मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
२०७९ फाल्गुण २१ आइतबार ०८:५०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिका सम्भावित युद्धको असर

Read Time : > 4 मिनेट
२०७९ फाल्गुण २१ आइतबार ०८:५०:००

चीन ताइवानलाई कब्जामा लिन र अमेरिकालाई प्रत्यक्ष चुनौती दिँदै क्षेत्रीय अधिपत्य कायम गर्न सक्ने गरी सैन्य, आर्थिक र औद्योगिक शक्ति बनिसकेको छ 

इन्डो–प्यासिफिक (हिन्द प्रशान्त) क्षेत्रमा ठूलो युद्धको सम्भावना दोस्रो विश्वयुद्धपछि अहिले सबैभन्दा बढी प्रबल बनेको छ । चीनले ताइवानमाथि गर्ने आक्रमणले त्यो युद्ध सुरु हुन सक्छ । चीनका राष्ट्रपति सी जिनपिङले ताइवानलाई मुख्य भूमि चीनसँग एक गराएरै छाड्ने बताएका छन् । चीनको कम्युनिस्ट पार्टीको शासन ताइवानलाई कब्जामा लिन सक्ने गरी र अमेरिकालाई प्रत्यक्ष चुनौती दिँदै क्षेत्रीय अधिपत्य कायम गर्न सक्ने गरी सैन्य, आर्थिक र औद्योगिक शक्ति बनिसकेको छ । यसबाट अमेरिकाको महत्वपूर्ण रणनीतिक स्वार्थहरू जोखिममा परेको छ । ताइवानमाथि चीनको आक्रमण सफल भएमा अमेरिका र हिन्द प्रशान्त क्षेत्रमा रहेका उसका साझेदार मुलुकका प्रतिरक्षा शृंखलामा छिद्र बन्नेछ । त्यसले पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकाको रणनीतिक स्थितिलाई गम्भीर रूपमा कमजोर मात्र बनाउँदैन, ताइवानमा निर्माण हुने उन्नत सेमिकन्डक्टर तथा अन्य महत्वपूर्ण उपकरणमाथिको अमेरिकी पहुँच पनि अवरुद्ध हुनेछ । सत्तामा आएदेखि जो बाइडेनले बारम्बार आइपरे ताइवानको रक्षा गर्ने बताएका छन् । तर, वासिंगटनले विनासोचविचार चीनसँग भिड्नबाट जोगिन आवश्यक छ । किनभने चीनसँगको युद्ध अमेरिकीहरूले पहिले कहिल्यै सामना नगरेको स्तरको हुनेछ । 

अमेरिकी नागरिकमा सेनालाई देशबाट टाढा लड्न पठाउने बानी छ । तर, चीन अमेरिकाले पहिले सामना गरेकोभन्दा भिन्न प्रकारको शत्रु हो, जो युद्धलाई अमेरिकी धर्तीभित्रै महसुस हुने गरी विस्तार गर्न सक्षम सैन्य, आर्थिक र प्राविधिक शक्ति हो । अस्ट्रेलियाको रक्षा मन्त्रालयसहित कैयौँ निकायमा व्यावसायिक रणनीतिक विश्लेषक र रक्षा योजनाकारका रूपमा मैले युद्ध कसरी सुरु हुन्छ र त्यो कसरी अघि बढ्नेछ भन्ने अध्ययन दशकौँ गरेको छु । साथै युद्धको समयमा चीनले सञ्चालन गर्न सक्ने सैन्य र गैरसैनिक अभियान पनि मेरो अध्ययन क्षेत्रमा पर्छ । मेरो अध्ययनका आधारमा म विश्वस्त छु, चीनसँगको सम्भावित युद्ध अमेरिकाका लागि निकै गम्भीर हुनेछ । त्यसैले अमेरिकी नागरिकहरू पनि यसबारे बढी सचेत हुन आवश्यक छ ।

चीनको सैन्य परिदृश्य मात्रै पनि डरलाग्दो छ । अमेरिका र उसका मित्रशक्ति जवाफी कारबाहीमा उत्रिनुअघि नै चीनले केही घण्टाभित्रै ताइवानका मुख्य रणनीतिक निसानाहरू नियन्त्रण गर्न तीव्र हवाई, समुद्री र साइबर आक्रमण सुरु गर्न सक्छ । ताइवान अमेरिकाको मेरिल्यान्ड राज्यभन्दा थोरै ठूलो छ । यदि हामीले सन् २०२१ मा अफगानिस्तान र काबुल कति छिटै तालिबानको हातमा गएको थियो भन्ने ख्याल गर्‍यौँ भने चीनले ताइवान कब्जा गर्न सक्ने अपेक्षाकृत छोटो समयलाई महसुस गर्न सक्नेछौँ । चीनसँग रहेका १३५० ब्यालिस्टिक र क्रुज मिसाइलहरू अहिले नै अमेरिका र उसका प्रशान्तीय मित्रशक्ति जापान, दक्षिण कोरिया, फिलिपिन्स लगायतमाथि प्रहार गर्न तम्तयार छन् । साथमा अमेरिकाले विश्वको सबैभन्दा ठूलो नौसेना र एसियाको सबैभन्दा ठूलो वायुसेना भएको प्रतिद्वन्द्वीविरुद्ध मूल भूमिबाट हजारौं माइल पर युद्ध लड्नमा एकदमै कठिनाइ उत्पन्न हुनेछ ।

यो महिना अमेरिकाको आकाशमा देखिएका बेलुनलाई धेरै अमेरिकीले अमेरिकी सार्वभौमसत्तामाथि चिनियाँ हस्तक्षेप माने । युद्धको समयमा चीनले अमेरिकी भूमिमा गर्न सक्ने विनाशकारी हस्तक्षेपको तुलनामा यो घटना सामान्य हुन सक्छ ।

यी कठिनाइका बाबजुद अमेरिकी सैन्य योजनाकार परम्परागत युद्ध लड्न रुचाउँछन् । तर, चिनियाँहरू धेरै विस्तारित युद्ध लड्न तयार छन्, जुन अमेरिकी समाजको गहिराइसम्म पुग्नेछ । चीनले अमेरिका विगत एक दशकदेखि राजनीतिक र सामाजिक संकटमा फसेको मान्ने गर्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ विभिन्न अवसरमा ‘पूर्वको उदय हुँदै गर्दा पश्चिमको ह्रास भइरहेको’ भन्ने गर्छन् र अमेरिकाको सबैभन्दा ठूलो कमजोरी उसको घरेलु मोर्चामा रहेको मान्छन् । र, मलाई विश्वास छ कि राष्ट्रपति सी अमेरिकीहरूलाई विभाजित गर्न र दीर्घकालीन द्वन्द्वमा संलग्न हुने तिनको इच्छालाई कमजोर पार्न बहुआयामिक अभियान चलाउन तयार छन् । यसलाई चिनियाँ सेनाले ‘दुस्मन विखण्डन’ भन्छ ।

विगत दुई दशकभित्र चीनले यस्तो शक्तिशाली रणनीतिक तथा साइबर युद्ध क्षमता विकास गरेको छ, जसले सहजै अमेरिका र उसका मित्र सरकार, मिडिया संगठन, व्यवसायी र नागरिक समाजभित्रसम्म हस्तक्षेप गर्न सक्छ । जुन तिनको विघटनका लागि प्रयोग गरिनेछ । यदि युद्ध सुरु भयो भने चीनले यसलाई सञ्चारमा बाधा पुर्‍याउन र झुटो तथा अन्य जाली सूचना फैलाउन प्रयोग गर्नेछ । तिनको उद्देश्य भ्रम सिर्जना गर्ने, विभाजन तथा अविश्वास बढाउने र निर्णय प्रक्रियामा बाधा पुर्‍याउने हुनेछ । चीनले यसलाई विद्युतीय तथा सम्भवतः भूउपग्रह वा सम्बन्धित पूर्वाधारमाथि भौतिक आक्रमण गरेर थप विध्वंसात्मक बनाउन सक्छ । यी कारबाहीहरू चीनले साइबर हमलालाई बिजुली, ग्यास, पानी, यातायात, स्वास्थ्य सेवा र अन्य सार्वजनिक सेवा अवरुद्ध बनाउन प्रयोग गर्नेछ । चीनले यससम्बन्धी क्षमता पहिले नै प्रदर्शन गरिसकेको छ । ताइवानमा चीनले चलाएका मिथ्या सूचना अभियान र अमेरिकामा भएका ह्याकिङका गम्भीर घटना यसका केही उदाहरण हुन् । 

राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिक युद्ध क्षमतालाई ‘जादुई हतियार’ बताउने गरेका छन् । चीनले आपूर्ति शृंखला र जहाजी ढुवानीमाथिको आफ्नो प्रभुत्वलाई पनि हतियारका रूपमा प्रयोग गर्न सक्छ । अमेरिकीहरूमाथि यसको प्रभाव गहिरो हुनेछ । अमेरिकी अर्थतन्त्र धेरै मात्रामा चिनियाँ स्रोत र त्यहाँ निर्मित सामानमा निर्भर छ, जसमा धेरै सैन्य सामग्री पनि छन् । अमेरिकी उपभोक्ताहरू इलेक्ट्रोनिक्सदेखि फर्निचर र जुत्तासम्म अधिकांश मध्यम मूल्यको चिनियाँ–निर्मित आयातमा भर पर्छन् । यी सामानको ठूलो हिस्सा चिनियाँ व्यापारिक हितको नियन्त्रणमा रहेका समुद्री मार्ग हुँदै ढुवानी गरिन्छ, जुन व्यापारीहरू अन्तिममा चीनको पार्टी–राज्यप्रति जवाफदेही हुन्छ । युद्धले यो व्यापार (साथै अमेरिकी र उसका मित्रशक्तिको चीनसम्मको ढुवानी) रोक्नेछ ।

चिनियाँ उत्पादनको अमेरिका अपूर्ति रोकिएसँगै अमेरिकी व्यापारको एक विशाल दायरा पक्षाघात हुनेछ । यो व्यापार पुनर्स्थापित गर्न महिनौँ लाग्न सक्छ । केही वस्तुहरूको आपत्कालीन भण्डारण गर्नुपर्ने हुन सक्छ । मुद्रास्फीति र बेरोजगारी बढ्नेछ, विशेषगरी अर्थव्यवस्था युद्ध अभियानका लागि पुनः निर्देशित गरिएका वेला जब केही वाहन निर्माताहरूलाई विमान निर्माण गर्न वा खाद्य–प्रशोधन कम्पनीलाई प्राथमिकताका औषधिहरूको उत्पादनमा रूपान्तरण गरिनेछ । ठूलो आर्थिक अनिश्चितताको कारणले अमेरिका र अन्य देशमा स्टक एक्सचेन्जहरूको व्यापार अस्थायी रूपमा रोक्न सक्छ ।

दोस्रो विश्वयुद्धलगायत युद्धमा जितका लागि अमेरिकाको औद्योगिक सामाथ्र्य महत्वपूर्ण बनेको थियो । तर, अहिले नयाँ युद्ध सुरु हुँदा अमेरिकीहरूले तिनको औद्योगिक सामथ्र्य कमजोर भएको र चीन यस विषयमा अगाडि रहेको तितो यथार्थ स्वीकार गर्न बाध्य हुन सक्छन् । चीन अहिले धेरै मानकका आधारमा प्रमुख विश्वव्यापी औद्योगिक शक्ति हो । सन् २००४ मा अमेरिकी औद्योगिक उत्पादन चीनको दोब्बरभन्दा बढी थियो जबकि सन् २०२१ सम्ममा चीनको औद्योगिक उत्पादन अमेरिकाको भन्दा दोब्बर भइसकेको छ । चीनले अन्य कुनै पनि देशको तुलनामा धेरै जहाज, स्टिल र स्मार्टफोन उत्पादन गर्छ । चीन सैन्य औद्योगिक अर्थतन्त्रको मेरुदण्ड मानिने रसायन, धातु, भारी औद्योगिक उपकरण तथा विद्युतीय उत्पादनमा पनि विश्व नेता हो । अझ महत्वपूर्ण, युद्धमा अति आवश्यक हुने उन्नत हतियार निर्माणमा अमेरिका अब चीनलाई उछिन्न सक्षम नरहेको देखिएको छ । यो कुरा युक्रेन युद्धबाट स्पष्ट भइसकेको छ । किभलाई सैन्य हातहतियार दिँदा केही प्रमुख सैन्य प्रणालीहरूको अमेरिकी स्टकहरू घटेको छ । तिनको पूर्तिका लागि वर्षौं लाग्न सक्छ । हिन्द प्रशान्त क्षेत्रमा हुने युद्धमा आवश्यक हुने हतियारको तुलनामा युक्रेन युद्ध सानो हुनेछ । त्यस अवस्थामा अमेरिकाले के गर्न सक्छ त ?

सैन्य मोर्चामा, पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकी सेनामाथि हुने चीनको आक्रमणको जोखिम कम गर्न अमेरिकाले पहिलेदेखि जारी सबलीकरण र विविधीकरण कार्यक्रमलाई गति दिनुपर्छ । देशभित्र परम्परागत मिडिया तथा सामाजिक सञ्जाललाई चिनियाँ जाली सूचनाबाट थप सुरक्षित पार्ने तरिकाहरू खोज्नका लागि ठोस प्रयास चालिनुपर्छ । अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति शृंखलाहरू अमेरिकाभित्र वा मित्र राष्ट्रहरूमा सार्ने प्रक्रिया सुरु गर्नुपर्छ । अमेरिकाले विश्वव्यापी उत्पादनमा आफ्नो प्रभुत्व पुनर्स्थापित गर्न दीर्घकालीन रणनीतिक अभियान नै चलाउन आवश्यक छ । कमजोरीहरू सम्बोधन गरेर बलियो प्रतिरोधात्मक शक्ति निर्माण गर्नु युद्धबाट बच्ने उत्तम माध्यम हो । तर, यसमा समय लाग्नेछ । त्यतिन्जेलसम्म, वासिंगटनले परिस्थितिलाई थप तनावपूर्ण हुन नदिन र बेइजिङसँग वार्ता कायम राख्नु महत्वपूर्ण हुन्छ । यो महिना अमेरिकाको आकाशमा देखिएका बेलुनलाई धेरै अमेरिकीले अमेरिकी सार्वभौमसत्तामाथि चिनियाँ हस्तक्षेप माने । युद्धको समयमा चीनले अमेरिकी भूमिमा गर्न सक्ने विनाशकारी हस्तक्षेपको तुलनामा यो घटना सामान्य हुन सक्छ ।

(क्यानबेरास्थित स्ट्रयाटेजिक फोरमका सिइओ रस ब्याबेज वासिंगटनस्थित सेन्टर फर स्ट्रयाटेजिक एन्ड बजेटरी एसेसमेन्टका गैरआवासीय सिनियर फेलो हुन् ।)
– द न्युयोर्क टाइम्सबाट