मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०७९ फाल्गुण १९ शुक्रबार ०६:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ वर्षपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ फाल्गुण १९ शुक्रबार ०६:०२:००

यू–१९ विश्वकपमा नेपाल ‘जायन्ट किलर’

नेपाली यू–१९ क्रिकेट टोली सन् २०२४ मा श्रीलंकामा हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । सन् २०१६ को यू–१९ विश्वकपमा बंगलादेशसँग क्वार्टरफाइनल खेलेको नेपाल त्यसयता सात वर्षसम्म छनोट हुन सकेको थिएन । 

बिहीबार राउन्ड रोबिन लिगको अन्तिम तथा निर्णायक खेलमा आयोजक युएईलाई सात रनले हराउँदै सर्वाधिक १० अंकसहित नेपालले समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो । युएईको अजमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाई एक सय ९१ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा युएई ४८ ओभरमा एक सय ८४ रनमै समेटियो । राउन्ड रोबिन लिगमा अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्दा नेपालका दीपेश कँडेलले युएईविरुद्ध ह्याट्रिक गरे । सन् २०१८ को छनोट खेलको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । त्यसपछिका संस्करणमा युएई नेपालमाथि हाबी हुँदै आएको थियो । 

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस नियममा एक रनले स्तब्ध भएको थियो । सन् २०२२ मा आइसिसीले कोरोना महामारीका कारण छनोट खेल आयोजना नै गरेन । आइसिसीले पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा युएईलाई नै विश्वकपमा स्थान दिलाएको थियो । यसपटकको आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल, युएई, मलेसिया, हङकङ, सिंगापुर र कुवेत प्रतिस्पर्धामा थिए । नेपालले लगातार चार खेलमा विपक्षीमाथि सानदार जित निकाल्यो । पाँचौँ खेलमा जित निकाल्न नेपालले मिहिनेत गर्नुपर्‍यो । 

यू–१९ विश्वकपमा नेपाल ‘जायन्ट किलर’
यू–१९ विश्वकपमा नेपालले जायन्ट किलर (अस्वाभाविक रूपमा ठूला राष्ट्रलाई हराउने) उपनाम पाएको छ । सन् २००० यता आठौँपटक विश्वकपमा छनोट भएको नेपालले कुनै न कुनै टेस्ट मान्यता राष्ट्रलाई हराएको छ । पहिलोपटक सन् २००० को विश्वकपमा सुपर लिगको समूह २ बाट माथि जान नसकेको नेपाल सन् २००२ मा युथ एसिया कप विजेताकै रूपमा छनोट भयो । न्युजिल्यान्डमा भएको विश्वकपको समूह सीमा अन्तिम दुईमा परेपछि नेपालले प्लेट च्याम्पियनसिप खेल्यो । प्लेट च्याम्पियनसिपको समूह २ मा विजेता बनेको नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्‍यो । फाइनलमा नेपाल जिम्बावेसँग पराजित भयो । 

युथ एसिया कप जितेपछि नेपाल २००४ को यू–१९ विश्वकपमा छानियो । नेपालले समूह डीमा दक्षिण अफ्रिकालाई हराएको थियो । यद्यपि, शीर्ष दुईमा नेपालले स्थान बनाउन सकेन । सन् २००६ मा कपको विजताका आधारमा नेपाल यू–१९ विश्वकप खेल्न अवसर पायो । नेपालको यू–१९ विश्वकप इतिहासमा यो संस्करण अहिलेसम्मकै ऐतिहासिक हो । कनिष्क चौगाईंको कप्तानीमा नेपालले प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसवेला नेपाली टोलीमा पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । नेपालले समूह डीमा जिम्बावे र इंग्ल्यान्डसँग हारको सामना गर्‍यो । नेपालले आयरल्यान्डलाई पराजित गरेको थियो ।

समूहमा अन्तिम दुईमा रहेको नेपाल प्लेट च्याम्पियनसिपमा पुगेको थियो । प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा नेपालले युगान्डा र सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हरायो । उपाधि भिडन्तमा नेपालले न्युजिल्यान्डलाई हराउँदै ऐतिहासिक रूपमा प्लेट च्याम्पियनसिप उपाधि उचाल्यो । सन् २००८ को विश्वकपअन्तर्गत प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भयो । सन् २०१० मा नेपाल छनोट नै भएन । सन् २०१२ मा पहिलो चरणमै रोकियो । सन् २०१४ मा नेपालले विश्वकपमा स्थान बनाउन सकेन ।

सन् २०१६ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा नेपाली टोली क्वार्टरफाइनलमा पुगेको थियो । नेपाल समूह डीको उपविजेता हुँदै अन्तिम आठमा पुगेको थियो । क्वार्टरफाइनलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

४७औँ ओभरमा दीपेश कँडेलको ह्याट्रिक

दीपेश कँडेलले आफ्नो अन्तिम स्पेल बलिङ गरेका थिए । उनले सुरुका तीन बलमा तीन रन मात्र खर्चिए । नेपाल हारनजिक पुगिसकेको थियो । युएईलाई १५ बलमा आठ रन मात्र आवश्यक थियो । त्यसपछि कँडेलले सनसनीपूर्ण बलिङ मात्र गरेनन्, नेपाललाई विश्वकपमा समेत पुर्‍याए । इनिङ्सको ४७.४ ओभरमा उनले हर्सिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा उनैले हरित सेट्टीलाई कप्तान देव खनालबाट क्याच आउट गराए । ४७.६ ओभरमा मनिस गजेसलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए । ह्याट्रिक गरेका कँडेलले १० ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिए ।

देव खनालले बनाए अर्धशतक

नेपालको धर्मराएको ब्याटिङ इनिङ्सलाई कप्तान देव खनाल र उत्तम थापमगरले उकासेका थिए । दुवैले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपाललाई १०३–४ को स्थितिमा राखे । उत्तमले ४८ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३६ रनको योगदान दिए । देवले पनि आफ्नो विकेट २७.५ ओभरमा गुमाए । उनले ८४ बलमा तीन चौका र एक छक्काको सहयोगमा महत्वपूर्ण ५१ रनको योगदान दिए ।