मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
न्युयोर्क टाइम्स
२०७९ फाल्गुण १६ मंगलबार ११:०९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अडानीले सय अर्ब गुमाउँदा पनि भारतीय बजार किन धर्मराएन ?

अडानीको पतनको असर बजारमा नपर्नुका पछाडि भारतीय बजारको आकार र सबलताको भूमिका छ

Read Time : > 2 मिनेट
न्युयोर्क टाइम्स
२०७९ फाल्गुण १६ मंगलबार ११:०९:००

केही समयअघिसम्म भारतका सबैभन्दा ठूला व्यापारिक घराना अडानी समूहको सेयरमा गत महिनाको अन्त्यबाट भारी गिरावट आउन थाल्यो । केही दिनमै यो समूहले सय अर्ब डलरभन्दा बढी गुमायो । यो गिरावटले भारतको पुँजी बजार र भारतीय अर्थतन्त्रलाई नै असर गर्ने केही पर्यवेक्षकको चिन्ता थियो । त्यस्तो परिदृश्य भारतका लागि मात्र नभएर विश्वकै लागि पनि भयावह हुने थियो ।

भर्खरै बेलायतको अर्थतन्त्रलाई उछिन्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्न सफल भारतीय अर्थतन्त्र महामारीका प्रतिबन्ध खोलिएपछि सबल र स्थिर वृद्धि गर्ने चिनियाँ अर्थतन्त्रपछिको एक मात्र विशाल अर्थतन्त्र हो । तर, फराकिलो बजार संक्रमणको डर पूरा भएको छैन ।

महामारीपछि अडानी प्रकरणमा पहिलोपटक भारतीय पुँजी बजारप्रति चिन्ता उत्पन्न भयो । तथापि अडानी समूहको गिरावट सबैभन्दा तीव्र रहेको साता नै देशको वित्तीय केन्द्र मुम्बई त्यसबारे कुनै प्रवाह नभएझैँ आफ्नै नियमित गतिमा थियो । अडानी पतनको बाबजुद हालसम्म भारतीय सेयर बजार स्थिर रहेको छ । भारतको मुख्य बजार परिसूचक एक वर्षअघिको सोही अवधिको तुलनामा २.५ प्रतिशत माथि छ, जबकि यस अवधिमा अमेरिकी स्टक एक्सचेन्ज चार प्रतिशतभन्दा धेरै घट्यो । 

अडानीको पतनको असर बजारमा किन परेन त ? यसका पछाडि भारतीय बजारको आकार र सबलताको भूमिका छ । न्युयोर्क मुख्यालय रहेको एक सानो व्यापारिक फर्म हिन्डेनवर्गले अडानी समूहमाथि ठगी र स्टकमा छेडखानी गरेको आरोप लगाएपछि समूहमा पतन सुरु भएको थियो । तर, त्यसको तरंग ठूलो भारतीय वित्त बजारमा सानो कम्पन मात्र साबित भयो । आखिर त्यस्तो नहोस् पनि किन, भारत अहिले करिब १५ लाख कम्पनी भएको स्वस्थ्य पुँजीकृत सेयरबजारयुक्त अर्थतन्त्र बनिसकेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अडानी समूहका संस्थापक गौतम अडानीसँगको घनिष्ठ सम्बन्धलाई लिएर विपक्षीहरूले आलोचना गरेका छन्

यहाँको ‘नेसनल स्टक एक्सचेन्ज’ले गत वर्ष तीन ट्रिलियन (३० खर्ब) र ३.५ ट्रिलियन(३५ खर्ब) डलरबीचको आरामदायी अंकमा उतारचढाव गरिरह्यो । भारतीय बजारको यस सबलताले एक यथार्थलाई प्रकाश पारिदिएको छ : पूर्वाधार र ऊर्जाका व्यवसाय सञ्चालन गर्ने व्यापारिक घराना अडानी समूह कुनै हिसाबमा एक्लै खडा भएको छ । अन्य भारतीय व्यवसायी पनि यो कुरा सबैले जानून् भन्ने चाहन्छन् । 

अडानी समूहमा देखिएको अपारदर्शी संरचना, समूहका एक कम्पनीले अर्को कम्पनीको सेयर राख्ने कार्य, लेखाको बढाइचढाइ आदि कार्य सानो स्तरमा भए पनि अन्य भारतीय कम्पनीमा पनि भेटिन्छ । तर, अधिकांश भारतीय नाफामूलक फर्म भारतजस्तो स्वच्छन्द बजारमा पनि इमानदार रहने गरेको पर्यवेक्षकहरू बताउँछन् । यसैले गर्दा कैयौँ कम्पनीको अन्तर्राष्ट्रिय बजार डेटा प्रदायक रेफिनिटिवको उत्कृष्ट प्रशासन भएको कम्पनीको सूचीमा समावेश छन् ।

इन्फोसिस र डा. रेड्डिज ल्याबोरेटरिज यसका केही उदाहरण हुन् । हिन्डेनवर्गले उसको रिपोर्टमा अडानी समूहका केही गतिविधिलाई ‘वित्तीय इतिहासको सबैभन्दा ठूलो बेइमानी’ भनेको छ । यही आरोपले पनि भारत ‘बलियो भविष्य भएको उदीयमान महाशक्ति’ भएको संकेत गरेको छ । 

हालै देशको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले अडानी प्रकरणले कुनै असर नगरेझैँ आफू पुरानै लयमा निरन्तर लागेको जनाउ दिँदै ब्याजदर एकचौथाइ बिन्दुले बढायो । उसले यसमा थप वृद्धिको सम्भावना खुला छाडेको छ । भारतीय बैंकको कदम पश्चिमी समकक्षीसँग मिल्दोजुल्दो छ । विश्वभर बढेको मुद्रास्फीतिलाई कम गर्ने प्राथमिकताका साथ अहिले सबैतिर ब्याजदर वृद्धि भइरहेको छ । हिन्डेनवर्गको आरोपपछि बरु भारतीय नियामक प्रणालीको निष्पक्षतामा प्रश्न उठ्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अडानी समूहका संस्थापक गौतम अडानीसँगको घनिष्ठ सम्बन्धलाई लिएर विपक्षीहरूले आलोचना गरे । तर, वित्तीय बजारका अन्य कम्पनीको सेयर (पूर्वाधारमा वा असम्बद्ध क्षेत्रहरूका पनि) केही भएकै छैन जसरी बढिरहे । 

हिन्दू राष्ट्रवादी नेता मानिने नरेन्द्र मोदी भारतको केन्द्रीय सत्तामा आएयता अडानीले उनका कम्पनीलाई भारत सरकारका टेन्डरमा लगाउँदै आएका छन्, त्यो पनि सबैले देख्ने–सुन्ने गरी । त्यही भएर जब उनको व्यापारिक समूह हिन्डेनवर्गको निसानामा पर्‍यो, सामाजिक सञ्जालमा राष्ट्रियतावादी प्रतिरक्षा उठेको देखियो । भारतलाई कमजोर बनाउने उद्देश्यले कम्पनीमाथि आक्रमण भएको भन्नेसम्मका आरोप आए ।

२१औँ शताब्दीको भारतीय पुँजीवादको मूल चरित्र मोदी र अडानीबीचको साँठगाँठ भएजस्तो छैन । मुम्बईको मार्कलस इन्भेस्टमेन्ट म्यानेजरका संस्थापक सौरभ मुखर्जीका अनुसार विगत एक दशकमा भारतको सार्वजनिक बजारमा थपिएको १.५ ट्रिलियन (१५ खर्ब) डलर मूल्यमध्ये ८० प्रतिशत केवल २० कम्पनीबाट आएको छ ।

अडानीजस्ता थोरै व्यापारीले मात्र राजनीतिक घनिष्ठता देखाउँदै हल्ला गर्ने गरेको र बाँकी ९० प्रतिशत स्वच्छ व्यापारिक प्रतिष्ठान रहेको मुखर्जीले बताए । धेरै यस्ता व्यापारिक प्रतिष्ठान राजनीतिसँगको घनिष्ठता मन पराउँदैनन् । निजीस्तरमा देशका केही व्यापारीले अडानीको पछिल्लो स्थिति उनको गलत कर्मको फल भएको भन्दै सन्तुष्टिसमेत जाहेर गरे । यस घटना कर्पोरेट सुशासनका लागि राम्रो पाठ हुने उनीहरूको विश्वास छ ।