि गएर टुंगिन्छ ।

प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात (साउनदेखि माघसम्म) महिनामा १० हजार नौ सय ८६ महिलाविरुद्धका अपराधका घटना भएका छन् । यसअनुसार दैनिक ५२ भन्दा धेरै घटना हुने गरेको देखिन्छ । आव ०७८/७९ मा २१ हजार चार सय ५१, आव ०७७/७८ मा १८ हजार नौ सय ५१, आव ०७६/७७ मा १५ हजार सात सय ५६ र ०७५/७६ मा १९ हजार तीन सय चार घटना भएको प्रहरीको तथ्यांक छ । 

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले महिला मारिनुका अनेक कारणमध्ये एउटा यौन रहेको बताए । ‘तथ्यांक हेर्दा पछिल्ला दिन धेरै महिला मारिएका छन् । यसका पछि अनेक कारण छन् । जसमध्ये एउटा यौन हो । महिला बलात्कृत हुन्छिन् । अयिभुक्तले घटनालाई छोप्न खोज्छ । यही कारण पनि हत्या भएका छन् । प्रहरीले गरेका अनुसन्धानबाट यी घटना पुष्टि भएको देखिन्छ,’ उनले भने ।

महिला मारिनुमा पुरुषवादी सामाजिक चेत र शक्तिलाई कारण ठान्छिन् समाजशास्त्री नीति अर्याल खनाल । बलात्कार पनि पुरुषवादी सामाजिक चेतकै उपज भएको हुँदा महिला हत्यामा यो कारणका रूपमा आउने उनको तर्क छ । ‘महिलाको हत्या कुन कारण भएको हो, त्यसको स्पेसिफिक अध्ययन त भएको छैन । यद्यपि, समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कहीँ न कतै पुरुषवादी सामाजिक चेत र शक्ति योसँग जोडिएर आउँछ । बलात्कारका पछाडि कारण यही छ । त्यसो हुँदा महिला हत्याको पछि यौन पनि कारणका रूपमा जोडिएर आउन सक्छ,’ उनले भनिन् । 

प्रहरीका अनुसार बढ्दो बेरोजगार, सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग, मादक तथा नसालु पदार्थ सेवन, पारिवारिक कलह, सम्पत्ति, दाइजो, वैदेशिक रोजगारीलगायत कारण पनि महिला हत्यासँग जोडिने विषय हुन् । ‘महिला मारिनुका पछाडि यौनसँगै अन्य कारण पनि देखिन्छन् । जस्तो समाजमा बेरोजगारी बढ्दो छ । सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग बढेका छन् । मादक पदार्थ सेवन उत्तिकै छन् । दाइजो तथा सम्पत्ति प्राप्तिका कारण पारिवारिक कलह बढेका छन् । जसले मानिसमा तनाव पैदा गराइदिएको छ । महिला मारिनुमा यी पनि कारण रहेको देखिन्छ,’ प्रहरीका सहप्रवक्ता एसएसपी जिसीले भने ।

समाजशास्त्री डा. अर्यालले महिलाविरुद्धका अधिकांश अपराध परिवारभित्रैकै सदस्यबाट भएको अध्ययनबाट देखिने बताइन् । यौनजन्य अधिकांश अपराध पनि चिनजानमा रहेका वा परिवारभित्रकै सदस्यबाट हुने र त्यसलाई लुकाउने क्रममा महिलाको हत्या हुन सक्ने उनको भनाइ छ । ‘अपराधपछि उनीहरू त्यस्ता घटना दबाउन चाहन्छन् । यही क्रममा महिलामाथि हिंसा मात्रै होइन, हत्या नै हुने गर्छन् । यस्तै कारणले महिला हत्याका घटना बढेको हुन सक्छ,’ उनले भनिन् ।

दाइजो दलनमा नेहा 
कक्षा ११ मा पढ्दै थिइन् महोत्तरीकी नेहा चौधरी, जतिवेला उनको भेट डा. सुधीर चौधरीसँग भयो । सामाजिक सञ्जालबाट उनीहरू थप नजिकिए । प्रेम बसेपछि धुमधामसँग विवाह भयो । ५१ लाख नगदसहित नेहाका परिवारले २० तोला सुन दाइजोमा दियो । तर, सुधीरका परिवारले त्यति दाइजोमा चित्त बुझाएन । खटपट चुलियो । सुधीरले नेहामाथि घरेलु हिंसा गर्न थाले । हिंसा चुलिँदै गएपछि नेहा जाहेरी दिन महोत्तरी प्रहरी कार्यालय पुगिन् । प्रहरीले सुधीरलाई पक्राउ गर्‍यो र सम्झाइ–बुझाइ धरौटीमा छाडिदियो । 

फेरि पनि नेहामाथिको यातना रोकिएन । झन् बढ्दै गयो । हुँदाहुँदा सुधीरले नेहालाई कुटपिट गरी घरबाटै निकालिदिए । यसका विरुद्ध नेहाले जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेकी छिन् । सोही उजुरी बोकेर उनी महोत्तरी रामगोपालपुर नगरपालिका पुगिन् । न्यायिक समितिमा जाहेरी दर्ता गर्न खोजिन् । कार्यालय प्रमुख नभएको भन्दै नगरपालिकाले उनको जाहेरी मंगलबार दर्ता गरेको छैन । यता, ग्रान्डी अस्पतालमा कार्यरत डा. सुधीरलाई अस्पतालले कारबाहीस्वरूप सेवाबाट बर्खास्त गरेको छ । दाइजो विवादमा मुछिएपछि सुधीरलाई अस्पतालले सेवाबाट बर्खास्त गरेको हो ।

कुन प्रदेशमा कति महिला मारिए ?

६७ महिनामा महिलाविरुद्धका एक लाख अपराधका घटना
पछिल्लो ६७ महिनामा देशभर महिलाविरुद्धका एक लाख एक हजार ६ सय ९२ अपराधका घटना भएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै ७८ हजार पाँच सय ८८ घटना घरेलु हिंसाका छन्, जुन महिलाविरुद्ध हुने कुल अपराधको ७७.२८ प्रतिशत हो । यस अवधिमा बलात्कारका १२ हजार ६० घटना भएका छन् । त्यस्तै, बहुविवाहका चार हजार तीन सय ८२ घटना भएका छन् । महिलाविरुद्ध हुने कुल अपराधमा बलात्कारका घटना ११.८५ प्रतिशत र बहुविवाहका घटना ४.३० प्रतिशत हो । बाँकी ७.१३ प्रतिशत बोक्सी, जातीय छुवाछुत, गर्भपतन, अपहरण, मानव बेचविखन, अप्राकृतिक मैथुनलगायत अपराधका घटना भएका छन् ।

महिलाविरुद्धका अपराध सबैभन्दा धेरै मधेस प्रदेशमा भएका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्लो ६७ महिनामा मधेसमा २५ हजार दुई सय ३४ अपराधका घटना भएका छन् । यो महिलाविरुद्ध हुने कुल अपराधको २४.८१ प्रतिशत हो । यस अवधिमा काठमाडौं उपत्यकामा १७ हजार सात सय ९६, लुम्बिनीमा १६ हजार दुई सय ५९, बागमतीमा १० हजार तीन सय ९४, कोसीमा १० हजार ८८, गण्डकीमा आठ हजार पाँच सय ८५, सुदूरपश्चिममा सात हजार एक सय २९ र कर्णालीमा ६ हजार दुई सय सात महिलाविरुद्धका अपराधका घटना भएका छन् । 

महिला हिंसा वा हत्याका घटना समाजको दृष्टिकोणसँग जोडिन्छन् : डा. नीति अर्याल खनाल, समाजशास्त्री
महिला हिंसाका हुन् या हत्याका घटना । ती कहीँ न कहीँ समाजले महिलालाई हेर्ने दृष्टिकोणसँग गएर जोडिन्छ । महिलालाई हाम्रो समाजले अझै पनि पूर्ण मानवको दर्जा दिएको छैन । परिवारभित्रै छोरा र छोरीमा विभेद छ । खानपान, लालनपालनदेखि विद्यालयको शिक्षासम्ममा विभेद छ । अभिभावकको माया पाउन पनि छोरा नै हुनुपर्ने चेत हाम्रो समाजको छ । आमाले समेत जिउँदो छोरीलाई भन्दा मरेको छोरालाई धेरै माया गर्छिन् । गर्भबाट सुरु भएको विभेद नमरुन्जेलसम्म कायम रहन्छ ।

भारतमा गर्भपतनसम्बन्धी एउटा अनुसन्धान भएको थियो । जसमा गर्भपतनबाट मारिएका ९९ प्रतिशत शिशु स्त्री लिंगका थिए । त्यस्तै अनुसन्धान नेपालमा त भएको छैन, तर त्योभन्दा फरक छैन यहाँको स्थिति पनि । महिलाको हत्या यस्तै विषयसँग जोडिएर आउँछ । अधिकांश महिलाको हत्या उनीहरूको नजिककै व्यक्तिबाट भएको देखिन्छ । जस्तो पाकिस्तानमा महिलालाई त्यहाँको समाजले एउटा दायरा निर्धारण गरिदिएको छ । जो त्यो दायराभन्दा बाहिर जान खोज्छ, त्यसलाई मार्नेसम्मको अधिकार त्यहाँको सामाजिक संरचनाले दिएको छ । त्यहाँ यौनजन्य हिंसामा परेका महिलालाई आफ्नै परिवारका व्यक्तिले मार्ने गरेका उदाहरण पनि छन् । 

नेपाली समाजलाई यस्ता कोणबाट हेर्न जरुरी छ । अनुसन्धान हुन आवश्यक छ । त्यसो भए मात्रै महिलाको हत्या र हिंसा किन भइरहेका छन् भन्ने विषय पत्ता लाग्छ । संसारभरकै तथ्यांकले के देखाउँछ भने महिलाहरू चिनजानकै व्यक्तिबाट अपराधमा परेका हुन्छन् । विशेषगरी हत्याको घटनालाई हेर्दा कतिपय मनसाय राखेर भएको देखिन्छ भने कतिपय हिंसालाई दबाउन खोज्दा हत्या भएको देखिन्छ । यस्ता विषयमा वर्ग, जात, समुदाय, लिंगजस्ता विषय जोडिएर आउँछन् । समग्रमा भन्नुपर्दा यस्ता घटना समाजले महिलालाई हेर्ने दृष्टिकोणकै वरिपरि घुमेको देखिन्छ ।