
हेराल्ड डेभ कर्पस युआई भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले कालिञ्चोकको कुरीगाउँमा कोड ब्रिस्क ह्याकाथन २०२३ आयोजना गरेको छ । १३ वटा कलेजहरूको सहभागितामा तीन हजार चार सय ४७ मिटर उचाइको कुरीगाउँमा गरिएको ननस्टप २४ घन्टाको ह्याकाथनमा बिरिन्ची कलेज प्रथम भएको हो ।
ह्याकाथनमा तीन उत्कृष्ट टोलीहरू छनोट भएको कलेजले जनाएको छ । छनोट भएका टोलीले आफ्ना प्रोटोटाइपहरूद्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पुर्याउनु रहेको जनाइएको छ ।
हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्क्षय प्रकाश श्रेष्ठले परियोजनामा समावेश भएका सम्पूर्ण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको बताए । हेराल्ड डेभकर्पसकी प्रमुख सुजाता थापाले पनि आयोजक समिति र तीन शीर्ष टिमको प्रशंसा गर्दै समूहको उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित भएको बताइन् । विद्यार्थीको प्रभावशाली र प्रतिभाशाली विचारप्रति चकित भएको उनको प्रतिक्रिया थियो ।
प्रतियोगिताको विजयी बिरिन्ची कलेज ‘टिम एभरेस्ट’ बन्न सफल भएको जनाइएको छ । विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको थियो । यसको उद्देश्य सेन्सरहरूको प्रयोगले फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलको व्यावहारिक तरिका प्रदान गर्नु रहेको जनाइएको छ ।