१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २३ मंगलबार १८:४o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

निजी क्षेत्रको सबैभन्दा ठूलो ‘सोलुखोला दुधकोसी जलविद्युत् आयोजना’ सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १८:४o:oo

८६ मेगावाटको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनाबाट व्यवसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ। गत २७ माघबाट परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ फागुनबाट व्यवसायिक उत्पादन सुरु गरेको हो।

सोही सन्दर्भमा प्रवर्द्धक कम्पनी साहस ऊर्जा लिमिटेडले मंगलबार काठमाडौंमा विशेष समारोह गर्दै आयोजनाको उद्घाटन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको उद्घाटन गरेका हुन्। आयोजनाको निर्माण ०७४ माघ ८ गतेबाट सुरु भएको थियो। यो आयोजना निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। साथै, समग्र नेपालमा सञ्चालनमा आएकामध्ये तेस्रो ठूलो आयोजना हो। 

झन्डै १४ अर्ब रुपैयाँ लगानीमा यो आयोजना बनेको हो। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)को अगुवाईमा १० बैंक तथा वित्तीय संस्थाले यसमा ऋण लगानी गरेका थिए। कुल ३ अर्ब रुपैयाँ पुँजी भएको यस कम्पनीमा ८ हजार ११५ जना संस्थापक सेयरधनी छन्, जुन अन्य जलविद्युत् प्रवर्द्धक कम्पनीको भन्दा धेरै हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउँदा निजी क्षेत्रलाई थप प्रोत्साहन मिलेको बताए। ‘निजी क्षेत्रबाट यतिका ठूलो जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुभएको साहस ऊर्जा लिमिटेडलाई हार्दिक धन्यवाद छ,’ उनले भने, ‘यो खुसीको विषय हो।’ 

यस्तै, उनले अब विद्युत् उत्पादनमा मात्रै नभएर देशभित्रै विद्युत् खपत गर्ने मामलामा पनि जोड दिनुपर्ने बताए। ‘म यसअघि दुईपटक प्रधानमन्त्री हुँदा जलविद्युत् उत्पादनलक्षित विभिन्न लक्ष्य लिएको थिए। तर, राजनीतिक उथलपुथल तथा उतारचढावका कारण त्यसलाई सफल बनाउन सकिएन,’ उनले भने, ‘अहिले म तेस्रोपटक प्रधानमन्त्री बनेको छु। अहिले भने विद्युत् उत्पादनभन्दा पनि खपत बढाउने वातावरण कसरी बनाउन सकिन्छ भन्ने अवस्था आएको छ।’

जलविद्युत् अर्थतन्त्रको विकासको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गर्दै प्रचण्डले विद्युत् निर्यात गरेर राष्ट्रिय आम्दानी बढाउन सकिने देखिएको बताए। ‘हालै भारतमा सम्पन्न नेपाल भारत ऊर्जा बैठकले पनि भारतमा दीर्घकालीन रूपमै विद्युत् बिक्री गर्न सक्ने र बंगलादेशमा पनि विद्युत् बिक्री गर्न मिल्ने वातावरण बनेको छ। यसले थप हौसला दिएको छ,’ उनले भने।

यस्तै, उनले अब नेपाल ग्रिन हाइड्रोजन उत्पादनमा अग्रसर हुनुपर्ने बताए। ‘अहिले विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ अग्रसर हुँदै छ। नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गर्ने स्रोत पनि पर्याप्त छ। त्यो अवस्थामा हामीलाई ग्रिन हाइड्रोजन उत्पादन गर्ने अवसर र चुनौती दुवै छन्। तसर्थ, अब ग्रिन हाइड्रोजनमा अग्रसर हुनुपर्छ,’ उनले भने, ‘म आफैँ पनि हाइड्रोजन गाडी चढ्ने तयारीमा छु। समग्रमा ग्रिन हाइड्रोजनमार्फत नेपाली अर्थतन्त्रमा रिभोलोसन ल्याउन सकिन्छ।’

यस्तै, उनले सरकार अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अग्रसर भएको बताए। ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निजी तथा सार्वजनिक निकायसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने निर्णय भइसकेको छ। साथै, केही दिनअघि मात्रै राष्ट्र बैंक तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधिसँग यसबारे छलफल पनि भइसकेको छ,’ उनले भने, ‘अबको केही दिनमै हामीले निकै विश्वासिलो उपायसहित अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अग्रसर हुनेछौँ।’