१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण १८ बिहीबार १८:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटनमा फोहोर भरिएपछि यार्सा लोप हुने खतरा, ७८ क्विन्टल फोहोर काठमाडौं पठाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार १८:५१:oo

हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटनहरू फोहोरले भरिन थालेका छन्। यार्सा संकलन कार्य सुरु भएपछि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलहरूले जिल्लाका उच्च हिमाली पाटनहरू भरिभराउ भएका हुन्।

डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने करिब एक हजार पाटन छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार पाटनहरू फोहोरले भरिएपछि केही वर्षयता यार्सागुम्बा लोप हुन थालेको छ। डोल्पा देशमै सबैभन्दा उच्च गुणस्तर र धेरै परिमाणमा यार्सागुम्बा पाइने जिल्लाका रूपमा चिनिन्छ।

कुनै वेला एक दिनमा चार–पाँच हजारवटासम्म पाइने यार्सा अहिले मुस्किलले दिनमा चार–पाँचवटा भन्दा धेरै नपाइने व्यापारीहरू बताउँछन्। डोल्पालीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्सा फोहोरका कारण लोप हुन थालेपछि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, विश्व वन्यजन्तु कोष, मध्यवर्ती समिति, आमा समूह र स्थानीय सरकार संरक्षणमा जुटेका छन्।

पर्यटकीय नगरीको रूपमा रहेका पाटनहरूमा फोहोर बढेपछि घाँस उत्पादनमा समेत कमी आउँदा नाबर, झारल, घोरल, कस्तुरीजस्ता संरक्षित हिमाली जनावर पनि आहारको अभावमा लोप हुने खतरा बढेको निकुञ्जले जनाएको छ।

यार्सा पाटनबाट ७८ क्विन्टल फोहोर संकलन
जिल्लाको त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाका एक दर्जन यार्सागुम्बा पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहोर जम्मा भएको छ।

वर्षेनी जम्मा भइरहेको फोहोरले आर्थिक, सामाजिक, वातावरणीय र पर्यटकीय क्षेत्रलाई गम्भीर असर पारेपछि अघिल्लो आर्थिक वर्षदेखि अभियानै चलाएर फोहोर जम्मा गर्न थालिएको विश्व वन्यजन्तु कोष डोल्पाका प्रतिनिधि चन्द्रजंग हमालले बताए। ‘जिल्लावासीको आयस्रोत मात्रै कम भएको छैन, वातावरणीय प्रदूषण उत्तिकै बढेको छ, फोहोरका कारण हिमाली पारिस्थितिक प्रणालीमा समेत असर पर्न थालेको छ। समयमा पानी, हिउँ पर्दैन। निकुञ्जभित्रका संरक्षित वन्यजन्तुहरूलाई आहाराको अभावसमेत हुन थालेको छ,’ उनले भने।

अघिल्लो वर्षबाट हालसम्म ७८ क्विन्टल फोहोर संकलन गरेर काठमाडौं पठाइएको छ। ‘सकारात्मक सन्देश प्रवाह गराउन अघिल्लो आर्थिक वर्षमा ७८ क्विन्टल फोहोर जम्मा गरेर आज मात्रै मालबाहक ट्रकमा काठमाडौं पठाइएको छ,’ हमालले भने, ‘भक्तपुरस्थित डोको रिसाइक्लर्ससँग सम्झौता भएअनुसार प्रशोधनका लागि काठमाडाैं पठाइएको हो।’