मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पामिर गौतम काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०८:०३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वाङ यीको भ्रमणले चीन–युरोप नजिकिएलान् ?

Read Time : > 4 मिनेट
पामिर गौतम, काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०८:०३:००

चीन कूटनीतिक संलग्नतामार्फत युरोपसँगको आफ्नो सम्बन्ध पुनर्स्थापित गर्न चाहन्छ र पूर्वविदेशमन्त्री वाङ यीको युरोप भ्रमण यिनै चासोबाट उत्प्रेरित देखिन्छ

चीनको विदेश नीति तय गर्ने सर्वाेच्च नेता वाङ यी साताव्यापी युरोप भ्रमणमा छन् । करिब दश वर्ष विदेशमन्त्रीका रूपमा काम गरेका उनले फ्रान्स, इटली, हंगेरी र रुसको भ्रमण गर्दै छन् । त्यस्तै उनले जर्मनीमा भइरहेको ५९औँ म्युनिख सुरक्षा सम्मेलनको चीन सत्रलाई सम्बोधन पनि गर्नेछन् । विभिन्न सञ्चारमाध्यमले सम्मेलनको साइडलाइनमा वाङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ताका लागि दुई पक्षबीच संवाद भइरहेको जनाएका छन् । तर, यो लेख लेख्दासम्म दुवै पक्षले आधिकारिक रूपमा त्यसलाई पुष्टि गरेका छैनन् । आफ्नो भ्रमणपूर्व वाङ यीले आफ्नो भ्रमण तीन युरोपेली राष्ट्रसँगको पारस्परिक रणनीतिक संवाद विस्तार गर्न, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्न, चीन–युरोपियन युनियन (इयू) बीच आपसी विश्वास बढाउन र प्रमुख विश्वव्यापी मुद्दामा विचार आदानप्रदान गर्न केन्द्रित रहने बताएका थिए । 

वाङ यीको युरोप भ्रमण विभिन्न चासोबाट उत्प्रेरित रहेको देखिन्छ । चीन कूटनीतिक संलग्नतामार्फत युरोपसँगको आफ्नो सम्बन्ध पुनर्स्थापित गर्न चाहन्छ । इयू एक ठूलो र महत्वपूर्ण आर्थिक ब्लक हो । व्यापारको हिसाबले पछिल्लो दुई दशकमा इयू र चीनबीचको आर्थिक सम्बन्धमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ मा चीन इयूको निर्यातका लागि तेस्रो ठूलो साझेदार (कुल निर्यातको १०.२ प्रतिशत) र आयातका लागि सबैभन्दा ठूलो साझेदार (कुल आयातको २२.४ प्रतिशत) थियो । यसकारण चीनले युरोपेली युनियनसँगको सम्बन्धलाई मुख्यतया आर्थिक र रणनीतिक हिसाबले आफ्नो दीर्घकालीन हितका लागि अत्यावश्यक ठान्छ । इयूसँग चीनको बृहत्तर सहयोगमा यी तिनै देशलाई महत्वपूर्ण साझेदारका रूपमा हेरिएको छ । फ्रान्स र इटलीका राष्ट्रप्रमुख र उच्च पदाधिकारीसँगको भेटघाटमा वाङ यीले चीन इयूसँगको सम्बन्ध विकासमा नयाँ गति दिन र अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन र समाधानका लागि नयाँ योगदान दिन इच्छुक रहेको बताउँदै चीन–ईयू सम्बन्धको विकासमा सकारात्मक योगदान गर्न आग्रह गरेका छन् । 

वासिंगटन र ब्रसेल्सको दबाबका बाबजुद इटली चीनसँग सन् २०१९ मा बेल्ट एन्ड रोड निर्माणलाई संयुक्त रूपमा अगाडि बढाउने समझदारी पत्रमा हस्ताक्षर गर्दै चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा सामेल हुने पहिलो र एक मात्र जी–७ राष्ट्र बन्यो । सो बिआरआई सम्झौता ज्ञापनपत्रअनुसार पाँच वर्षका लागि मान्य रहनेछ र कुनै पनि पक्षले खारेज नगरेसम्म स्वचालित रूपमा त्यसपछिको पाँच वर्षको अवधिका लागि थपिनेछ । तर, २०२२ मा प्रधानमन्त्री निर्वाचित जर्जिया मेलोनी चीनप्रति उदार छैनन् । आफ्नो प्रचारप्रसारका समयमा उनले बिआरआई सम्झौतालाई एउटा ठूलो गल्ती बताएकी थिइन् । तर, बिआरआई छाड्दैमा इटलीमा चीनको प्रभाव कम हुने सम्भावना छैन । चीन एसियामा इटलीको सबैभन्दा ठूलो व्यापार साझेदार हो, जब कि इटली युरोपेली संघमा चीनको चौथो ठूलो व्यापार साझेदार । इटलीका नेताहरूसँगको भेटमा वाङ यीले दुई पक्षले हरित र डिजिटल क्षेत्रमा सहयोग सम्भावनाको उपयोग गर्न र चीन–इटली सम्बन्धलाई थप सकारात्मक नतिजा ल्याउने दिशामा काम गर्न जरुरी रहेको बताएका थिए ।

वाङ यीको युरोप भ्रमण युरोपेली राष्ट्रहरूसँगको सम्बन्ध पुनर्स्थापित गर्ने, युक्रेन युद्धका कारण युरोपमा चीनको बिग्रिँदो छवि सुधार्ने र वर्तमान अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा चीनको पोजिसन स्पष्ट पार्ने प्रयास हो
 

चीनले अमेरिकासँगको विद्यमान आफ्नो निर्भरता कम गर्ने विकल्पका रूपमा युरोपसँगको सम्बन्धलाई लिन्छ । सन् २०२० मा युरोपेली आयोग र चीन दुईवटा विशाल बजारलाई जोड्ने उद्देश्यले लगानीसम्बन्धी बृहत् सम्झौतामा सैद्धान्तिक रूपमा सहमत भएका थिए । त्यसलाई युरोपेली संसद्ले अनुमोदन गर्न बाँकी थियो । तर, मार्च २०२१ मा इयूले सिनजियाङको विषयलाई लिएर चार चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाएको बदलामा बेइजिङले पनि विभिन्न इयू अधिकारी र एजेन्सीलाई प्रतिबन्ध लगायो । यस घटनापछि युरोपेली संसद्ले लगानी सम्झौताको अनुमोदन प्रक्रिया स्थगित गरेको छ । चीन इयू–चीन लगानीसम्बन्धी बृहत् सम्झौतामा रोकिएको अनुमोदन प्रक्रियालाई दुवै पक्षको वैध अधिकार र हित रक्षा हुने गरी पुनर्जीवित गर्न पनि इच्छुक छ । आफ्नो भेटघाटका क्रममा वाङले चिनियाँ बजारमा यी राष्ट्रको हिस्सा विस्तार गर्न यहाँका कम्पनीलाई सहयोग गर्ने र यहाँको बजारमा पनि चिनियाँ कम्पनीलाई निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराइने चीनले अपेक्षा गरेको बताएका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएसँगै मस्को–चीन सम्बन्धले चीनको इयूसँगको सम्बन्धलाई थप चिस्याएको छ । युरोपेली राष्ट्रहरूले चीनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा नगरेको र युद्ध अन्त्य गर्न रुसमाथिको आफ्नो प्रभाव प्रयोग नगरेको आरोप लगाउँदै आएका छन् । रुस–युक्रेन द्वन्द्वको सन्दर्भमा वाङ यीले फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई रुस–युक्रेन युद्धमा चीनले वस्तुनिष्ठ र निष्पक्ष दृष्टिकोण अपनाएको र शान्तिवार्तालाई प्रवर्द्धन गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् । वाङ यीले पहिले युरोपेली देश र त्यसपछि मात्र रुसको भ्रमण गर्ने निर्णय गर्नुका पछाडि रुस–युक्रेन युद्ध र त्यसलाई समाधान गर्न प्रमुख युरोपेली राष्ट्रहरूको दृष्टिकोण बुझेर आफ्नो रणनीति अघि सार्ने उद्देश्यबाट अभिप्रेरित रहेको हुन सक्छ ।

यो भ्रमण चीन र अमेरिकाबीचको बढ्दो तनावको समयमा भएको छ । ट्रम्प प्रशासनदेखि कायम अमेरिका र चीनबीचको तनावपूर्ण सम्बन्ध अझै शान्त भएको छैन । ट्रम्प प्रशासनले चीनसँग व्यापार युद्ध सुरु गरेको थियो भने बाइडेन प्रशासनले आफ्ना सहयोगी राष्ट्रसमक्ष आफ्नो अर्थतन्त्रलाई चिनियाँ अर्थतन्त्रसँग अलग गर्न आह्वान गरिरहेको छ । बाइडेनले चीनमा चिप निर्यात गर्न नियन्त्रण मात्र गरेका छैनन्, आफ्ना विभिन्न सहयोगी राष्ट्रलाई समेत चीनलाई चिप उपलब्ध नगराउन दबाब दिँदै आएका छन् । 

भर्खरै भएको बेलुन घटनाले दुई आर्थिक शक्तिबीचको संकट र शंकालाई थप बढाएको छ । अमेरिकाले चीनलाई अमेरिकाको जासुसी गरेको र सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको आरोप लगाउँदै विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निर्धारित चीन भ्रमण स्थगित गरेको थियो । चीनले भने अमेरिकी आरोपको खण्डन गर्दै मौसमसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यको सो बेलुन गल्तीले अमेरिकातर्फ उडेको तर अमेरिकाले त्यसलाई अतिरञ्जित बनाएको बताएको छ । बेइजिङले पनि वासिंटनले चीन सरकारको स्वीकृतिविनै मे २०२२ देखि चीनमा दशभन्दा बढी बेलुन पठाएको जसले तिब्बत र सिनजियाङलगायत चीनको हवाई क्षेत्रमा अवैध रूपमा उडान गरेको आरोप लगाएको छ । तर, अमेरिकी अधिकारीले चीनको सो आरोप अस्वीकार गरेका छन् ।

अमेरिकाले विभिन्न संयन्त्रमार्फत चीनको उदयलाई नियन्त्रण गर्ने दिशामा काम गरिरहेको वेला वासिंगटन र बेइजिङ दुवैले इयूलाई आफ्नो पक्षमा ल्याउन गहिरो चासो राखेका छन् । चीनसँगको सम्बन्धलाई लिएर विभिन्न इयू सदस्य राष्ट्रबीच फरक मत रहेको छ । कोही आर्थिक सम्बन्धमा केन्द्रित हुन चाहन्छन् भने कोही राजनीतिक वा मानवअधिकारका मुद्दालाई प्राथमिकता दिन चाहन्छन् । त्यस्तै इयूभित्रका प्रमुख शक्तिराष्ट्रहरू पनि रणनीतिक स्वायत्तताका पक्षमा देखिन्छन् । 

यसले गर्दा अमेरिकाले युरोपेली सहयोगी राष्ट्रमा आफ्ना सबै चीनविरोधी नीतिहरू थोपर्न सकेको छैन । अमेरिका युरोप र इन्डो–प्यासिफिक क्षेत्रका सहयोगी राष्ट्रले झैँ चीनको प्राविधिक, आर्थिक र राजनीतिक शक्तिलाई सीमित गर्न युरोपेली राष्ट्रहरूले पनि त्यस्तै रणनीति अवलम्बन गरून् भन्ने चाहन्छ । अर्कातर्फ बेइजिङ पश्चिमी प्रविधि र बजारमा चीनको पहुँचलाई सीमित पार्ने ट्रान्स–एट्लान्टिक गठबन्धनको उदयलाई रोक्न चाहन्छ ।

फ्रान्सकी युरोप र विदेश मामिलामन्त्री क्याथरिन कोलोनासँगको भेटमा अमेरिकालाई इंगित गर्दै वाङले भूमण्डलीकरणलाई प्रतिकूल असर पर्ने गरी केही राष्ट्रहरू औद्योगिक र आपूर्ति शृंखलालाई तोड्ने प्रयासमा रहेको आरोप लगाएका थिए । 

उनले चीन र फ्रान्सले बहुपक्षीयताको अभ्यास गर्न, स्वतन्त्र व्यापारको रक्षा गर्न र अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहयोगलाई सुदृढ गर्न संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । त्यस्तै वाङ यीले ५९औँ म्युनिख सुरक्षा सम्मेलनको साइडलाइनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको भेटमा दुवै पक्षले बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई समर्थन गर्ने, आपूर्ति शृंखलाहरू विच्छेद गर्ने र तोड्ने अभ्यासलाई अस्वीकार गर्ने र विश्वव्यापी उत्पादन र आपूर्ति शृंखलाको स्थिरताको रक्षा गर्नुपर्ने बताएका थिए ।

हालै कोभिड–१९ सम्बन्धी अधिकांश प्रतिबन्ध हटाएपछि बेइजिङ सक्रिय रूपमा विश्वव्यापी मञ्चमा फर्किएको छ । वाङको युरोप भ्रमणलाई युरोपेली राष्ट्रहरूसँगको सम्बन्ध पुनर्स्थापित गर्ने, युक्रेन युद्धले युरोपमा चीनको बिग्रिँदो छवि सुधार्ने र वर्तमान अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा चीनको पोजिसन स्पष्ट पार्ने प्रयासको रूपमा हेर्न सकिन्छ ।