१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format १९:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फ्रेन्ड्सलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

हिमालयन शेर्पा क्लब हेटौँडामा जारी पाँचौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रेन्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। 

हिमालयनको जितमा अमृत श्रेष्ठ र कप्तान विश्वास श्रेष्ठले एक–एक गोल गरे। फ्रेन्ड्सका तर्फबाट एन्जल महर्जनले एक गोल फर्काए। 

पहिलो हाफ बराबरीमा सकिएको खेलमा तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। हिमालयन शेर्पाको लागि ४८ औँ मिनेटमा अमृतले विश्वास श्रेष्ठको फ्रिकिकमार्फत गोलको खाता खोले।

अनमार्क रहेका अमृतले विश्वासको फ्रिकिकलाई वन टचमै पोस्टको दिशा दिएका थिए। अमृतको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनुवारले रोक्ने प्रयाससमेत गर्न भ्याएनन्।

पहिलो गोलपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६७औँ मिनेटमा फ्रेन्ड्सका एन्जल महर्जनले बराबरी गोल गरे। उनले डिबक्सभन्दा निकै परबाट गरेको प्रहार पोस्टको भित्री भागमा लागेर गोलमा परिणत भएको थियो।

तर, खेलको ८०औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर मात्रै बनाएनन् टिमको लागि जितको आधारसमेत तयार पारे। उनले डिबक्सनजिकबाट फ्रेन्ड्सका डिफेन्सलाई छक्याउँदै गोल गरेका थिए। 

टिमका लागि व्यक्तिगत एक गोल र अर्को गोलका लागि पास निकालेका कप्तान विश्वास श्रेष्ठ शनिबारको खेलको ‘म्यान अफ दी म्याच’ भए। उनले नगद दश हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। 

सेमिफाइनलको समीकरण पूरा
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा शनिबारबाट क्वार्टरफाइनल खेलहरू सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। 

प्रतियोगिताको सेमिफाइनलमा ‘ए’ डिभिजन क्लबहरू मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा तथा विभागीय टोली सशस्त्रको एपिएफ र विदेशी क्लब एभिनियर प्रवेश गरेका छन्। 

आइतबारबाट सुरु हुने सेमिफाइनलका पहिलो खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र विभागीय टोली सशस्त्रको एपिएफ क्लबबीच खेल हुनेछ। यस्तै, दोस्रो सेमिफाइनलमा सोमबार ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र क्यामरुनी क्लब एभिनियर एकआपसमा भिड्नेछन्।

१० फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले नगद दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइकको व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।